विराटनगर — बढ्दो सैन्य तनावका बीच भारत र पाकिस्तानले तत्काल युद्धविराममा सहमति जनाएका छन्। शनिबार बेलुकी ५ बजेदेखि जमिन, समुद्र र हवाई क्षेत्रबाट हुने सबै प्रकारका कारबाही रोक्ने सहमति भएको भारतीय अधिकारीहरूले जनाएका छन्।
भारतीय विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, ‘आतंकवादका सबै रूपविरुद्ध भारत सधैँ कठोर र नझुक्ने नीति अवलम्बन गर्दै आएको छ। यो नीति जारी रहनेछ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच तत्काल र पूर्ण युद्धविराममा सहमति भएको घोषणा गरे। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुवै देश विस्तृत वार्तामा सहमत भएको जानकारी दिएका छन्। उनका अनुसार पछिल्ला ४८ घण्टामा अमेरिकी उपराष्ट्रपति र शीर्ष कूटनीतिज्ञहरूले दुवै देशका प्रधानमन्त्री, विदेशमन्त्री, सेनाध्यक्ष र सुरक्षा सल्लाहकारहरूसँग संवाद गरेका थिए।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिंदै युद्धविरामको समर्थन जनाएका छन्। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारले पनि युद्धविरामको पुष्टि गर्दै पाकिस्तानले सदैव क्षेत्रीय शान्तिको पक्षपोषण गर्दै आएको बताएका छन्।
यस सहमतिलाई सऊदी अरब, बेलायत र बंगलादेशले समर्थन गरेका छन्। सऊदी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै युद्धविरामले क्षेत्रीय शान्ति र सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। बेलायती विदेशमन्त्री डेभिड लेमीले दुवै पक्षले सहमति पालना गर्नुपर्ने भन्दै संयमित व्यवहारको आह्वान गरेका छन्। बंगलादेशका कार्यवाहक प्रमुख सल्लाहकार मोहम्मद यूनुसले युद्धविरामका लागि भारत र पाकिस्तानका प्रधानमन्त्रीहरूको प्रशंसा गरेका छन्।
भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार पाकिस्तानी सेनाका मिलिटरी अपरेशन्स महानिर्देशकले शनिबार दिउँसो ३ बजेर ३५ मिनेटमा भारतीय समकक्षीलाई फोन गरेर संवाद गरेका थिए। दुवै पक्ष सोमबार मई १२ मा पुनः संवादमा बस्ने तयारीमा छन्।
भारतको रक्षा मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा कमोडोर आर. रघु नायर, कर्नल सोफिया कुरैशी र विङ कमाण्डर व्योमिका सिंहले संयुक्त रूपमा युद्धविरामको जानकारी दिएका थिए। कमोडोर नायरका अनुसार भारतीय सेना युद्धविरामको पूर्ण पालना गर्नेछ तर राष्ट्रिय सुरक्षाका मामिलामा सतर्क रहनेछ। विङ कमाण्डर सिंहले पाकिस्तानले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउँदै भारतीय सेनाले कहिल्यै पनि मस्जिद वा धार्मिक स्थललाई लक्षित नगरेको स्पष्ट पारिन्।
तर युद्धविराम लागु भए पनि भारतीय पक्षले पाकिस्तानले गोलीबारी जारी राखेको आरोप लगाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार युद्धविरामको तीन घण्टामै जम्मु–कश्मीरका विभिन्न क्षेत्रमा ड्रोन आक्रमण, मोर्टार प्रहार र तोप आक्रमण भएका छन्। श्रीनगर, राजौरी, उधमपुर, पुंछ लगायतका क्षेत्रमा विस्फोटको आवाज सुनेपछि स्थानीयवासी त्रसित भएका छन्।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जालमा ‘श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको’ भन्दै युद्धविरामको प्रभावकारिता प्रति प्रश्न उठाएका छन्। अलजजिराका स्थानीय संवाददाताहरूले पनि श्रीनगरमा ठूलो आवाजमा अनेकौँ विस्फोटहरू सुन्ने गरेको बताएका छन्। केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ।
यता पाकिस्तानका विदेशमन्त्री डारले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेका छन्। पाकिस्तानको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार चीनले पाकिस्तानले देखाएको संयमता र जिम्मेवार व्यवहारको प्रशंसा गर्दै आफ्नो सार्वभौमिकताको पक्षमा दृढ समर्थन दोहोर्याएको छ। युद्धविरामको सहमतिले विश्वभरबाट स्वागत पाइरहे पनि भुईँ सतहमा अझै स्थायित्व नझल्किएको संकेतहरू देखिएका छन्।
#भारत#पाकिस्तान#
समाचार
भारत–नेपाल सीमामा परिचयपत्र अनिवार्य
द नेप्लिज संवाददातामुसलमानहरुको धर्मग्रन्थ कुरानमा आधारित पाकिस्तानी आक्रमण
जितेन्द्र साहदेशमा नयाँ जनमतको आवश्यक्ता छ : अध्यक्ष विजुक्छे
द नेप्लिज संवाददातापिकअप दुर्घटनामा एक प्रहरीको मृत्यु, दुई घाइते
द नेप्लिज संवाददाताअब महिलालाई पनि बलात्कार र बहुविवाहको मुद्दा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares