स्ववियु निर्वाचन
विराटनगर – त्रिभुवन विश्वविद्यालयअन्तर्गत विराटनगरका तीनटा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पदमा अखिल क्रान्तिकारीका उम्मेदवारहरु निर्वाचित भएका छन् । अन्य पदमा विभिन्न संगठनका उम्मेदवार जितेका छन् ।
यस निर्वाचनमा विशेष चासोको विषय बनिन् दीक्षा धारेवा, जो मारवाडी समुदायबाट उम्मेदवार बनेर स्नातकोत्तर क्याम्पसको स्ववियु कोषाध्यक्ष पदमा विजयी भइन् । यो समुदाय व्यवसायमा सशक्त भए पनि राजनीतिक रूपमा संलग्न हुने परम्परा तुलनात्मक रूपमा कम छ ।
मारवाडी समुदायको योगदान र राजनीतिक सहभागिता
विराटनगर व्यापारिक केन्द्रका रूपमा चिनिन्छ, जहाँ मारवाडी समुदायको उल्लेखनीय भूमिका छ । उद्योग व्यापारको करिब ८० प्रतिशत हिस्सा उनीहरूको नियन्त्रणमा छ । उनीहरुबाट राजनीतिक दलहरूलाई ठूलो आर्थिक सहयोग उपलब्ध हुन्छ । तर राजनीतिक दलहरूबाट विद्यार्थी राजनीतिमा यो समुदायको प्रतिभाशाली प्रतिनिधित्वलाई बढावा दिने प्रयास खासै भएको थिएन ।
यसपटक अखिल क्रान्तिकारीले समावेशी उम्मेदवारी नीति अवलम्बन गर्दै दीक्षालाई कोषाध्यक्ष पदमा उम्मेदवार बनाए, जसले विद्यार्थी राजनीतिमा मारवाडी समुदायको सहभागिताको नयाँ आयाम खोलेको छ ।
दीक्षाको जित : नयाँ युगको सुरुवात
दीक्षाले निकटतम प्रतिस्पर्धीलाई १६ मतको अन्तरले पराजित गर्दै कोषाध्यक्ष पद जितेकी हुन् । उनी बुबा स्वर्गीय वीरेन्द्र धारेवा र आमा ममता धारेवाकी छोरी हुन् । सपरिवार विराटनगर–१५ मा बस्छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवका अनुसार यो विजय मारवाडी समुदायको विद्यार्थी राजनीतिमा सहभागिताका लागि ऐतिहासिक छ । उनले भने, ‘यो समुदायले विद्यार्थी आन्दोलनलाई सधैं सहयोग गरेको छ तर उनीहरूलाई राजनीतिक रूपमा अगाडि ल्याउने प्रयास भएको थिएन । अखिल क्रान्तिकारीले त्यो अवसर दियो ।’
राजनीतिमा नयाँ संकल्प
दीक्षाले अब अध्ययनसँगै राजनीतिक भविष्यको मार्ग तय गर्ने बताएकी छिन् । स्ववियु पदाधिकारीको रूपमा क्याम्पसको शैक्षिक विकास र विद्यार्थी हकहितका लागि कार्य गर्ने उनको योजना छ ।
महेन्द्र मोरङ क्याम्पसका सभापति रोहित यादवलाई प्रचण्डको बधाई
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र मोरङ क्याम्पसका नव–निर्वाचित स्ववियु सभापति रोहित यादवलाई फोन गरी बधाई दिएका छन् ।
रोहितले प्रचण्ड मोरङ भ्रमणमा आएको दिन नै आफूले जित सुनिश्चित भएको महसुस गरेको बताए । टेलिफोन वार्ताका क्रममा प्रचण्डले भने, ‘जे होस्, एउटा इतिहास बन्यो । महेन्द्र मोरङको अध्यक्ष जित्नु भनेको ऐतिहासिक घटना हो । देशभर राम्रो सन्देश गइसक्यो, अब हामी अझ राम्रो गर्न सक्छौैं ।’
यसपटक मोरङका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । यसमा अखिल क्रान्तिकारीले ५, नेपाल विद्यार्थी संघले ३ र अनेरास्ववियुले २ क्याम्पसमा स्ववियु सभापति जितेका छन् ।
स्ववियु निर्वाचनले विद्यार्थी राजनीतिमा समावेशी सहभागिता र नयाँ नेतृत्वको उदयलाई उजागर गरेको छ । दीक्षा धारेवाको विजय मारवाडी समुदायका लागि राजनीतिक जागरणको संकेत हो भने अखिल क्रान्तिकारीको समावेशी रणनीतिले भविष्यमा विविध समुदायको सहभागिता बढाउने सम्भावना देखाएको छ ।
समाचार
तस्करी–लेनदेन विवादमा गोली प्रहार, दुई पक्राउ, तीन फरार
द नेप्लिज संवाददाताटोखा विदेशी मुद्रा काण्डमा दुई जनाविरुद्ध मुद्दा, २५ करोड बराबरको बिगो माग
द नेप्लिज संवाददाताएमाले विराटनगर अधिवेशनमा देखियो गहिरिँदो आन्तरिक फाटो : मंच बहिष्कारदेखि संस्थापन–इतर टकरावसम्म
द नेप्लिज संवाददाताभण्डारीको नेतृत्व आकांक्षामा ओली चिन्तित : एमालेमा आन्तरिक द्वन्द्व चुलिँदै
द नेप्लिज संवाददातावीरगन्ज फेरि तनावग्रस्त : तीन युवा पक्राउपछि हिन्दूवादी प्रदर्शन, पत्रकार घाइते
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares