राजतन्त्र पुनःस्थापना पक्षधरले २०४७ सालको संविधानको प्रावधानलाई पुनःजिवित गर्नुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै २०४७ सालको संविधानलाई आधार मानेर ७२ सालको संविधानमा परिमार्जन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
विराटनगर– मुठभेडको संभावना देखेर राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकहरु समाजवादी मोर्चा र राजावादी समूहलाई अपील गरेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति चासो व्यक्त गरेको छ ।
आयोगले बिहीबार उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा सुरक्षा अधिकारीले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताएका छन् ।
आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्नसमेत निर्देशन दिएका छन् । विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन आयोगले भनेको छ ।
चैत १५ (शुक्रबार) संघीय राजधानी काठमाडौंमा गणतन्त्रवादीहरू र राजावादीहरुको प्रदर्शन एक साथ हुँदैछ । गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चारदलीय समाजवादी मोर्चाले गर्दैछ । राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ ।
फागुन ७ को प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरूको गतिविधि बढेको छ । प्रमुख दलहरुको नेता–कार्यकर्ताको व्यक्तिगत स्वार्थले प्रेरित गतिविधिले नागरिक समाज उकुसमुकुसमा रहेको बेला राजावादीको सक्रियताले गणतन्त्रवादीहरु तर्सेका छन् ।
गणतन्त्रको विपक्षमा प्रदर्शन गरेर ’काउन्टर’ दिने प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा केही राजा र हिन्दूवादी संघसंस्थाहरूले पनि समर्थन जनाएका छन् । राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै सहभागी गराउने योजनामा छन् । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी र समितिको जनकमान्डर दुर्गा प्रसाईंलगायतले पूर्वराजालाई भेटिसकेका छन् ।
उनीहरूले तीनकुनेमा प्रदर्शन र आमसभा गर्दैछन् । पूर्वराजालाई सहभागी गराउन पाइयो भने माहोल अर्कै हुने सुवेदी–प्रसाईंहरूको आकलन छ । तर पूर्वराजाले यस बारेमा बिहीबार साँझ सम्म पनि कुनै निर्णय नलिएको बताइएको छ ।
गणतन्त्रवादीहरूले भृकुटीमण्डपमा प्रदर्शन र आमसभा गर्दैछन् । गणतन्त्रको गठबन्धन सामेल समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर शक्ति प्रदर्शन गर्ने बताएका छन् ।
यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्ने प्रहरी–प्रशासनलाई जानकारी गराएका छन् । यता जिल्ला सुरक्षा समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ । त्यसैले एउटालाई तीनकुने र अर्कोलाई भृकुटीमण्डप स्थान तोकिएको समितिले जनाएको छ । मुडभेठ हुन नदिने समितिले विशेष रूपमा रणनीति बनाएको हो ।
दुवै पक्षले सार्वजनिक मञ्चबाट एक अर्कालाई चेतावनी दिइसकेका छन् । गणतन्त्रवादीहरूले बाटो नछेक्न र बढी नचलमलाउन चेतावनी दिएको छ । राजावादीहरूले पनि ’क्रिया भए प्रतिक्रिया पनि हुने’ बताएका छन् । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार शुक्रबार २ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ । उनले भने,‘आवश्यकताअनुसार थप प्रहरी पनि परिचालन गरिनेछ ।’
घुसपैठ हुन नदिन बिहीबारदेखि नै ठाउँठाउँमा सादा पोसाकका प्रहरी समेत परिचालन गरिएको छ । राजावादीका तर्फबाट मेडिकल व्यवसायी प्रसाईं कमान्डर बनेका छन् । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्ने भनेको छ ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पूर्वराजाका समर्थकलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिने र समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले बताए । राजतन्त्र पुनःस्थापना पक्षधरले २०४७ सालको संविधानको प्रावधानलाई पुनःजिवित गर्नुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै २०४७ सालको संविधानलाई आधार मानेर ७२ सालको संविधानमा परिमार्जन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
नेपाल अधिराज्यको संविधान २०४७ ले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको प्रत्याभूति गरेको थियो । आन्दोलनका संयोजक नवराज सुवेदीले सबैले प्रशंसा गरेको २०४७ सालको संविधानको परिमार्जन नै अहिलेको आवश्यकता भएको बताए । उनले भने, ‘केवल वर्तमान संविधानमा सानातिना फेरबदल गरेर संभव नै छैन । २०४७ को संविधानलाई आधार मानेर २०७२ को संविधानका सकारात्मक प्रावधानहरुलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस् भन्ने हामी चाहान्छौं ।’
यदि २०४७ को संविधानका विषयलाई पुर्नताजतिक नगर्ने हो भने नेपालको अवस्था झन बिग्रने सुवेदीले दाबी गरे । ‘अन्यथा यो गौरवशाली इतिहास बोकेको देश बदलिँदो विश्व भूराजनीति तथा बिग्रँदो आन्तरिक परिस्थितिमाझ अस्तित्वको संकटतर्फ उन्मूख हुने खतरा बढेर जानेछ,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनेका छन्।
पत्रकार सम्मेलनमार्फत् राजसंस्था पुनःस्थापना पक्षधरहरुले प्रसाईंलाई जनकमाण्डर घोषित गरेको हो । महत्वपूर्ण चाडबाडको बेला भइरहेको प्रदर्शनले स्वतन्त्र नागरिक समाज भने खिन्न छन् । चैत १५ मा काठमाडौँले ‘पाहां चह्रे जात्रा’ मनाउँदै छ । पाहां चह्रे काठमाडौँवासीका लागि उत्सव जतिकै हो । भक्तपुरमा बिस्का जात्रालाई जस्तै काठमाडौँमा पाहां चह्रे जात्रालाई महत्व दिइन्छ ।
काठमाडौंवासी जात्राको उमंगमा हुँदा शुक्रबार राजसंस्थावादी र समाजवादीले सडकमा शक्ति प्रदर्शन गरिहेका हुन्छन् । २००७ देखि २०६२/६३ सम्मको आन्दोलनलाई गहिरिएर हेर्ने हो भने काठमाडौँवासीले साथ नदिए सम्म सफल भएको इतिहास छैन ।
काठमाडौँको उत्सवका दिन पाहां चह्रेमा ‘संयुक्त जनआन्दोलन’ नाम दिएर प्रदर्शन थालनी गरेको राजसंस्थावादी समूहले अर्को दिन घोडेजात्रामा भने प्रदर्शन नगर्ने भएको छ। पाहां चह्रे मनाइएको अर्को दिन घोडे जात्रा मनाइन गरेको राजावादीले पनि बिर्सेका छन् । तर घोडे जात्रा भन्दा पाहां चह्रेको इतिहास पुरानो छ ।
पाहां चह्रे पर्व हरेक वर्षको चैतको चतुर्दशीका दिन मनाइन्छ । यो पर्व काठमाडौँका नेवारहरूले वर्षभरि मनाउने चाडहरूमध्ये ठूलो हो । पाहां चह्रे भन्नाले लुकमाःद्य (लुकेको महादेवलाई) पूजा गरी मनाइने पर्व हो । लुकमाःद्य भनेको क्षेत्रपाल हुन् । आ–आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् ।
राजावादी र गणतन्त्रवादीको प्रदर्शनले राष्ट्रपति पनि तनावमा छन् । कमै बोल्ने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगत बगाएर ल्याएको उपलब्धि भएको बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि पुगेका राष्ट्रपति पौडेलले अहिलेको व्यवस्थामा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई नै रहेको बताए ।
पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने पनि बताए । राष्ट्रपति पौडेलले भने, ‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।’
नागरिक स्वतन्त्रता र शासन प्रणालीमा सुधार समयको माग र जनताको चाहना दुवै भएको बताउँदै राष्ट्रपतिले जनताले बनाएको संविधानविपरीतका निरंकुशता र अराजकता पनि जनतालाइ स्वीकार्य नहुने बताए । ‘इतिहास साक्षी छ, १०४ वर्षीय जहानियाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र, नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन्,’ पौडेलले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ । यो हजारौँको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।’
राष्ट्रपति पौडेलले तत्कालीन राजा महेन्द्र र पछि वीरेन्द्रले नेतृत्व गरेको पञ्चायतले विरोध गर्नेहरूको ज्यान लिने गरेको भन्दै अहिलेको व्यवस्था त्यसअघिदेखिका सहिदको बलिदानबाट आएको बताए । सरकारको निरंकुशताको विरोध गर्नेहरूलाई टिम्मुरबोटेमा ओढारभित्रै थुनेर दर्जनभन्दा बढीको हत्या भएको भन्दै त्यस्ता क्रूर शासकहरूले फेरि त्यस्तै व्यवस्थाका पक्षमा अहिले वकालत गरिरहेको उनको भनाइ थियो । उनले एकै ठाउँमा आमहत्या गरेको टिम्मुरबोटे नजिकै रहेको भन्दै उक्त ठाउँको स्मरण गर्दा पनि भावविह्वल हुने बताएका थिए ।
सभामुख हुँदा पैदल यात्रा गर्दै यस ठाँउमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको उनले स्मरण गरे । उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्मुरबोटेको ओढारमा रुझ्दै र भिज्दै पुगेको बताए । २०३१ सालमा सुरक्षाकर्मीले घेरा हालेर ओढारभित्रै दर्जनभन्दा बढी मुक्ति सेनाको ज्यान लिएको घटना ‘टिम्मुरबोटे काण्ड’का रूपमा चर्चित छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares