३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

युक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट

द नेप्लिज संवाददाता
३० चैत २०८१, शनिबार

Advertisement

मस्को (बीबीसी)–  संयुक्त राज्य अमेरिकाका विशेष दूत स्टिभ विटकोफ शुक्रबार सेंट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । यता राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धबारे ‘रुसले तुरुन्त अघि बढ्नुपर्छ’ भन्दै पुटिनलाई युद्धविरामका लागि दबाब दिएका छन् ।

क्रेमलिनका अनुसार यो भेट करिब चार घण्टा लामो भयो । युक्रेन सम्बन्धी समाधानका पक्षहरूमा केन्द्रित रह्यो । यो वर्षभित्र पुटिनसँग विटकोफको तेस्रो भेट हो । क्रेमलिनका विशेष दूत किरिल दिमित्रिएभले यो छलफललाई ‘उत्पादक’ भनेका छन् ।

ट्रम्पले युद्धबारे पुटिनसँग असन्तुष्टि जनाउँदै शुक्रबार सामाजिक सञ्जालमा लेखे, ‘रुसले अब अघि बढ्नैपर्छ । यत्रो मान्छे मरेका छन्, हप्तामा हजारौं, एक डरलाग्दो र निरर्थक युद्धमा ।’  भेट वार्ता हुँदै गर्दा युरोपेली मुलुकहरूले युक्रेनलाई २१ अर्ब युरो (२४ अर्ब डलर) सैन्य सहायता दिने निर्णय गरेका छन् । युरोपका रक्षामन्त्रीहरूले युद्ध अन्त्यको कुनै संकेत नदेखिएको बताएका छन् ।

पुटिन–विडकोफ वार्ताअघि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘उल्लेखनीय प्रगति अपेक्षा गर्न जरुरी छैन’ भन्दै ‘सामान्यीकरण प्रक्रियामा चर्चा भइरहेको’ बताएका थिए । पुटिन र ट्रम्पबीच सम्भावित भेटबारे प्रश्न गर्दा पेस्कोभले भने, ‘हेर्ने पर्छ । विटकोफ के लिएर आएका छन्, त्यसमा भर पर्छ ।’ वार्ताअघि विटकोफले सेंट पिटर्सबर्गको ग्रान्ड होटल युरोपमा आयोजित सम्मेलनमा किरिल दिमित्रिएभसँग भेटेका थिए जहाँ स्टेनलेस स्टील र रुसी बजारसम्बन्धी छलफल भएको थियो ।

दिमित्रिएभ जो रुसको सार्वभौम लगानी कोषका प्रमुख हुन्, गत साता अमेरिका भ्रमण गरेका थिए । युक्रेनमा २०२२ को पूर्ण आक्रमणपछि अमेरिकामा गएका उच्चपदस्थ रुसी अधिकारी उनी पहिलो हुन् । यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफ्नै सहर क्रिभी रिहको एक रुसी क्षेप्यास्त्र आक्रमणस्थलको भ्रमण गर्दै क्रेमलिनले जानाजानी युद्ध लम्ब्याउने आरोप लगाए । ४ अप्रिलको उक्त आक्रमणमा ९ बालबालिकासहित १९ जनाको ज्यान गएको थियो ।

जेलेन्स्कीले रुसको पक्षमा सयौँ चिनियाँ नागरिक लडिरहेको दाबी गरे । युक्रेनले दुई चिनियाँ नागरिक पक्राउ गरेपछि उनले भने, ‘हाम्रासँग प्रमाण छ कि सयौँ चिनियाँ नागरिक रुसको कब्जा फौजमा लडिरहेका छन् । यसको अर्थ रुसले युद्ध लम्ब्याउनका लागि अब चिनियाँहरूलाई समेत प्रयोग गरिरहेको छ ।’

उनले ९ वर्षीय हर्मन त्रिपोलेत्स र ७ वर्षीया अरीना सामोडिना तथा राडिस्लाव याट्स्कोको तस्वीरअगाडि फूल अर्पण गरे । पछि उनले पुनः युक्रेनका शहर र जनताको रक्षा गर्न हवाई रक्षा प्रणालीको माग गरे । ‘योबारे राष्ट्रपति ट्रम्पसँग पनि छलफल भएको छ, युक्रेन माग मात्र गरिरहेको छैन, हामी यस्तो प्रणाली किन्न तयार छौं,’ उनले सामाजिक सञ्जालमा लेखे ।
 

प्रकाशित : ३० चैत २०८१, शनिबार 07:52
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved