२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव

द नेप्लिज संवाददाता
२२ जेठ २०८२, बिहीबार

Advertisement

विराटनगर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्लाष्टिकको प्रयोगले पृथ्वी र मानव जीवनको अस्तित्व नै संकटमा परेको बताएका छन् । विश्व वातावरण दिवस २०२५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले वातावरण संरक्षण, प्रकृति र जैविक विविधताबीच दीर्घकालीन सन्तुलन कायम राख्न सबैको भूमिका अपरिहार्य रहेको बताएका हुन् । 

‘विश्वले जलवायु परिवर्तन, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतको अत्याधिक दोहन तथा जैविक विविधतामा हुने गरेको ह्रास जस्ता चुनौतीहरूको सामना गरिरहेको छ,’ उनले भनेका छन्, ‘यी समस्याहरूको प्रभावकारी समाधानका लागि वैज्ञानिक, प्रविधिमा आधारित तथा समुदायस्तरबाट सक्रिय पहल आवश्यक छ ।’ संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको नेतृत्वमा मनाइने विश्व वातावरण दिवस २०२५ को मूल नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य’ रहेको छ । 

‘प्लास्टिकजन्य फोहोरले नदी, समुद्र र जंगललाई प्रदूषित बनाउँदै जैविक विविधतामाथि गम्भीर खतरा सिर्जित गरेको र विश्वमा हरेक वर्ष सयौँ मिलियन टन प्लास्टिक उत्पादन हुने गर्दछ, ती मध्ये करीब दुई तिहाई त  एक पटक मात्र प्रयोग गरी फ्याकिन्छ,’ उपराष्ट्रपति यादवले भने, ‘अल्पकालिन उपयोगका यस्ता प्लाष्टिकसहितका वस्तुहरुले नदी, महासागर र पर्यटकीय क्षेत्रहरुलाई प्रदूषित गर्नुका साथै हाम्रो खाद्य श्रृंखलामा प्रवेश गरी सूक्ष्म प्लास्टिकका रुपमा हाम्रो शरीरमा समेत पुग्ने गरेको वैज्ञानिक अनुसन्धानबाट पृथ्वी र मानव अस्तित्व नै गम्भीर संकटमा रहेको संकेत गर्दछ । यसप्रति सबैको ध्यानाकर्षण हुन जरुरी छ ।’

उनले एक पटक मात्र प्रयोग गरिने प्लास्टिकको उपयोग कम गर्ने, पुनः प्रयोग र पुनर्चक्रण प्रवर्वद्धन गर्ने अभियानलाई व्यापक रूपमा विस्तार गर्न आवश्यक रहेको बताएका छन् । दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । 

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि हाल हिमालको हिउँ पग्लने समस्या, नदीहरूमा बढ्दो प्रदूषण, वायु प्रदूषण, वन विनाश, चुरे विनाश जस्ता गम्भीर चुनौतीहरू देखा परेको भन्दै उपराष्ट्रपति यादवले चिन्ता व्यक्त गरेका छन् । ‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दो छ, वनक्षेत्रको विनाशले जैविक विविधताको अस्तित्वमा खतरा निम्त्याएको छ, नदी तथा जल स्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ,’ उनले भने, ‘अति वृष्टि, अनावृष्टि, खडेरी, सुखाग्रस्त समस्याहरुको चपेटामा हामी पर्दै गएको र अझ, तराई–मधेश क्षेत्रमा भूमिगत पानीको स्रोतहरु सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल भासिनुका साथै कतिपय ठाउँमा ईनार, कुवाँ, चापाकल आदिमा पानी आउनै छाडेको छ ।’ 

उनले नवीकरणीय ऊर्जा स्रोत प्रवर्द्धन गर्ने, वन्यजन्तु तथा जैविक विविधताको सुरक्षा सुनिश्चित गर्ने, कृषि तथा औद्योगिक उत्पादनमा वातावरणमैत्री प्रविधि अपनाउने र व्यक्तिगत तथा सामुदायिक तहमा वातावरण संरक्षणका पहलहरूलाई प्रोत्साहित गर्ने कार्यमा जोड दिन आग्रह गरेका हुन् । ‘पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभएर हामी सबैको साझा कर्तव्य हो,’ उनले भने, ‘हामीले आफ्नो दैनिक जीवनमा साना परिवर्तनहरू गरेर पनि वातावरण सुधारमा महत्वपूर्ण योगदान पु¥याउन सक्छौं । खासगरी, वृक्षारोपण अभियानलाई प्राथमिकता दिने, पानी तथा ऊर्जाको बचत गर्ने एवं सरसफार्इ तथा वातावरणमैत्री प्रविधि अपनाउन सक्नुपर्दछ ।’
 
विश्व वातावरण दिवस २०२५ ले हामीलाई पृथ्वीको दीर्घकालीन सुरक्षाका लागि एकजुट भई कार्य गर्न प्रेरित गर्न सकोस् भन्ने उपराष्ट्रपति यादवले कामना गरेका छन्। ‘व्यक्तिगत, संस्थागत तथा सरकारी स्तरबाट आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै वातावरण संरक्षणलाई व्यवहारमा उतार्न जरुरी छ,’ उनले भनेका छन्, ‘पृथ्वीलाई स्वच्छ, हरियाली तथा दिगो बनाउने प्रयासका लागि सबैलाई यो दिवसले उत्प्रेरित गर्ने विश्वासका साथ प्लास्टिक प्रदूषण न्यूनीकरण तथा जलवायु सुधारका लागि आजैबाट सकारात्मक परिवर्तनको थालनी गर्न सबैमा आग्रह गर्दै पुनः विश्व वातावरण दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित : २२ जेठ २०८२, बिहीबार 08:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved