विराटनगर– बेलायती युवराज ह्यारी (ड्युक अफ ससेक्स)ले राजपरिवारसँग मेलमिलाप गर्न चाहेको बताएका छन् । ह्यारीले बीबीसीसँगको भावुक अन्तर्वार्तामा रोयल परिवारसँग मेलमिलापको चाहना व्यक्त गरेका छन्। बेलायतमा आफू र आफ्नो परिवारका लागि तय गरिएको सुरक्षाको स्तरसम्बन्धी कानुनी अपिल हारेपछि उनले आफू ‘विनाशकारी’ अवस्थामा पुगेको बताए।
प्रिन्स ह्यारीले भने, ‘राजा (बुबा) मसँग यो सुरक्षा विवादका कारण बोल्नुहुन्न, तर म अब झगडा गर्न चाहन्न। मलाई थाहा छैन, बुबासँग कति समय बाँकी छ।’ यो अन्तर्वार्ता उनले क्यालिफोर्नियाबाट बीबीसीलाई दिएका हुन्, जहाँ उनी बेलायतमा आफू र परिवारको सुरक्षाका सम्बन्धमा अपिल हारिसकेपछि बोलिरहेका थिए।
बकिङ्घम दरबारले भनेको छः ‘यी सबै विषयवस्तुहरू अदालतले बारम्बार विस्तृत रुपमा परीक्षण गरिसकेका छन् र प्रत्येकपटक उस्तै निष्कर्षमा पुगेका छन्।’ शुक्रबारको अदालती फैसलापछि प्रिन्स ह्यारीले भने, ‘म अहिलेको अवस्थामा मेरी पत्नी र बच्चाहरूलाई बेलायत ल्याउने कुनै सम्भावना देख्दिन।’
उनले थपे, ‘मेरो र केही परिवारका सदस्यबीच यति धेरै असहमति भएका छन्, तर अब म तिनीहरूलाई क्षमा गरिसकेको छु।’ ‘म परिवारसँग मेलमिलाप गर्न चाहन्छु। अब लडाइँ जारी राख्नुको कुनै अर्थ छैन, जीवन अमूल्य छ,’ प्रिन्स ह्यारीले भने। उनले सुरक्षा विवाद नै मुख्य अड्चन भएको स्वीकारे।
प्रिन्स ह्यारीले २०२० मा आफू शाही जिम्मेवारीबाट हटेर अमेरिका जाँदा परिवर्तन गरिएको सुरक्षा व्यवस्थालाई उल्ट्याउन खोजेका थिए। अदालतमा पराजित भएपछि उनले प्रतिक्रिया दिएका थिए, ‘म निकै निराश छु—पराजयले होइन, यो निर्णय लिने व्यक्तिहरूप्रति। के उनीहरूलाई लाग्छ, यो ठीक हो? के उनीहरूका लागि यो जित हो?’
‘मलाई हानि पुर्याउन चाहने मानिसहरूले यो ठूलो जीत ठानेका होलान्,’ उनले थपे।
उनले भने, ‘दैनिक रूपमा सुरक्षा नहुनु आफू र परिवारका लागि चुनौती भएको छ। ‘राजपरिवारले औपचारिक निम्तो दिएमा मात्र म बेलायत फर्कन सक्छु, किनभने त्यस अवस्थामा मात्र आवश्यक सुरक्षा पाउने छु।’
उनले २०२० मा गरिएको सुरक्षासम्बन्धी निर्णयले आफू मात्र नभइ पत्नी र पछिल्लो चरणमा बच्चाहरूलाई समेत असर गरेको बताए।
‘सबैले २०२० मा हामीलाई जोखिममा पारिएको थाहा पाएका थिए, र तिनीहरूलाई लागेको थियो, त्यो जोखिम थाहा पाएपछि हामी फर्किनेछौं। तर जब तिनीहरू बुझ्दछन् कि त्यो रणनीति असफल भयो, तब तपाईं हाम्रो सुरक्षाका लागि चिन्तित हुन चाहनुहुन्न?’, उनले भने। ‘सरकार होस्, दरबार होस्, बुबा वा परिवार—हाम्रो बीच फरक मत भए पनि के तपाईं हाम्रो सुरक्षाको सुनिश्चितता गर्न चाहनुहुन्न?’
बेलायतबाट छुट्टिनु दुःखद भएको उनको भनाइ
‘म आफ्नो देशलाई माया गर्छु, सधैँ गरेको छु, चाहे केही मानिसहरूले जे गरे पनि... र मलाई निकै दुःख लाग्छ कि अब म आफ्ना बच्चाहरूलाई आफ्नो मातृभूमि देखाउन सक्दिन,’ उनले भने।
उनले अब कानुनी चुनौती नदिने बताए । उनले भने, ‘शुक्रबारको फैसला प्रमाण हो—यो मुद्दा अदालतमार्फत जित्न सम्भव थिएन।’
‘कसैले मलाई पहिले नै यो कुरा किन बताएन?’ उनले निराश हुँदै भने, ‘यो फैसला आश्चर्यजनक थियो।’
‘यो अन्ततः पारिवारिक विवाद हो, र आज हामी पाँच वर्षपछि पनि अझै यही स्थानमा छौं भन्ने कुराले मलाई निकै दुःखी बनाएको छ,’ ह्यारीले भने।
राजपरिवार एवं सार्वजनिक व्यक्तित्वको संरक्षण समितिबाट न्याय नपाएको आरोप
प्रिन्स ह्यारीले सुरक्षा सम्बन्धी कानुनी मुद्दा बेलायत सरकार विरुद्ध लडिरहेका थिए। अदालतले शुक्रवार उनको अपिल खारेज गर्यो ।
उनको मुद्दा राजपरिवार एवं सार्वजनिक व्यक्तित्वको संरक्षण नामक समितिको निर्णयप्रति केन्द्रित थियो, जसले गृहमन्त्रालयको तर्फबाट शाही सुरक्षाबारे निर्णय लिन्छ।
ह्यारीको तर्क थियो—उक्त समिति भित्र रहेको ‘रिस्क म्यानेजमेन्ट बोर्ड’ मार्फत आफ्नो सुरक्षा मूल्यांकन हुनुपर्ने थियो, जुन भएन।
वरिष्ठ न्यायाधीशहरूले भने—समितिले २०२० मा आफ्नो नीति उल्लंघन गरेको भए पनि ह्यारीको जटिल परिस्थितिलाई हेर्दा निर्णय ‘तर्कसंगत’ भएको ठानिन्छ।
ह्यारीले भने, ‘जब मलाई थाहा भयो कि समितिमा शाही दरबारको प्रतिनिधि पनि बसेको थियो, मेरो मुख खुला रह्यो—त्यो प्रभाव दरबारको थियो, कानुनको होइन।’
उनले २०२० को निर्णयमा दरबारबाट हस्तक्षेप भएको आरोप लगाए, जसले गर्दा ‘सबैभन्दा बढी जोखिममा रहेको शाही सदस्य’ बाट उनी एकाएक ‘कम जोखिममा’ पर्ने मानिए।
‘त्यो कसरी सम्भव भयो र त्यसको उद्देश्य के थियो?’ उनले प्रश्न गरे।
प्रधानमन्त्री र गृहमन्त्रीलाई आह्वान
ह्यारीले बेलायतका प्रधानमन्त्री सर कीयर स्टार्मर र गृहमन्त्री याभेट कूपरलाई आफ्नो सुरक्षा मुद्दामा हस्तक्षेप गर्न आग्रह गरेका छन्।
शुक्रबारको अर्को वक्तव्यमा उनले कूपरलाई चिठ्ठी लेखेर उक्त समितिको प्रक्रिया तुरुन्त पुनरावलोकन गर्न अनुरोध गर्ने बताएका छन्।
विश्व/प्रवास
किन बर्खास्त भए अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज ?
द नेप्लिज संवाददातालण्डनको थेम्स किनारमा भेटिएको शव रुकुमका नेपाली विद्यार्थीको भएको पुष्टि
द नेप्लिज संवाददाताविश्वव्यापी बाल यौन शोषण सञ्जालमा नेपालीको संलग्नता, आजीवन कारावासको सम्भावना
द नेप्लिज संवाददातागोवाको मन्दिरमा भागदौड, ६ जनाको मृत्यु, १५ घाइते
द नेप्लिज संवाददाताअष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares