काठमाडौँ महानगरपालिका विवाद
विराटनगर- घम्साघम्सीबीच काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय प्रवेश गरे पछि केही बेर बसेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फर्केका छन् ।
मेयर बालेन साहले उनलाई रोक्न नगर प्रहरी परिचालन गरे पनिे अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरेका थिए । उनी कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर साहले कार्यकक्षमै चाबी लगाएर बेपत्ता भएका थिए । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल र वडाध्यक्षहरूको बैठक बसेका थियो ।
मेयर साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट छन् । गुरागाईं कार्यालय पुग्दा सबैले मेयरका विरूद्ध नाराबाजी गर्दै अघि बढाएका थिए । त्यहाँ कर्मचारी र वडाध्यक्षहरूले समेत मेयर साहले समस्या समाधानमा भन्दा पनि स्टन्टमा बढी ध्यान दिँदा माहोल बिग्रेको भन्दै विरोध गरेका थिए।
३ महिना १४ दिनपछि उपप्रमुखसहित वडाध्यक्ष र कर्मचारीहरूले उनलाई जबरजस्तीले कार्यालय प्रवेश गराएका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरले गुरागाईंले पदबहाली गरेको भन्दै आउँदा दिनमा महानगरको सेवा सहज ढंगले अघि बढ्ने बताए । गुरागाईंले पनि महानगरका कर्मचारी र शिक्षकले तलब पाउनुपर्ने बताए ।
गुरागाईँको आज जसरी कार्यालयमा प्रवेश भएको छ, त्यसैले काठमाडौं महानगरको माहोल चाँडै सहज हुने संकेत देखिन्न । गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि नयाँ हाजिरी कापी बनाएर उनले हाजिर गर्नुपरेको छ ।
कर्मचारीहरूले ताला फोरेर गुरागाईँलाईं कार्यकक्षमा प्रवेश गराएका थिए । उनले काम भने थाल्न सकेनन् । महानगरमा हाजिर गरेर उनी मन्त्रालयतर्फ लागे ।
मेयर साह र वडाअध्यक्ष तथा कर्मचारीको विवाद सतहमा आएको छ । मन्त्रालयले गुरागाईँलाई हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिना अघि पत्र महानगरपालिकालाई पत्र पठाएको थियो । मन्त्रालयको पत्र प्राप्त भएको लामो समय पछि पनि गुरागाईंलाई हाजिर गर्न नदिएपछि स्थानीय तह कर्मचारी युनियन नेपालले चैत २५ भित्र हाजिर गर्न नदिए आन्दोलन गर्ने कर्मचारीले चेतावनी दियो । शाहले चासो नदेखाए पछि आज कार्यालय समय सुरु भएसँगै महानगरका कर्मचारी र वडाअध्यक्षहरुसमेत आन्दोलित बने ।
गुरागाईलाई रोक्नका लागि मेयर बालेनले नगर प्रहरी परिचालन गरे भने केही जनप्रतिनिधि कर्मचारीहरू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ महानगरमा आउनुपर्ने माग गर्दै कमलादीस्थित महानगरपालिकाको कार्यालयमा जम्मा हुन थाले । कर्मचारी आन्दोलित हुन थालेपछि मेयर बालेनको निर्देशनमा काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको नगर प्रहरीको टोली गेटमा तैनाथ रहे ।
कर्मचारीहरुले मेयर बालेनविरुद्ध प्रदर्शन गरिरहेको समयमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि महानगर पुगे । गेटमा नगर प्रहरीले रोक्न खोजे पनि कर्मचारीले गुरागाईंको पक्षमा नाराबाजी गर्दै गुरागाईंलाई स्वागत गर्दै कार्यकक्ष लग्ने प्रयास गरे । ढोकाको चाबी नभेटेपछि कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउन थाले । ताला फुटाउने काम जारी रहँदा पाण्डेसहितको टोलीले हस्तक्षेप गर्दै रोके ।
वडाध्यक्ष र प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई नगरप्रहरीले रोकेपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरुसहित कर्मचारी बैठक बसे । अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् । उनले भनिन्, ‘कसैको मनमुटाव होला, जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लिन हुनुपर्छ । ’
उनले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गरिन् । ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईँ हुनु पनि राम्रो होइन ।’
उनले प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको भन्दै अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन् । ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंबासीले दुःख पाएका छन्। क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।’ उनले भनिन्, ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौँ ।’
अनौपचारिक बैठकमा नगरप्रहरी प्रमुख पाण्डेलाई उपप्रमुख डंगोलले तपाईँले लिखित आदेशमा ताला लगाउनु भएको हो कि मौखिक आदेशमा भनेर प्रश्न गर्दा उनले मौखिक आदेशमा लगाएको प्रतिक्रिया दिए । पाण्डेले त्यस्तो प्रतिक्रिया दिएपछि कर्मचारीहरु थप आक्रोशित बनेका थिए।
उनीहरूको अनौपचारिक छलफल पश्चात रोक्न तैनाथ नगर प्रहरीलाई हटाएर वडाध्यक्ष र कर्मचारीहरूले गुरागाईंलाई महानगरपालिकाको कार्यालय छिराएका हुन् । महानगरमा उपमेयर डंगोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि उनले हाजिर गरेका छन्। बालेनले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईँले गत पुस ८ गतेदेखि हाजिर गर्न पाएका थिएनन्।
आन्दोलित कर्मचारीले भने बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा महानगर नचल्ने चेतावनी दिएका छन् । महानगरका कर्मचारी नरबहादुर साउदले मेयर शाह कर्मचारीका समस्या समाधान गर्नु्को सट्टा सामाजिक सञ्जालमा स्टाटस लेख्दै हिँडेको आरोप लगाए । उनले भने,’मेयरसाबले स्टाटस लेख्दैमा महानगर चल्दैन । समस्या समाधानतिर लाग्नुहोस् ।’ लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिनु आफूहरूको बाध्यता रहेको उनीहरूको भनाइ छ । पुरानो बसपार्कमा काठमाडौं टावरको नक्सा नियमविपरीत पास गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो ।
स्थानीय सरकार
भ्रष्टाचारको गन्धले निर्माण रोकिएको काठमाडौँ भ्यू–टावर
द नेप्लिज संवाददाता७५३ स्थानीय तहका ३६ हजारभन्दा भन्दा बढी जनप्रतिनिधिको पद संकटमा
द नेप्लिज संवाददातास्थानीय तहका जनप्रतिनिधिलाई कानुन सम्झाउँदै अदालत
देव नारायण साहसडक सौन्दर्यीकरणमा एभरेष्ट बैंकको सहयोग
द नेप्लिज संवाददाताआगलागी नियन्त्रणका लागि महानगरलाई रोटरीको सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares