विराटनगर- देशको प्रधानमन्त्री केपी शर्मा ओली छन् । तर सरकार भने कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ दरबारबाट चल्छ । अझ खुलाएरभन्दा सुरक्षा निकायमा हुने सरुवा-बढुवा सबन्धी महत्त्वपूर्ण निर्णय उक्त दरबारकै प्रतिनिधिहरुले लिन्छन् ।
बढुवा सिफारिस भएका कुँवर नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज भानु देउवाका बहिनी ज्वाईं हुन् ।
यसको ताजा उदाहरण हो, सशस्त्र प्रहरी बलको डीआईजीमा जुनियरलाई बढुवाको सिफारिस । उक्त प्रहरी बलका डीआईजीद्वय अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण गत १६ भदौमा अनिवार्य अवकाशमा गए । त्यसपछि डीआईजीमा प्रियजनलाई ल्याउने जुन चलखेल भयो, त्यो अनौठो छ ।
उनीहरू अवकाशमा गएसँगै दुई डीआईजीको पद रिक्त भए पनि गृह मन्त्रालय मौन बस्यो । डीआईजी बढुवा सम्बन्धी अधिकार गृहलाई भएको सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख छ । नियमावलीको दफा ३९ मा बढुवा समितिमा गृहसचिवको अध्यक्षतामा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्यसचिव रहने प्रावधान छ । तर यो समितिले जानीनजानी सशस्त्रमा डीआईजी पद रिक्त भएको ६ महिनासम्म यस बारेमा बोलेन ।
तीन महिनासम्म बढुवा नगरी होल्ड गर्नु सर्वोच्च अदालतको आदेशको बर्खिलाप थियो । चार महिनासम्म पद खाली राखेर बढुवा गरी अवकाशमा पठाइएको भन्दै एसएसपी यादवराज खनालले ९ जेठ २०७४ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिटको फैसलामा २०७५ जेठमा सर्वोच्चले पद रिक्त रहेको तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने भन्दै सरकारलाई निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतको यो निर्देशनको अवज्ञा गर्दै अहिले आएर वरीयताको ख्यालै नराखी बढुवा सिफारिस गरिएको छ । ६ महिनापछि बढुवा गर्नुको पछाडि भने रिक्त संख्या बढी बनाएर आफू निकटकालाई बढुवा गर्नु थियो । लामो समय बढुवा रोकेर राखेपछि २९ माघको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले डीआईजी बढुवा रोकिएकोबारे कुरा उठाएका थिए ।
‘सर्वोच्चले कुनै प्रहरीको पद रिक्त रहेको ३ महिनाभित्र बढुवा सिफारिस गरिसक्नु भनेको थियो । तर सशस्त्र प्रहरीमा डीआईजीको पद खाली भएको साढे ५ महिना भइसक्यो, कुन ज्वाईंनारायणलाई प्रहरी प्रमुख बनाउन यो गरिँदै छ ?’ झाले तिखो सवाल गरेका थिए । यसको केही दिनमै सशस्त्र हेडक्वार्टरले बढुवाका लागि सूचना निकाल्यो । बिहीबार मात्रै बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस समितिका सदस्यसचिव एआईजी वंशीराज दाहालको हस्ताक्षरमा बिहीबार सूचना निकाल्दै पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दिपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्टलाई डीआईजीका लागि सिफारिस गरिएको छ । उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने प्रावधान छ । त्यसपछि बढुवा निश्चित भएर उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिन्छ । यो ताजा सिफारिसमा वरीयता मिच्दै जुनियरलाई बढुवा गरिएको छ भने सिनियरलाई छुटाइएको छ ।
बढुवाका लागि सशस्त्र प्रहरीकै पहिलो ब्याच सि.सं. १ का टोली र त्यो भन्दा अघिल्लो टोलीका प्रतिस्पर्धामा थिए । सि.सं. १ को टोलीबाट यसअघि नै सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी डीआईजी भइसकेका थिए । तर उनीहरूकै ब्याचका चार जना एसएसपी नै रहे ।
एसएसपी वरीयताको सूचीअनुसार पहिलो नम्बरमा कृष्णराज पाठक, दोस्रो नम्बरमा कृष्ण ढकाल, तेस्रो नम्बरमा मनीष थापा, चौथो नम्बरमा विनोदराज श्रेष्ठ, पाँचौ नम्बरमा प्रकाश थापा, छैटौं नम्बरमा प्रवीण कँडेल, सातौं नम्बरमा दिपेन्द्र कुँवर र आठौं नम्बरमा विष्णुप्रसाद भट्ट थिए । सातौं नम्बरका कुँवर र आठौं नम्बरका भट्ट बढुवा हुँदा उनीहरूभन्दा सिनियरहरू भने बढुवामा छुटेका छन् ।
सशस्त्रमा डीआईजी बढुवा हुन अनिवार्य रूपमा स्टाफ कलेज पास हुनुपर्ने नियम छ । पहिलो नम्बरमा रहँदा पनि बढुवामा छुटेका पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएर प्रहरीमा आएका हुन् । तर आर्मी र प्रहरीबाट स्थानान्तरण भएर आएकाहरूलाई भने स्टाफ कलेज पास गर्नुपर्ने प्रावधान सशस्त्रमा छैन । यसले गर्दा उनी बढुवाका लागि योग्य हुँदाहुदै पनि छुटे । उनी तस्रो पटक बढुवामा परेनन् । दोस्रो नम्बरका ढकाल पहिलो नम्बरमा बढुवा सिफारिस हुँदा तेस्रो नम्बरका थापा भने बढुवा सूचीमा छैनन् । थापा सि.सं. १ ब्याचकै स्टाफ कलेज उत्तीर्ण अधिकृत हुन् । उनी व्यावसायिक र राम्रो कार्यसम्पादनका लागि चिनिन्छन् ।
पाठकसँगै सि.सं. १ कै स्टाफ कजेल पास गरेका थापा छुट्दा सि.सं. २ का कुँवर र भट्ट भने शक्तिकेन्द्रको पहुँचका आधारमा बढुवा भएका छन् । कुँवर र भट्टभन्दा अघि अर्का अधिकृत प्रवीण कँडेल पनि थिए । उनी पनि प्रहरीबाट स्थानान्तरण भएर आएकाले उनलाई पनि बढुवाका लागि स्टाफ कजेल गर्नुपर्ने अवस्था थिएन । उनी पनि बढुवामा छुटेका छन् । सि.सं. १ कै ब्याचका विनोदराज श्रेष्ठ र प्रकाश थापा भने स्टाफ कलेजमा फेल भएकाले उनीहरू बढुवाका लागि योग्य थिएनन् ।
पहिलो नम्बरका पाठक, तेस्रो नम्बरका थापा र छैटौं नम्बरका कँडेललाई छुटाएर शक्तिकेन्द्रको पहुँचका आधारमा कुँवर र भट्टलाई बढुवा सिफारिस गरिएको छ । बढुवामा छुटेका उनीहरू कुनै कारबाहीमा परेर बढुवा रोकिएकाहरू होइनन् । बढुवा सिफारिस भएका कुँवर कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज भानु देउवाका बहिनी ज्वाईं हुन् ।
सांसद झाले लगाएको आरोपलाई यो बढुवाले जोडदार पुष्टि गरेको छ । कुँवर र भट्ट अघिल्लो ब्याचलाई समेत उछिनेर बढुवा भएका हुन् । यसअघि कुँवरलाई बढुवा गर्नका लागि सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो । सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीमा चार वर्ष सेवा गरेपछि मात्र एसएसपीमा बढुवा हुनसक्ने प्रावधान थियो ।
कुनै एसपीले चार वर्ष सेवा नगरेको अवस्थामा एसएसपी पद रिक्त हुँदा कायममुकायम एसएसपीको दर्जा दिएर काम गर्न व्यवस्था नियमावलीले गरेको थियो । नियमावली संशोधन गरेकै दिन २३ असारमा सूचना निकालेर कुँवरलाई एसएसपी बढुवा लागि सिफारिस गरिएको थियो । ११औं नम्बरमा रहेका कुँवर बढुवा भएपछि आफ्नो ब्याचको पहिलो नम्बरमा पुगेका थिए ।
अहिले उनै कुँवरले सि.सं. १ को टोलीलाई समेत उछिनेर डीआईजी बढुवा भएका छन् । २०५९ चैत ७ मा इन्स्पेक्टरको भर्ना हुँदा ७४ जनाको अन्तिमतिर रहेका उनी अहिले शक्तिकेन्द्रमा पहुँचले आफ्नो ब्याचको पहिलो नम्बरमा रहँदै सिनियरलाई समेत उछिनेका छन् । यसअघि कुँवरलाई नै स्टाफ कलेज पास गराउन समेत चलखेल गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयले लिने स्टाफ कलेजको प्रवेश परीक्षामै कुँवर दुई पटक अनुत्तीर्ण भएका थिए । त्यसपछि बिना प्रतिस्पर्धा नेपाली सेनाको स्टाफ कलेज कोर्सका लागि सहभागी गराइएको थियो । तीन पटकसम्म पनि असफल भए फेरि परीक्षा दिन नपाइने भएपछि प्रवेश परीक्षा नै नलिइ सोझै सेनाको कलेजका लागि छनोट गरिएको थियो ।
कुँवरसँगै बढुवा भएका सि.सं. २ का भट्ट यसअघि एसपीसम्म पहिलो नम्बरमा बढुवा भएका थिए । एसएसपीमा भने कुँवरले उनलाई समेत उछिनेर बढुवा भएका थिए । नुवाकोटका भट्ट पनि अहिले शक्तिकेन्द्रकै पहुँचमा बढुवा हुन सफल भएका छन् । शक्तिकेन्द्रको पहुँचमा हुने यस्ता अपारदर्शी बढुवाले सुरक्षाकर्मी र सिंगो संगठनलाई हानि गर्ने सशस्त्रका एक पूर्वउच्च अधिकृत बताउँछन् । ‘यस्तो प्रवृतिले कामभन्दा पनि रिझाएर बढुवा हुने प्रवृतिले ठाउँ पाउँछ’ उनी भन्छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares