विराटनगर– शनिबार वीरगन्जमा दुई समुदायबीचको झडपपछि अनुसन्धानका लागि पक्राउ परेकाहरूको रिहाइको माग गर्दै एक समूहले मंगलबार राति शान्ति सुरक्षामा चुनौती दिँदै प्रदर्शन गरेको छ ।
पर्सा प्रशासनका अनुसार पक्राउ परेकामध्ये एक समुदायका पक्षमा उत्रिएको उक्त समूहले प्रहरीले एकतर्फी कारबाही गरेको आरोप लगाउँदै प्रदर्शन सुरु गरेको हो । प्रहरीले भने दुवै समुदायका दोषीहरूलाई प्रमाणको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको स्पष्ट पारेको छ ।
मंगलबार बेलुका प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारी समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । त्यसपछि प्रदर्शनकारीहरूले ‘जय श्रीराम’ नारासहित सहरका विभिन्न भागमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।प्रदर्शनको क्रममा समाचार संकलनका लागि पुगेका पत्रकार अर्जुन गुप्ता र अनिल मिश्र झडपमा परी घाइते भएका छन् । पत्रकार गुप्ताको टाउको फुटेको छ भने मिश्रको खुट्टामा चोट लागेको छ । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोषी देखिएकाहरूलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरिएको प्रष्ट पार्दै शान्ति सुरक्षामा खलल पु¥याउने प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले भने, ‘कानुन हातमा लिएर समाजमा हिंसा र अशान्ति फैलाउने जो–कोहीलाई कारबाही हुन्छ । समुदायको नाममा विभाजन ल्याउने र दोषीको पक्षमा दबाब सिर्जना गर्ने प्रयास स्वीकार्य छैन ।’
शनिबारको घटनापछि आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको थियो । सहमति अनुसार वैशाख ३ भित्र घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीका लागि पक्राउ गर्ने निर्णय गरिएको थियो ।
बैठकमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने, कानुनी प्रक्रिया अवलम्बन गर्ने र शान्ति सुरक्षामा सहयोग गर्ने सहमति भएको थियो । सहमतिपत्रमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू तथा हिन्दू र मुस्लिम समुदायका अगुवाहरूको हस्ताक्षर थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार अनुसन्धानको क्रममा दुवै पक्षबाट दोषी देखिएकाहरूलाई प्रमाणका आधारमा नियन्त्रणमा लिइएको हो । ‘प्रशासनको निर्देशनअनुसार प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ । कसैसँग पक्षपाती व्यवहार गरिएको छैन,’ उनले स्पष्ट पार्दै भने ।
शनिबार हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा भएको झडपपछि स्थिति तनावग्रस्त बनेको हो । मंगलबार प्रहरीले त्यस घटनामा संलग्न रहेको आरोपमा तीन जना हिन्दू युवालाई नियन्त्रणमा लिएपछि पुनः तनाव सिर्जना भएको हो ।
पक्राउ परेकालाई बिना सर्त रिहा गर्न माग गर्दै हिन्दूवादी समूहहरू सडकमा उत्रिएका थिए । साँझ साढे सात बजे हिन्दूवादी संघ–संस्थाका अगुवाहरूले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडि धर्ना बस्न खोजेपछि प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको थियो । त्यसपछि समूहले घण्टाघर, घडिहर्वा चोक लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए ।
शनिबारको झडपपछि आइतबार जिल्ला प्रशासनमा भएको सर्वपक्षीय सहमतिलाई २४ घण्टा पनि नबित्दै मंगलबार बेलुकी पुनः तनाव सिर्जना भएको हो । आइतबारको बैठकमा दोषीलाई कानुनी प्रक्रियामा ल्याउने र कसैले त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । वीरगन्जको घण्टाघरबाट शनिबार सुरु भएको शोभायात्रा छपकैयामा पुग्दा दुई समुदायबीच झडप भएको थियो । घटनामा २५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीले १४५ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाई फायर गर्नुपरेको थियो । त्यसै दिन साँझ साढे सात बजेदेखि आइतबार राति १२ बजेसम्म वीरगन्जमा कफ्र्युसमेत लगाइएको थियो ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares