२० वैशाख २०८२, शनिबार 03 May 2025, Saturday

लण्डनको थेम्स किनारमा भेटिएको शव रुकुमका नेपाली विद्यार्थीको भएको पुष्टि

द नेप्लिज संवाददाता
२० वैशाख २०८२, शनिबार

Advertisement

बेलायत — लण्डनको थेम्स नदी किनारमा भेटिएको शव रुकुम पश्चिमका नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि भएको छ। लण्डन मेट्रोपोलिटन प्रहरीले वैशाख ८  (अप्रिल २१) देखि हराइरहेका २० वर्षीय ओलीको शव वैशाख १७ मा (अप्रिल ३०) लण्डनको वाटरलू नजिक नदी किनारमा फेला परेको जनाएको छ।

शवको पहिचान सुरुमा हुन नसकेपछि नेपालबाट फिङ्गरप्रिन्ट मगाइएको थियो। ती फिङ्गरप्रिन्टको मिलानपछि शव ओलीकै भएको पुष्टि भएको लण्डनस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।

ओली बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा ‘बिजनेस म्यानेजमेन्ट एन्ड लिडरशिप’ विषयमा स्नातक दोस्रो वर्षमा अध्ययन गर्ने तयारीमा थिए। उनी रुकुम पश्चिम, मुसीकोट नगरपालिका–१२ घर भई हाल लण्डनको डेगेन्ह्याम, हीथवे क्षेत्रमा बस्दै आएका थिए।

प्रहरी अनुसन्धान अनुसार ओली हराएको स्थान नजिकैको पुल किनारमा उनको मोबाइल, पर्स, पासपोर्ट, कोठाको चाबीजस्ता सामग्री एकै ठाउँमा फेला परेका थिए। त्यसपछि प्रहरीले उनी बस्ने घर र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग पनि सम्पर्क गरी अनुसन्धान अगाडि बढाएको थियो।

यूके नेपाली स्वतन्त्र विद्यार्थी समाजका सभापति विप्लव खड्काका अनुसार हामीले दिएको जानकारीका आधारमा प्रहरीले शव फेला पार्‍यो, तर पहिचान गर्न सकेको थिएन । 'नेपालबाट मगाइएको फिङ्गरप्रिन्ट मिलाएपछि शव ओलीकै भएको पुष्टि भयो,' उनले भने।

दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख विपिन दुवाडीले हालसम्मको अनुसन्धानका आधारमा ओलीको मृत्यु शंकास्पद नरहेको प्रारम्भिक निष्कर्ष आएको जानकारी दिए। ' उनका मोबाइल, कागजातहरू एउटै स्थानमा भेटिएका थिए। सीसीटीभी फुटेज र कल डिटेलले पनि शंका उब्जाउने आधार दिएको छैन,' उनले भने।

पोष्टमार्टम प्रक्रिया सुरु भइसकेको र विस्तृत विवरण त्यसपछि मात्रै आउने दुवाडीले जनाएका छन्। शव नेपाल पठाउने वा बेलायतमै अन्त्येष्टि गर्ने भन्ने निर्णय परिवारको छलफलपछि तय हुनेछ।

प्रकाशित : २० वैशाख २०८२, शनिबार 09:12
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved