विराटनगर– आममान्छेको पहुँच नपुग्ने ठाउँमा इलन मस्कको छोराछोरीको उपस्थिति हुन्छ । विदेशी नेताहरुसँग भेटघाटदेखि स्पेसएक्सको प्रक्षेपणको नियन्त्रण कक्षसम्म पितासँगै उनका छोरापनि देखिन्छन् । पहिला उनीहरु बुबा मस्कसँग प्रविधि एवं कारोबारको ठाउँमा पुग्थे । अहिले उच्च राजनीतिक हस्तीहरु भएको थलोमा पनि सँगसँगै हुन्छन् ।
मस्कले बिहीबार प्रविधि एवं अविष्कार विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरिरहँदा लिटिल एक्स र उनको दुई भाइबहिनी पनि सँगै थिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधिका अर्बपती एवं टेस्लाका सह–संस्थापकलाई नयाँ सरकारी विभाग डीओजीई (डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी)को नेतृत्व दिएदेखि मस्कका बच्चाबुच्ची प्रायः राजधानी वासिंग्टन डीसीमा देखिन्छन् । मस्कको चार वर्षको छोरा ‘लिटिल एक्स,’ बुधबार ओवल अफिस (अमेरिकी राष्ट्रपतिको कार्यथलो) सुन्दर सुटमा एक कुनामा उभेका थिए । मस्कले बिहीबार प्रविधि एवं अविष्कार विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरिरहँदा लिटिल एक्स र उनको दुई भाइबहिनी पनि सँगै थिए । बच्चाहरुले मोदीसँग उपहारको आदानप्रदान गरे ।
अमेरिकामा ट्रम्प प्रशासनको अंग बन्नु अगाडिदेखि पनि मस्कलाई प्रायः आफ्नो बालबालिकासँग देखिन्थ्यो । टर्किको राष्ट्रपतिसँगको बैठकमा, कन्सनट्रेशन क्याम्पको एक मेमोरियल सर्भिस र सन २०२१ मा टाइम म्यागजिनले मस्कलाई ‘पर्सन अफ द इयर,’ को उपाधी दिँदा नानीबाबुहरुसँगै थिए ।
सवाल, यतिको महत्वपूर्ण ठाउँमा उनी छोराछोरीलाई किन लान्छन् ? ‘के सार्वजनिक कार्यक्रममा सन्तानलाई सामेल गराउनु भनेको राजनेताबाट उठाइएको राजनीतिक कदम हो ? के जनताको नजरमा आफूलाई मिलनसार र मानवीय दृष्टिकोण भएको देखाउन यसो गरिन्छ ?’ अमेरिकी विश्वविद्यालयको पब्लिक कम्युनिकेसनका प्राध्यापक कर्ट ब्रैडोक भन्छन् । तैपनि मस्कले सानो छोरालाई राष्ट्रपतिको कार्यकक्ष लग्नु भन्ने असामान्य निर्णय भएको उनको बुझाइ छ ।
आधी घण्टाको प्रेस ब्रिफिङ्को क्रममा ‘लिटिल एक्स,’ दिक्क भएको पनि देखिए । उनी यो अवधिमा कुनै बेला बुबाको नक्कल गर्थे, बेलाबेलामा भुइँमा बस्थे । बीचबीचमा उनी अमेरिकी राष्ट्रपतितिर हेर्दै मुस्कुराउँथे । ‘लिटिल एक्स’को हाउभाउ हेर्दा उनी धेरैले बोलेको मन पराइरहेका थिएनन् । ‘मेरो विचारमा छोराछोरीलाई एक रणनीतिअनुरुप जानीबुझी यी सार्वजनिक अवसरमा सामेल गरिएको हो, अरुको ध्यान अन्यत्र मोड्दा मस्क र ट्रम्पको लागि फाइदाजनक हो,’ ब्रैडोकले भने ।
एक दशक अगाडि पहिचान बनाउन संघर्षरत रहँदा पनि मस्कले आफ्नो विद्युतीय सवारी बनाउने कम्पनि टेस्लातर्फ नागरिकको ध्यान आकर्षित गर्न पनि छोरालाई साथमा राख्थे
रणनीतिक सञ्चार सल्लाहकार जाँन ह्याभरका अनुसार मस्कको केटाकेटीलाई पटकपटक अगाडि ल्याएर यसलाई भाइरल मोमेन्ट बनाउनु ट्रम्पको लागि उपयोगी हो । पाँच राष्ट्रपति निर्वाचन अभियानमा काम गरेका हार्वर्डका प्राध्यापक ह्याभर भन्छन्, ‘बढीभन्दा बढी हल्लीखल्ली वा हलचल देखाउनु ट्रम्पको लागि प्रभावकारी छ, यसले उनीमाथि कम ध्यान जान्छ ।’
मस्कको पूर्वप्रेमिका र ‘लिटिल एक्स’की आमा ग्रिम्सले राष्ट्रपतिको कार्यकक्षमा लिटिल एक्सको उपस्थितिको आलोचना गरेकी छन् । ‘यसरी सार्वजनिक थलोमा उसलाई आउनु हुँदैन्थ्यो,’ सामाजिक सञ्जाल मञ्च ‘एक्स,’मा उनले लेखेकी छन्, ‘तर पूराअवधि विनम्र देखिएकाले मलाई खुशी लागेको छ ।’ सन् २०२२ मा ग्रिम्सले भ्यानिटी फेयरका लागि तयार पारेको एक लेखमा आफ्नो छोरा चर्चा आउन् भन्ने नचाहेको धारणा राखेकी थिइन् ।
एक दशक अगाडि पहिचान बनाउन संघर्षरत रहँदा पनि मस्कले आफ्नो विद्युतीय सवारी बनाउने कम्पनि टेस्लातर्फ नागरिकको ध्यान आकर्षित गर्न पनि छोरालाई साथमा राख्थे । सन २०१५ मा विश्लेषक र रिपोर्टर सिलिकन भ्यालीमा टेस्लाको शुभारम्भको पर्खाइमा रहेको बेला पनि मस्कका पाँच छोराछोरी कम्पनि परिसरमा लडीबुडी खेल्नुका साथै होहल्ला गरिरहेको देखिएका थिए । बच्चाहरुको उपस्थितिले आरामदायक एवं खुशीको माहोल भएकोेले उपस्थितजनले घण्टौको पर्खाइलाई बिर्सेका थिए ।
मस्कका तीन महिला पार्टनरबाट १२ छोराछोरी छन् । यीमध्ये एक्स, एई, ए–१२ र लिटिल एक्सलाई सार्वजनिक थलोमा लिएर जान्छन् । आफ्नो चार वर्षीय छोरालाई मस्कले स्वयं पनि भावनात्मक रुपमा साथ दिने बताएका छन् । मस्कको जीवनी लेख्ने बाँल्टर इसाकसनले ‘द डायरी अफ सिईओ’ पोडकास्टमा आफ्ना सन्तानसँग गहिराइले मस्क जोडिएको भनेका छन् । ‘उनीहरुसँग मस्कको अदभूत प्रेम छ,’ उनले भने ।
मस्कले आफ्ना बच्चा, प्रेमिका र पत्नीहरुका लागि हरेक थोक मनले गर्दै आएको आफूले महसुस गरेको इसाकसनले बताए । उनी अगाडि भन्छन्, ‘उनी सदैव आफ्ना बच्चालाई वरिपरि राख्न मन पराउँछन््, साथी मान्छन्, यसको मतलब यो पनि होइन कि उनी शान्ति नै मन पराउँदैनन् । (एजेन्सीहरुको सहयोगमा)
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares