विराटनगर– लेबर पार्टीका नेता एन्थोनी एल्बानीजले भनिँदै आएको ‘सत्तारूढको अभिशाप’ लाई झुटो सावित गर्दै अष्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः प्रचण्ड बहुमतका साथ निर्वाचित भएका छन्।
हाल मतगणना जारी रहे पनि एल्बानीज नेतृत्वको मध्यम–बामपन्थी सरकारले अघिल्लोभन्दा ठुलो बहुमत हासिल गर्ने देखिएको छ। यसपटक प्रतिद्वन्द्वी रूढिवादी लिबरल–नेसनल गठबन्धनले देशव्यापी रूपमा ठूलो पराजय भोग्नुपरेको छ।
‘आज अष्ट्रेलियन जनताले निष्पक्षता, आशा र सबैका लागि अवसरलाई स्वीकारेका छन्। संकटमा साहस र जरुरतमन्दप्रति सहानुभूति देखाउने अष्ट्रेलियन मूल्यहरूलाई मतदान गरेका छन्,’ एल्बानीजले भने। गठबन्धनका नेता पीटर डटनले २४ वर्षदेखि जित्दै आएको आफ्नै निर्वाचन क्षेत्र गुमाएपछि पराजयको पूर्ण जिम्मेवारी लिँदै आफ्ना सांसदहरूसँग माफी मागेका छन्।
निर्वाचन परिणामपछि बेलायतका प्रधानमन्त्री सर कीर स्टार्मर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एल्बानीजलाई बधाई दिंदै अष्ट्रेलियासँग द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउने अपेक्षा व्यक्त गरेका छन्। यस पटक अष्ट्रेलियामा दुर्लभ मानिने दोस्रो कार्यकालको सरकारलाई पनि देशभर सकारात्मक मत प्रवाह भएको देखिन्छ। एल्बानीज विगत २० वर्षमा लगातार दुई पटक चुनाव जित्ने पहिलो प्रधानमन्त्री बनेका छन्।
यो जितले २०२२ को निर्वाचनमा देखिएको दुई ठूला पार्टीप्रति मतदाताको मोहभंगको प्रवृत्तिमा पनि ब्रेक लगाएको छ। एबीसी (अष्ट्रेलियन ब्रॉडकास्टिङ कर्पोरेशन) का अनुसार लेबर पार्टी ८५ सिटतर्फ उन्मुख छ, गठबन्धन लगभग ४० मा सीमित र ग्रीन पार्टीले १ या २ सिट जित्ने अनुमान छ। साना दल तथा स्वतन्त्र उम्मेदवारहरू ९ सिटमा अग्रता कायम राखेका छन्।
वर्षको सुरुआतमा एल्बानीजको लोकप्रियता ऐतिहासिक न्यून बिन्दुमा पुगेको थियो। तीन वर्षको विश्वव्यापी आर्थिक संकट, विभाजनकारी बहसहरू र सरकारप्रति असन्तुष्टिका बीच उनी कमजोर उम्मेदवारको रूपमा हेरिएका थिए।
पाँच हप्ते चुनावी अभियानमा स्वास्थ्य र आवासको महंगो मूल्य मुख्य विषय रहे। ऊर्जा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्बन्ध र आप्रवासन जस्ता मुद्दाहरू पनि चर्चामा रहे।
शनिबार रातिको भाषणमा एल्बानीजले स्वास्थ्य सेवा (विशेषगरी जीपी भेट) सुलभ बनाउने, आवास खरिदलाई पहुँचयोग्य बनाउने, जलवायु परिवर्तनको समाधानमा ध्यान दिने र वातावरण संरक्षणमा थप काम गर्ने वाचा दोहोर्याए। उनी विशेषतः आदिवासी र गैर–आदिवासीबीचको खाडल पुर्ने अठोटमा दृढ देखिए। सन् २०२३ को अक्टोबरमा असफल भएको ‘वोइस जनमत संग्रह’को सन्दर्भमा एल्बानीजले ‘हामी खाडल बन्द गर्दा मात्रै बलियो राष्ट्र बन्न सक्छौं’ भने।
यो जनमत संग्रह आदिवासीलाई संविधानमा मान्यता दिन र तिनीहरूका लागि सल्लाहकार निकाय स्थापना गर्न चाहन्थ्यो। तर यसलाई व्यापक बहस र मतभेदपछि अस्वीकृत गरिएको थियो। यसपछि कतिपय आदिवासी नेताहरूले आफूहरूलाई सरकारले भुलिसकेको महसुस भएको बताएका छन्।
यसैबीच एल्बानीजले इस्राइल–गाजाको युद्धमा सन्तुलित धारणा लिन खोज्दा आलोचना खेपे, घरजग्गा संकट भइरहँदा समुद्री किनारको महँगो घर किनेपछि जनताबाट आलोचना खेपे र उनी पनि अन्य विश्व नेताझैं कठिन आर्थिक परिस्थितिबाट गुज्रिएका थिए। निर्वाचन नजिकिँदा एल्बानीजलाई सत्तारूढको श्रापले चाँडै सत्ता गुमाउने उम्मेदवारको रूपमा हेरिएको थियो। अर्कोतर्फ डटन आफ्नो पार्टीलाई ७० वर्षयताकै खराब नतिजाबाट उठाउँदै फर्काउने तयारीमा थिए।
तर उल्टो परिणाम आयो। डटनले आफैं डिक्सन निर्वाचन क्षेत्र गुमाए, जहाँ लेबरकी अली फ्रान्स विजयी भइन्। उनले ब्रिस्बेनमा आफ्ना समर्थकहरूलाई भनेः ‘म यो देशलाई माया गर्छु र यसको लागि लडेँ। हार स्वीकार गर्दछु।’ उनको अभियान अनावश्यक गल्तीहरूले भरिएको थियो — नीतिगत युटर्नहरू, महत्वपूर्ण मुद्दामा भ्रमपूर्ण वक्तव्य र एएफएल बल क्यामेराम्यानको टाउकोमा प्रहार गर्नु जस्ता घटनाले उनलाई विवादित बनाए।
प्रोफेसर जोन वारहस्र्टका अनुसार विपक्षको अभियान अस्तव्यस्त थियो। यद्यपि सरकारले संयम र अनुशासनसाथ अभियान चलाए पनि उनीहरूको रणनीति डटन र उनको पार्टीलाई नै जनताले मूल्याङ्कन गर्नेमा केन्द्रित थियो। विश्लेषकहरू भन्छन्, ‘यो साहसी योजना थिएन।’
चुनाव सकिएपछि अब गठबन्धनले नयाँ नेता चुन्नुका साथै आफ्ना विचारधारात्मक मार्गबारे पुनर्विचार गर्नुपर्नेछ। २०२२ मा नै कतिपय सांसदहरूले पार्टीलाई अति दायाँतर्फ तान्न नहुने चेतावनी दिएका थिए। डटनको कडाखाल राजनीतिक छवि र अन्त्यतिर उनी जस्तो ट्रम्पवादी शैलीमा उत्रिएपछि अब ती प्रश्नहरू फेरि उठ्ने छन्।
पूर्व लिबरल रणनीतिकार टोनी बेरी भन्छन्, ‘हामी झूटो भ्रममा छौं कि केही रणनीतिक उपायले चुनाव जित्न सकिन्छ। अब गम्भीर समीक्षा आवश्यक छ।’ यता लेबरले हासिल गरेको ठुलो जनादेशलाई प्रयोग गरेर अब ठूला काम गर्ने समय आएको छ। अष्ट्रेलिया इन्स्टिच्युटकी मुख्य राजनीतिक विश्लेषक एमी रेमेइकिस भन्छिन्, ‘अब प्रश्न यो हो, ‘के लेबरले वास्तवमै सत्ता प्रयोग गर्ने हो?’
विश्व/प्रवास
लण्डनको थेम्स किनारमा भेटिएको शव रुकुमका नेपाली विद्यार्थीको भएको पुष्टि
द नेप्लिज संवाददाताविश्वव्यापी बाल यौन शोषण सञ्जालमा नेपालीको संलग्नता, आजीवन कारावासको सम्भावना
द नेप्लिज संवाददातागोवाको मन्दिरमा भागदौड, ६ जनाको मृत्यु, १५ घाइते
द नेप्लिज संवाददातामेलमिलाप चाहन्छु, लडाइँ सकियो : युवराज ह्यारी
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares