विराटनगर – राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्रको माग र संघीयता खारेजीका नारासहित सुरु गरिएको संयुक्त जनआन्दोलन समिति नेतृत्वको आन्दोलन सुरुवातको एक साता नपुग्दै छिन्नभिन्न हुने अवस्थामा पुगेको छ। आन्दोलनको दोस्रो चरणका कार्यक्रम तय गर्न बुधबार बोलाइएको समीक्षा बैठकमा प्रमुख घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित रहनु, युवाहरूको असन्तुष्टि र बैठकमै भएको होहल्लाले आन्दोलनको आगामी दिशा अनिश्चित देखिएको छ।
आन्दोलनका संयोजक ८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदीले जनआन्दोलनलाई काठमाडौँबाहिर जिल्ला–जिल्लामा विस्तार गर्दै फेरि राजधानी केन्द्रित गर्ने रणनीति सार्वजनिक गरे पनि मुख्य घटकहरूको सहभागिता र सहमति नहुनुले नेतृत्व संकट गहिरिएको संकेत दिएको छ।
लिङ्देन अनुपस्थित, थापाविरुद्ध नाराबाजी
बैठकमा राजेन्द्र लिङ्देन संसद्मा व्यस्त भएको कारण उपस्थित हुन नसकेको जनाइएपछि कार्यकर्ताहरू आक्रोशित बने। उनीहरूले ‘संसद चाहिएको भए आन्दोलन किन?’ भन्दै नाराबाजी गरे। राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्न थालेका बेला समेत होहल्ला हुँदा उनले मन्तव्य नै स्थगित गरे।
युवाहरूले कमल थापामाथि गणतान्त्रिक सरकारमा उपप्रधानमन्त्री बन्ने रहर देखाएको र राजावादी शक्तिलाई एकत्र पार्न नसकेको आरोप लगाए। लिङ्देनमाथि भने गणतन्त्रलाई बढी प्राथमिकता दिएको र राजसंस्थाको मुद्दा गम्भीरतापूर्वक नलिएको आरोप लाग्यो।
सुवेदीको एकल नेतृत्वप्रति असन्तुष्टि
बैठकमा देखिएको होहल्लापछि संयोजक सुवेदीले कार्यक्रम ‘उर्जामय’ रहेको बताए पनि बैठक सकिएपछि सार्वजनिक गरिएको विज्ञप्तिमा उनी एक्लैले दोस्रो चरणको आन्दोलनको घोषणा गरे। तर बैठकमा सहभागिता जनाएका ४५ मध्ये कतिपय दल तथा समूहका प्रतिनिधिहरूले सुवेदीको ‘एकल हस्तक्षेप’ प्रति असन्तुष्टि जनाएका छन्।
सुवेदीले विभिन्न नगरपालिकामा प्रदर्शन, जिल्ला तहसम्म आन्दोलनको विस्तार, युवाहरूको परिचालन र अन्ततः पुनः काठमाडौँमा आन्दोलन केन्द्रित गर्ने कार्यक्रमको घोषणा गरे पनि आन्दोलनमा समन्वय र नेतृत्वको संकट स्पष्ट देखिएको छ।
दुर्गा प्रसाईं समूह निष्क्रिय
राजसंस्थाका घोषित जनकमाण्डर दुर्गा प्रसाईं नेतृत्वको समूह भने पछिल्लो चरणको आन्दोलनबाट टाढिएको छ। १५ चैतको प्रदर्शनपछि उनी नेतृत्वमा नआएको, १९ जेठको उपत्यका बन्दमा समेत निष्क्रिय रहेको देखिन्छ। राप्रपा पनि १९ जेठको बन्दमा सहभागी नभएको भन्दै कार्यक्रम फिर्ता लिएपछि सुवेदी पक्षले असन्तुष्टि पोखेको थियो।
‘सरकारकै निर्देशनमा आन्दोलन?’ – प्राज्ञ गुरुङको आलोचना
राजसंस्था समर्थक प्राज्ञ डा. जगमान गुरुङले सरकारकै निर्देशनमा सञ्चालित आन्दोलनबाट कुनै उपलब्धि नहुने टिप्पणी गर्दै आन्दोलनको औचित्यमै प्रश्न उठाएका छन्। उनले सरकारले भनेको मिति र स्थानमा आन्दोलन गर्नुको तुक छैन भन्दै स्पष्ट असहमति जनाएका छन्।
राप्रपा भित्र पनि चिसोपन
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि ‘समीक्षा बैठक आमसभा जस्तो बनाइएको’ भन्दै रणनीतिक त्रुटिको संकेत दिएका छन्। उनले बैठक ‘लाइभ’ गरिएकोमा आपत्ति जनाउँदै यस्ता कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए।
राजसंस्थावादी आन्दोलन, उत्साहभन्दा बढी अन्योल
पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वराजावादी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेपछि सुरु भएको आन्दोलनमा सुरुवातमा देखिएको उत्साह अहिले नेतृत्वको विभाजित धार, समन्वय अभाव र कार्यक्रमको अस्पष्टताका कारण निराशामा रूपान्तरण हुँदै गएको छ।
संयुक्त जनआन्दोलन समिति भित्र राप्रपाको संसद–प्रेम, थापाको पुरानो द्वैध भूमिकाविरुद्ध असन्तुष्टि र युवाहरूको छुट्टै समूहले नयाँ नेतृत्वको माग गर्दै आन्दोलन गर्न लागेकाले आन्दोलनको दोस्रो चरण औपचारिक रूपमा घोषित भए पनि प्रभावकारी बन्ने वा नबन्ने अन्योलमा छ।
#संयुक्त #जन#आन्दोलन# समिति
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares