६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

‘राजा फर्काउँछौँ’

जितेन्द्र साह
१२ चैत २०८१, मङ्गलबार

Advertisement

विराटनगर–  नेपालमा राजसंस्थाको पुनर्स्थापना गर्ने उद्देश्य राख्ने विभिन्न शक्ति, दल तथा समूहहरू अहिले राजनीतिक रूपमा सक्रिय देखिन्छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसमा दिएको अभिव्यक्तिले यस विषयलाई थप पेचिलो बनाएको छ । उनले ‘अब बेला भयो’ भन्दै गणतन्त्रपछिको अवस्थाप्रति असन्तोष प्रकट गरेपछि राजसंस्थाका पक्षधरहरू थप उत्साहित भएका छन् ।

यतिबेला पूर्वराजा एकपछि अर्को धार्मिक गतिविधिमा संलग्न भइरहेका छन् । उनी मठ–मन्दिर धाउने, हिन्दू धर्मका प्रवर्तकहरूसँग भेटघाट गर्ने तथा विभिन्न समूहसँग परामर्श गरिरहेका छन् । यसले उनको मौन भूमिकालाई केही हदसम्म सक्रियतामा परिणत गराएको देखिन्छ ।

यसै सन्दर्भमा नेपालका प्रमुख राजावादी घटकहरू पनि सडकमै उत्रिएका छन् । उनीहरू गणतन्त्र असफल भएको दाबी गर्दै पुनः राजसंस्था स्थापित गर्नुपर्ने माग अघि सारिरहेका छन् । तर ‘राजा फर्काउँछौँ’ भन्ने यी दल तथा घटकहरू आपसमा भने गहिरो विभाजनको अवस्थामा छन् ।

नेपालमा हाल प्रमुख तीन राजावादी घटक छन्, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल । यी तीनै घटक राजसंस्थाको पुनस्र्थापनाका लागि प्रतिबद्ध देखिए पनि आपसी समन्वय भने छैन ।

पछिल्लो समय पोखरामा भएको पूर्वराजाको अभिनन्दन समारोहमा तीनवटै पक्षको उपस्थिति देखिए पनि त्यसको केही समयपछि नै उनीहरूबीच आरोप–प्रत्यारोप चल्न थाल्यो । दुर्गा प्रसाईंले उक्त कार्यक्रममा लिङ्देन र थापा केवल ‘जस बटुल्न मिसिएको’ आरोप लगाएका थिए ।

राजावादी मोर्चामा खुलेर आएको नयाँ नाम दुर्गा प्रसाईंको हो । माओवादी र एमाले हुँदै राजावादी कित्तामा आइपुगेका उनी अहिले सबैभन्दा आक्रामक राजावादीका रूपमा प्रस्तुत भएका छन् । उनले राप्रपा नेतृत्वलाई कमजोर भन्दै राजसंस्थाप्रति उनीहरूको प्रतिबद्धता नै शङ्कास्पद भएको आरोप लगाउँछन् । लिङ्देन र थापा यसबारे औपचारिक रूपमा टिप्पणी गर्न चाहँदैनन् ।

यता लिङ्देन र थापा भने लामो समयदेखि राजावादी राजनीतिमा संलग्न भए पनि आपसी सम्बन्ध सहज बनाउने पक्षमा देखिएका छैनन् । लिङ्देन र थापा नेतृत्वको दलहरूबीच एकता हुने चर्चा चले पनि, हालसम्म त्यसले मूर्त रूप लिएको छैन । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा लिङ्देन र थापाबीच वार्ता भए पनि त्यसले कुनै ठोस परिणाम निकाल्न सकेन ।

यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाहकै सहमतिमा बनेको भनिएको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ ले राजावादी शक्तिहरूबीचको विभाजनलाई अझ चर्काएको देखिन्छ । यो समिति नवराज सुवेदीको अध्यक्षतामा गठन भएको छ । सुवेदी पूर्व राष्ट्रिय पञ्चायतका अध्यक्ष हुन् जसलाई पूर्वराजाकै विश्वासपात्र मानिन्छ । तर लिङ्देन र थापा नेतृत्वको दलहरूले सुवेदीलाई नेतृत्व मान्न अस्वीकारेका छन् ।

यस घटनाक्रमलाई राजावादी मोर्चामा नै ‘पूर्वराजाले पुराना राजावादी शक्तिहरूलाई बाइपास गर्ने रणनीति अपनाएको’ रूपमा व्याख्या गरिएको छ । सुवेदीको नेतृत्व स्वीकृत नगर्नुको मुख्य कारण भनेकै लिङ्देन–थापा लगायतका नेताहरूले पूर्वराजाबाटै आफूहरूलाई बेवास्ता गरिएको महसुस गर्नु हो ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिसकेको छ । वर्तमान अवस्थामा संविधान संशोधन बिना राजसंस्था पुनस्र्थापना सम्भव देखिँदैन । राजावादी शक्तिहरूको आन्तरिक विभाजनले उनीहरूलाई अझ कमजोर बनाएको छ । वर्तमान अवस्थामा राजसंस्था पुनस्र्थापनाको मुद्दा केवल सडक आन्दोलन वा नारा मात्रै भएर सीमित रहने सम्भावना बढी देखिन्छ ।

पूर्वराजाले संकेतात्मक रूपमा सक्रियता देखाए पनि प्रत्यक्ष रूपमा नेतृत्व लिन हिच्किचाइरहेका छन् । यस्तो अवस्थामा राजावादी शक्तिहरूबीचको एकता बिना कुनै ठोस उपलब्धि हासिल गर्न सम्भव देखिँदैन ।
 

प्रकाशित : १२ चैत २०८१, मङ्गलबार 07:36
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved