२८ वैशाख २०८२, आइतबार 11 May 2025, Sunday

भारत र पाकिस्तानबीच युद्धविरामको सहमति

द नेप्लिज संवाददाता
२७ वैशाख २०८२, शनिबार

Advertisement

इस्लामाबाद (एपी) — आणविक हतियारधारी दुई छिमेकी मुलुक भारत र पाकिस्तानले अमेरिकी मध्यस्थतामा भएको वार्तापछि शनिबार युद्धविराममा सहमति जनाएका छन्।

यो सहमति गत महिना पर्यटकहरूमाथि भएको भीषण गोलीकाण्डपछि सुरू भएको सैन्य झडप र मिसाइल आक्रमणको श्रृंखलापछि आएको हो, जसको दोष भारतले पाकिस्तानमाथि लगाउँदै आएको छ। पछिल्ला केही दशक यताकै गम्भीर तनावमा दुवै मुलुकका दर्जनौं सर्वसाधारणको ज्यान गएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफूले मध्यस्थता गरेको वार्तापछि भारत र पाकिस्तानबीच पूर्ण र तुरुन्तै लागू हुने युद्धविरामको सहमति भएको घोषणा गरेका हुन्। यद्यपि प्रारम्भिक चरणमा दुवै देशले औपचारिक रूपमा त्यसबारे पुष्टि गरेका थिएनन्।

अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र पाकिस्तानका अधिकारीहरूले स्वीकारेका छन् । शनिबार भारतीय समयअनुसार दिउँसो ३ः३५ बजे भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच टेलिफोन संवाद भएको भारतीय विदेश सचिव विक्रम मिस्रीले बताएका छन्। उक्त संवादका आधारमा भारतीय समयअनुसार साँझ ५ बजेदेखि स्थल, हवाई र जलमार्ग—तीनै क्षेत्रमा दुवै देशले सबै प्रकारका सैन्य गतिविधि तत्काल रोक्ने सहमति गरेको उनले जानकारी दिए।

पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले पनि युद्धविरामको सहमति भएको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै उनले पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाको पक्षधर रहेको उल्लेख गर्दै देशको सार्वभौमिकता र अखण्डतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।दुवै पक्षबीच आगामी वार्ता मई १२ मा हुने बीबीसीले जनाएको छ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममार्फत भने, ‘दुवै देशलाई बधाई, जसले सामान्य बुद्धि र उत्कृष्ट कूटनीतिक सूझबुझ देखाएका छन्। यो विषयमा ध्यान पुर्याउनु भएकोमा धन्यवाद!’

पाकिस्तानको चेतावनी र सर्त

पाकिस्तानी विदेशमन्त्री इस्हाक डारले शनिबार प्रारम्भिक प्रतिक्रिया दिँदै भारतले आक्रमण रोकेको खण्डमा पाकिस्तानले पनि तनाव न्यूनीकरणको प्रयास गर्ने संकेत गरेका थिए। यद्यपि उनले चेतावनी दिँदै भने, ‘यदि भारतले पुनः आक्रमण गर्यो भने हाम्रो जवाफी कारबाही हुनेछ।’

डारले यो सन्देश अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पनि दिएको बताए। रुबियोले नयाँ दिल्लीसँग संवाद गरेपछि इस्लामाबादलाई सम्पर्क गरेका थिए।

भारत र पाकिस्तानबीच आक्रमण र प्रतिकार

भारतले शनिबार बिहान पाकिस्तानले उच्च गतिको मिसाइल प्रहार गरेको भन्दै जवाफमा पाकिस्तानका विभिन्न वायुसेनास्थलमा हवाई आक्रमण गरेको बताएको छ।पाकिस्तानले पनि अधिकांश मिसाइल अवरोध गरेको दाबी गर्दै भारतमा जवाफी आक्रमण गरेको जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले भनिन्, ‘दुवै पक्षले तनाव न्यूनीकरण गर्ने उपाय पहिचान गर्नुपर्छ र प्रत्यक्ष संवाद पुनःस्थापना गर्नु जरुरी छ,’ भन्दै अमेरिकाले सहयोग गर्न तयार रहेको बताइन्।

भारतको प्रतिबद्धता र चासो

नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाका कर्णेल सोफिया कुरैशीले पाकिस्तानले भारतीय नियन्त्रित कश्मीरमा स्वास्थ्य संस्था र विद्यालयहरूलाई निशाना बनाएको आरोप लगाइन्।

भारतीय विंग कमान्डर व्योमिका सिंहले भनिन्, ‘यदि पाकिस्तानले संयम देखायो भने भारत पनि ‘नन–एस्केलेसन’ (तनाव नबढाउने) नीति अपनाउने छ।’ तर पाकिस्तानले अग्रपंक्तिमा सेना परिचालन गरिरहेको जानकारी दिँदै उनले थप भनिन्, ‘यसले आक्रामक मनसाय देखाउँछ।’

भारतले केवल सैन्य संरचना र रडार जस्ता ‘सटीक निशाना’मा मात्र आक्रमण गरेको दाबी गरे पनि पाकिस्तानले भारतका पठानकोट र उधमपुरस्थित सैन्य भण्डारण र हवाई अड्डाहरूमा ‘फातेह’ मिसाइल प्रहार गरेको जनाएको छ।

कश्मीरमा विस्फोट र आतंकको माहोल

भारतीय नियन्त्रित कश्मीरमा पाकिस्तानी जवाफी कारबाहीपछि श्रीनगर, जम्मु र उधमपुर जस्ता स्थानहरूमा ठूलो विस्फोट सुन्निएको स्थानीयहरूले बताएका छन्।

पूर्वप्रहरी प्रमुख शेष पाल वैद्यले भने, ‘यो रातको ड्रोन आक्रमणभन्दा फरक प्रकारको विस्फोट हो, यहाँ युद्ध भइरहेको जस्तो देखिन्छ।’

बच्चाहरू विस्फोटले तर्सिएर रुने अवस्था बनेको स्थानीय मोहम्मद यासिनले बताए। उनले कम्तीमा दुईवटा विस्फोटको आवाज सुनिएको बताए।

युद्धको खतरामा दुई मुलुक

भारत र पाकिस्तानले पछिल्ला केही दिनदेखि लगातार गोली हानाहान र आक्रमण गर्दै आएका छन्, जसमा दुवै पक्षका सर्वसाधारणको ज्यान गएको छ।

भारत नियन्त्रित कश्मीरमा भवनहरू ध्वस्त भएका छन् भने पाकिस्तान नियन्त्रित क्षेत्रका बासिन्दा पनि उद्धार तथा शव संकलनमा व्यस्त देखिएका छन्।

अन्तर्राष्ट्रिय चिन्ता र विश्लेषण

इन्टरनेशनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोंठीले भने, ‘दुवै देश न औपचारिक रूपमा युद्ध घोषणा गर्छन्, न त रणनीतिक समाधान खोज्ने इच्छाशक्ति देखिन्छ। अहिलेको अवस्था सैनिक प्रतिस्पर्धाको निर्दयी दौड बनेको छ।’
 

प्रकाशित : २७ वैशाख २०८२, शनिबार 18:40
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved