६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

प्रचण्डद्वारा देउवाको प्रस्ताव अस्वीकार, २०८४ सम्म प्रधानमन्त्री नबन्ने अडान

द नेप्लिज संवाददाता
८ चैत २०८१, शुक्रबार

Advertisement

काठमाडौँ – नेपाली राजनीतिमा फेरि हलचल मच्चिने संकेत देखिएको छ। प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाएको प्रस्ताव अस्वीकार भएको छ।

देउवाले एक विश्वासपात्र नेतामार्फत ओलीको विकल्पका रूपमा प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर दाहालले उक्त प्रस्ताव अस्वीकार गर्दै देउवालाई अघि बढ्न सुझाव दिएका छन्।

माओवादी केन्द्रले सञ्चालन गरिरहेको तराई-मधेस अभियानका क्रममा वीरगञ्ज पुगेका दाहालले आफू प्रधानमन्त्री बन्न इच्छुक नरहेको स्पष्ट पारे। उनले भने, ‘मैले प्रष्ट भनेको छु, २०८४ सम्म म प्रधानमन्त्री बन्दिनँ। म जनतासँगै रहन्छु, उनीहरूको समस्याबारे सदनमा आवाज उठाउँछु। तर कम्तीमा २०८४ सम्म म प्रधानमन्त्रीको दौडमा छैन। यो भ्रम कसैले पाल्नु हुँदैन।’

सत्ता समीकरण फेरबदलको संकेत

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा असन्तुष्टि बढ्दै गएको छ। कांग्रेसभित्र ओली सरकारमा निरन्तर रहने कि बाहिरिने भन्ने बहस चुलिएको छ। परराष्ट्रमन्त्री आरजु राणाले भारतसँगको सम्बन्ध सुधारका लागि गरेको प्रयास सफल नभएपछि कांग्रेसमा ओली सरकारसँग लामो सहकार्य गर्न नसकिने धारणा बलियो बन्दै गएको छ।

देउवाको प्रस्तावबारे दाहाल मात्र होइन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको स्रोतले जनाएको छ। देउवा, दाहाल र नेपालबीचको संवादले आगामी दिनमा राजनीतिक समीकरण परिवर्तन हुनसक्ने संकेत गरेको छ।

दाहालको गोप्य चितवन भ्रमण र ओलीलाई नकारिएको भेट

प्रधानमन्त्री ओलीले विपक्षी नेताहरूसँग संवाद गर्ने प्रयास गरिरहेका छन्। उनले विपक्षी नेताहरूसँग सम्पर्क गर्न खोज्दा स्वास्थ्य समस्याका कारण सफल नभएको  संसदमा  बताएका थिए। तर त्यही समयमा दाहाल चितवन पुगेर कार्यकर्तासँग भेटघाट तथा मर्निङ वाक गरिरहेको भिडियो उनकी छोरी गंगाले सार्वजनिक गरिन्।

दाहालको सचिवालय सामान्यतया हरेक गतिविधि सार्वजनिक गर्ने भए पनि चितवन भ्रमणबारे कुनै आधिकारिक जानकारी बाहिर ल्याइएको थिएन। चितवनमा दाहालले केही महत्वपूर्ण राजनीतिक भेटघाट गरेको बुझिएको छ।

ओली सरकारप्रति आक्रामक प्रचण्ड

दाहाल पछिल्लो समय ओली सरकारप्रति आक्रामक देखिएका छन्। वीरगञ्जमा आयोजित कार्यक्रममा उनले ओली सरकारलाई भ्रष्टाचार बढाउने, अराजकता फैलाउने, राम्रो काम गर्नेलाई अपमान गर्ने र बेथिति बढाउने सरकारको संज्ञा दिए। उनले भने, ‘मेरो नजरमा ओली सरकार भ्रष्टाचारलाई ढाकछोप गर्ने, बेथिति र अराजकतामा रमाउने सरकार हो। कुलमान घिसिङको विषयले पनि यो पुष्टि गर्छ।’

दाहालका ती भनाइहरू सत्तामा समीकरण फेरबदलको सङ्केत हुनसक्ने अनुमान गरिएको छ। देउवा, दाहाल र नेपालबीच संवाद सुरु भएसँगै नेपालको राजनीति अर्को मोडमा जाने सम्भावना बलियो बन्दै गएको छ।
 

प्रकाशित : ८ चैत २०८१, शुक्रबार 21:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved