पृथ्वी दिवस–२०२५
विराटनगर– आज पृथ्वी दिवस हो । हामी बस्ने, सास फेर्ने र जीवन चलाउने एउटै साझा गृह पृथ्वीप्रति श्रद्धा, चिन्ता र संकल्प व्यक्त गर्ने दिन । सन् १९७० मा अमेरिकाबाट सुरू भएको यो अभियान आज विश्वका १९० भन्दा बढी देशमा फैलिएको छ । यस वर्षको नारा छ–हाम्रो शक्ति, हाम्रो पृथ्वी । यसपटकको मुख्य विषयवस्तु प्लास्टिक प्रदूषणलाई परास्त गरौँ हो ।
हाम्रो शक्ति भनेको हाम्रो चेतना हो, हाम्रा विकल्प हुन् र हाम्रो सामूहिक कदम हो । हामी जो जहाँ छौँ, त्यहीँबाट पृथ्वीका लागि केही गर्न सक्छौँ । कार्बन उत्सर्जन घटाउने साना प्रयास, रीसाइकलिङ (पुनःप्रयोग), प्लास्टिकको प्रयोग घटाउने साना निर्णय—यी सबैले ठूलो प्रभाव पार्न सक्छन् ।
हामीले सोचौँ, हाम्रै कारणले पृथ्वीमा तापमान असमान रूपमा बढ्दैछ, मौसमचक्र गडबडिँदैछ, बाढी, डुबान, सुख्खा र जंगल डढेलोको घटनाहरू बढिरहेका छन् । यी समस्या कुनै टाढाको छैनन्—यिनले हाम्रै बारी, पाखा, खोला र खोल्सा तहसनहस भइरहेका छन् ।
हामी दैनिक प्रयोग गर्ने प्लास्टिक— बिस्कुटको खोल, पानीको बोतल, झोला, प्याकेजिङ—यिनै चीजहरू समुद्र, नदी, जंगल र जमिनमा बर्सौंसम्म रहन्छन् । संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर हरेक वर्ष ३० करोड टन प्लास्टिक उत्पादन हुन्छ जसको झन्डै आधा मात्रा एकपटकको प्रयोगपछि फालिन्छ ।
अझ डरलाग्दो तथ्य के छ भने, यी प्लास्टिकहरू सूक्ष्म कणका रूपमा हाम्रो खानेपानी, नुन, माछा, दूध हुँदै हाम्रो शरीरभित्रै पुगेका छन् । अब प्रश्न उठ्छ — हाम्रो शरीरलाई नपच्ने प्लास्टिक पृथ्वीलाई कसरी पच्ला ?
अब समय आयो—हामीले साना साना तर गम्भीर निर्णय लिनुपर्छ । जस्तो कि :
कपको सट्टा स्टिलको भाँडो लिएर चिया खान जानु,
बजार जान पुनः प्रयोग गर्न मिल्ने झोला बोकेर हिँड्नु,
पानीको प्लास्टिक बोतल प्रयोग नगरी आफ्नै बोतल बोक्नु,
फोहोर छुट्याएर फ्याँक्नु र सकेसम्म रीसाइकल गर्ने बानी बसाल्नु ।
यी काम ठूलो लाग्न सक्छ, तर जब लाखौँ मानवले यस्तै साना निर्णयहरू रोज्छन्, तब त्यो ‘हाम्रो शक्ति’ बन्छ र त्यसले हाम्रो ‘पृथ्वी’ जोगाउँछ ।
नेपालका लागि विशेष सन्देश
नेपालजस्तो जैविक विविधता र प्राकृतिक सम्पदाले भरिपूर्ण देशमा वातावरणीय सजगता झनै महत्वपूर्ण छ । हिमाल पग्लिंदैछ, खोलानाला फोहरले ढाकिँदैछ, सहरका डोबाहरू प्लास्टिकमा हराउँदैछन् ।
हामीले हाम्रो मौलिकता, परम्परागत जीवनशैली र प्रकृति–सापेक्ष संस्कारहरूलाई बलियो बनाउँदा प्लास्टिक विरुद्धको लडाइँ जित्न सक्छौँ । ठूला अभियानभन्दा पहिले हामी आफै जागरुक हुनुपर्छ ।
पृथ्वीप्रेम शब्दमा होइन, व्यवहारमा होस्
आज पृथ्वी दिवसमा स्टाटस लेखौँ तर व्यवहार पनि बदलौँ । पोस्टर बनाऔँं तर प्लास्टिक हटाऔँ । गोष्ठी गरौँ तर पानी बोक्न स्टिलको बोतल प्रयोग गरौँ ं। प्रेमिकाझै पृथ्वीलाई माया गरौँ किनकि अरू कुनै ‘प्लानेट बी’ छैन ।
हामीसँग जुन शक्ति छ — चेतनाको, परिवर्तनको र सहकार्यको — त्यो प्रयोग गरौँ । हाम्रो शक्ति, हाम्रो पृथ्वी । प्लास्टिक प्रदूषणलाई हराउँदै, हराभरा, स्वच्छ र सुरक्षित भोलिको बीजारोपण गरौँ ।
समाचार
प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन : सरकारको गम्भीर संकेत कि नयाँ नौटंकी ?
द नेप्लिज संवाददातापद सम्हाल्न नपाउँदै मिडिया काउन्सिल अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताआदर्शको क्षय, सत्ताको व्यापार र अन्धकारमय भविष्य
द नेप्लिज संवाददाता‘योद्धा’ गाडीमा ३२३ किलोग्राम गाँजा
द नेप्लिज संवाददातायुएईका उपप्रधानमन्त्री शेख अब्दुल्लाह दुई दिने नेपाल भ्रमणमा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares