६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

‘प्रहरीलाई २५ करोड अवैध विदेशी मुद्राको अनुसन्धान गर्नबाट रोकियो’

जितेन्द्र साह
७ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर – २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद भएलगत्तै उच्च सरकारी तथा राजनीतिक संयन्त्रबाट राजस्व अनुसन्धान विभागलाई चाँडो मुद्दा बुझाउन नेपाल प्रहरीका अधिकृतहरूलाई दबाब दिइएको खुलासा भएको छ।


‘रकम गनेका पनि थिएनौँ, पक्राउ परेकाहरूलाई प्रारम्भिक सोधपुछ पनि गरिएको थिएन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यसमा धेरै दिमाग लगाउनु पर्दैन भन्दै छिटो राजस्वलाई बुझाइदिन आदेश आयो।’  ती अधिकृतका अनुसार रकमको परिमाण हेर्दा यसको सम्बन्ध सुन र लागू औषध तस्करसँग रहेको स्पष्ट देखिएकोले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्न खोजेको थियो।
‘तर गृह मन्त्रालय र प्रहरीकै उच्च अधिकारीहरूले सीआईबीलाई अनुसन्धान गर्न दिएनन्,’ ती अधिकृतले भने। 

पूर्वडीआईजी एवं अपराध अनुसन्धान विज्ञ हेमन्त मल्ल ठकुरीले पहिलो दृष्टिमै यो सीआईबीले हेर्नुपर्ने विषय भएको बताए। उनका अनुसार राजस्व विभागमा यस्तो मुद्दा पुगेपछि अनुसन्धान नै हुँदैन। सरकारी प्रशासनमा विभिन्न दलका प्रभावशाली कर्मचारी हुनु र राजनीतिक दबाबका कारण हतारमा अदालतमा मुद्दा पु-याउने गरिएको ठकुरी बताउँछन्।

अपराध विज्ञहरूले भारत र चीनका सुन तथा लागूऔषध तस्करको उर्वरभूमि नेपालमा यति धेरै परिमाणको रकम बरामद हुनु आश्चर्यको विषय नभएको बताउँछन्। ‘चीनबाट सुन किन्नका लागि पटक–पटक हुण्डीमार्फत भारतबाट आएको रकम हो,’ पूर्वडीआईजी ठकुरी भन्छन्, ‘यो रकमको धेरै भाग लागूऔषध कारोबारीहरूको हुन सक्छ।’

नेपालमा भारतीय नागरिकहरू निरन्तर विदेशी मुद्रासहित पक्राउ पर्नु पनि तस्करीकै कडीसँग जोडिएको उनी बताउँछन्। ठकुरीका अनुसार नेपालदेखि भारतसम्मका उच्च राजनीतिक दलका नेताहरूको संरक्षण र मिलेमतोका कारण तस्करी फस्टाइरहेको छ। ‘पक्राउ परेकाहरू भने छिट्टै रकम कमाएर आरामदायक जीवन बिताउन चाहने सीमावर्ती क्षेत्रका भरियाहरू मात्र हुन्,’ मल्ल भन्छन्, ‘किनकि यहाँ मिहिनेत गर्नेहरूको सम्मान हुँदैन, दुःख गरेर बाँच्न कठिन छ।’

भुटानी शरणार्थी मुद्दाजस्तै यदि यसमा सीआईबीले स्वतन्त्र रूपमा काम गर्न पाएमा मुख्य तस्करसम्म पुग्न सकिने ठकुरी बताउँछन्। उनका अनुसार भरियाहरू तस्करका एजेन्टमार्फत काम गर्ने भएकाले उनीहरूलाई सामान लिने र पुर्याउने विन्दु मात्र थाहा हुन्छ। ‘पक्राउ परेपछि के भन्ने भनेर भरियाहरूलाई पहिल्यै सिकाइन्छ,’ एक प्रहरी अधिकृत भन्छन्। ‘सात वर्ष अगाडि सुनसहित पक्राउ परेका कुसाङ लामाले दिएको बयान अहिले पनि दोहोर्याइएको छ,’ ती अधिकृत भन्छन्, ‘उनी आफूलाई केवल सामान बोक्ने व्यक्ति बताउँछन्। प्रहरीले बयान लिन्छ, राजस्व विभागमा बुझाउँछ, मुद्दा पेस हुन्छ, अदालतले सजाय तोक्छ, धरौटी बुझाउन नसकेपछि जेल जान्छ, कथा यहीँ समाप्त हुन्छ।’

भारत, नेपाल र चीनमा रहेका तस्करका एजेन्टहरूले सिकाएको कुरा भरियाहरूले दोहोर्याउने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीका अनुसार यो समग्र प्रकरणमा मुख्य तस्करहरू पर्दा अगाडि आउँदैनन्। केही समय मौन बसे पनि उनीहरूको कारोबार बन्द हुँदैन। ‘सीआईबीलाई यस्तो मुद्दा नबुझाएसम्म जरोसम्म पुग्न सकिन्न,’ ठकुरी भन्छन्, ‘तस्करीको जालोमा ठूला नेता र प्रभावशाली उद्योगपति संलग्न हुने भएकाले राजस्व विभागमा पुगेपछि अनुसन्धान रोकिन्छ।’

नेपालमा अवैध कारोबारको जालो विस्तार भइरहेका बेला कुसाङ लामाको पक्राउले पुनः एक पटक सडकदेखि संसदसम्म बहस सुरु गरेको छ। काठमाडौंको झोर महाकाल क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद भएपछि प्रहरीको अनुसन्धानले लामाको आपराधिक पृष्ठभूमि बाहिर ल्याएको छ। उनी यसअघि पनि सुन तस्करीको आरोपमा पाँच वर्ष जेल बसेका थिए।

अवैध मुद्रा प्रकरण

 ट्रकभित्र लुकाइएको २५ करोड२०७८ साल चैत ४ को राति  राति, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोर महाकाल क्षेत्रबाट ना ७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लियो। प्रारम्भिक जाँचका क्रममा ट्रकभित्र फल्स बटम (गोप्य खाली ठाउँ) बनाई ठूलो मात्रामा अवैध विदेशी मुद्रा लुकाइएको पत्ता लाग्यो। प्रहरीले ३ लाख २० हजार ३८५ अमेरिकी डलर र १३ लाख ७५ हजार युरो बरामद गर्‍यो, जसको नेपाली विनिमय दरअनुसार कुल मूल्य करिब २५ करोड २१ लाख रुपैयाँ हुन आउँछ।

प्रहरीका अनुसार उक्त ट्रक नियन्त्रणमा लिएपछि मात्र रकमबारे जानकारी प्राप्त भएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयका अनुसार ट्रकलाई नियन्त्रणमा लिएको राति नै रकम भेटियो। त्यही दिन राजस्व अनुसन्धान विभागमा बुझाइएको हो ।  

सुन तस्करी काण्ड

धरौटी तिर्न नसकेर पाँच वर्ष जेल२०७३ पुस १३ मा लामालाई टोयोटा हाइलक्स गाडीको एयर फिल्टरभित्र लुकाइएको ७ केजी अवैध सुनसहित पक्राउ गरिएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले उनलाई २०७४ असार २६ मा तीन करोड १६ लाख २६ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको फैसला सुनाएको थियो।

तर लामाले तोकिएको जरिवाना तिर्न नसकेपछि थप चार वर्ष कैद भोग्नुपर्‍यो। यसरी एक वर्षको सजाय चार वर्षमा परिणत भएको थियो। अदालतसमक्ष उनले गाडी भाडामा लिएर चलाउने बताएका थिए। उनका अनुसार उक्त गाडी इन्द्रलाल श्रेष्ठ नामक व्यक्तिको थियो, जसलाई उनले मासिक ७० हजार रुपैयाँ भाडा बुझाउने सर्तमा प्रयोग गरेका थिए।

उनले सुनबारे आफूलाई जानकारी नभएको दाबी गर्दै भनेका थिए, ‘बरामद सुन भोटेले चाइनाबाट ल्याएर मलाई काठमाडौं लैजान दिएको थियो।’ लामाले अदालतमा रसुवाका एक ड्राइभरले सुन ल्याएको बताए पनि त्यसको पुष्टि हुन सकेन। अदालतको आदेशमा भनिएको थियो, ‘गाडीभित्र लुकाइएको सुन कसरी त्यहाँ पुग्यो भन्ने प्रतिवादीले प्रस्ट्याउन सकेनन्।’

पुनः तस्करीमा संलग्न भएको प्रहरीको आशंका

जेलमुक्त भएपछि लामाले अवैध कारोबार छाडेको संकेत थिएन। पछिल्लो पटक पक्राउ पर्दा उनले प्रहरीलाई आफ्नो ट्रक भाइले किनेको बताएका थिए, तर यसको आधिकारिक प्रमाण भेटिएको छैन। प्रहरी अधिकारीहरूका अनुसार लामाको विगतलाई हेर्दा बरामद रकम सुन तस्करी वा अन्य गैरकानुनी कारोबारबाट आएको हुनसक्ने आशंका छ। नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग र अन्य सम्बन्धित निकायहरूले यस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न थप कडा कदम चाल्नुपर्ने देखिन्छ। एक उच्च अधिकृतका अनुसार, ‘स्वतन्त्र रूपमा अनुसन्धान गर्न पाएमा नेपाल प्रहरी जुनसुकै मुलुकबाट अपराधी पक्रेर ल्याउन सक्षम छ।’
                                                                                                                                                           (नयाँ तथ्यहरू वा अद्यावधिक जानकारी आएमा समाचार परिमार्जन गरिनेछ।)

प्रकाशित : ७ चैत २०८१, बिहीबार 15:21
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved