४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

पूर्वाञ्चल विश्वविद्यालयमा बढुवा विवाद

पदावधी सकिने बेला सेवा आयोगको नियमविपरित शिक्षक प्राध्यापकको पदोन्नतिमा नेविसंघको अबरोध

द नेप्लिज संवाददाता
२७ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले पदावधी सकिनै लागेको बेला नियमविपरित शिक्षक प्राध्यापकको पदोन्नति गर्न खोज्दा नेपाल विद्यार्थी संघ(नेविसंघ)ले कानूनीसँगै सेवा आयोगमा तालाबन्दी गर्दै अबरोध गरेको छ । नेविसंघले गरेको तालाबन्दीले बढुवा प्रक्रिया रोकिएको विरोधमा विश्वविद्यालयका शिक्षक प्राध्यापकहरुले पनि पठन पाठन ठप्प गरेर आन्दोलनविरुद्ध आन्दोलनमा उत्रेका छन् । नेविसंघको आन्दोलनविरुद्ध शिक्षक प्राध्यापक आन्दोलनमा उत्रेपछि विश्वविद्यालयको पठन पाठन ठप्प हुँदा विद्यार्थीहरु पढाइबाट बञ्चित भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले अनियमित तवरले शिक्षक तथा कर्मचारीहरुको बढुवा गरेर विश्वविद्यालयमा आर्थिक भार बढाउन लागेको भन्दै नेविसंघले तालाबन्दी गरेको हो । 

यसैबीच, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझीले विश्वविद्यालयका कर्मचारी र प्राध्यापक संघले सहमति गरेर समस्या समाधान गर्ने पार्टीसँग गरेको छलफल अनुसार विद्यार्थीहरुलाई तालाबन्दी खुलाउन लिखित निर्देशन दिएको बताएका छन् । ‘चार जना नेविसंघका केन्द्रीय सदस्य मिलेर विश्वविद्यालयमा तालाबन्दी गर्न मिल्छ ?,’ उनले भने, ‘यहाँ २२ जना केन्द्रीय सदस्य रहेको र सबैले तालाबन्दी गर्दै हिड्न मिल्छ ? त्यसका लागि पार्टीसँग समन्वय गर्नु पर्दैन ? त्यसको जवाफ त पार्टीले पनि दिनुपर्छ नि ?’ 

नेविसंघका केन्द्रीय सदस्यहरु दिपेन रौनियार, सविन पराजुली, अंकित भट्टराई र अभिषेक भट्टराईले केन्द्रीय कार्यसमितिको लेटरप्याड प्रयोग गरेर विज्ञाप्ती जारी गर्दै तालाबन्दी गरेको हो । भट्टराईद्वयले मंगलबार पत्रकार सम्मेलन गरी आफूहरुको माग जायज भएकोले पार्टीले दिएको निर्देशन मान्न नसकिने प्रष्ट पारे । 

उनीहरुले विश्वविद्यालयको पाँचौँ सभाले गरेको निर्णय अनुसार सेवा आयोगले शिक्षक प्राध्यापकको पदोन्नतिका लागि विज्ञापन खुलाएको तर विश्वविद्यालयको ३५ औँ सभाले पाँचौँ सभाको निर्णयलाई संशोधन गरिसकेको बताए । ‘३५ औँ सभाको निर्णय अनुसार कार्यकारी परिषदले शिक्षक छनौट तथा पदोन्नति प्रक्रिया एवं कार्यप्रणाली बनाउनका लागि एक विज्ञ समिति गठन गरेको र त्यसले दिएको प्रतिवेदनमाथि कुनै सुनुवाई नगरी विज्ञापन खुलाएको छ,’ उनीहरुले भने, ‘३५ औँ सभाले गरेको निर्णय अनुसार उपप्राध्यापक पदमा शतप्रतिशत खुल्ला विज्ञापन गरी छनोट गर्नुपर्ने व्यवस्था विपरित सेवा आयोगले आन्तरिक बढुवा गरेर पदपूर्ति गर्न लागेकाले आन्दोलनमा उत्रिन बाध्य भएका छौं ।’

आयोगले गरेको विज्ञापनविरुद्धमा आफूहरुले उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गरेपछि सेवा आयोगले तत्काल छिटो छिटो प्रक्रिया अघि बढाएर शिक्षक प्रध्यापकहरुको पदोन्नति गर्न खोजेपछि तालाबन्दी गर्न बाध्य भएको बताए । विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरुको पदावधी आउँदो चैत २१ गते सकिदै गरेको अवस्थामा धमाधम व्ययभार बढाउने प्रक्रिया सुरु गरेको उनीहरुको आरोप छ । विद्यार्थीहरुले सेवा आयोगका अध्यक्षले पदावधी समाप्त हुनुभन्दा तीन महिना अगावै घर विदामा बस्ने परम्परासमेत तोडेर शिक्षक पदाधिकारीको पदोन्नति गर्न लागेको आरोप लगाए । 


विश्वविद्यालय सेवा आयोगले सुरुमा १५ जना शिक्षक प्राध्यापकको आन्तरिक बढुवा गर्ने तयारी गरेको थियो । त्यसमा धेरै शिक्षक प्राध्यापकहरुको बढुवा नहुने देखेपछि प्राध्यापकहरुले दवाव बढाएर ५१ जनाको आन्तरिक बढुवा गराउन लागेकाले विद्यार्थीहरु सेवा आयोगमा तालावन्दी गरेर आन्दोलनमा उत्रिन बाध्य भएको विश्वविद्यालयका एक प्राध्यापकले बताए । उनले विश्वविद्यालयमा कार्यरत अधिकांश शिक्षक प्राध्यापकको एकैपटकमा बढुवा गर्दा आर्थिक भार बढ्नु स्वभाविक भएको स्विकारे । 

यता, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति यज्ञप्रसाद जमरकट्टेलले विज्ञप्ती जारी गरी कर्मचारीहरुको आन्तरिक बढुवा भइसकेको अवस्थामा शिक्षक प्राध्यापकको बढुवा प्रक्रिया अन्तरवार्ता हुने समयमा तालाबन्दी गरेर रोक्ने कार्यप्रति आपत्ति जनाउँदै पठान पाठन ठप्प पारेको छ । सेवा आयोगले शिक्षक प्राध्यापकहरुको आन्तरिक बढुवाका लागि फाल्गुन १८ गतेदेखि २२ गतेसम्म अन्तरवार्ता तालिका सार्वजनिक गरेको थियो । तर नेविसंघले फाल्गुन १७ गते नै सेवा आयोगको कार्यालयमा तालावन्दी गरिदिएपछि उनीहरुको बढुवा प्रक्रिया अवरुद्ध भएको हो । 

सभापति जमरकट्टेलले यो विश्वविद्यालयमा जहिले पनि शिक्षक प्राध्इापकको विषय आउँदा विवाद गरेर अवरुद्ध पार्ने काम भइरहेको गुनासो पोखे । उनले २०÷२२ वर्षदेखि कार्यरत शिक्षक प्राध्यापकहरुलगायत मध्ये अहिले अवकाश भएर जान दुई महिना मात्रै बाँकी रहेको अवस्थामा बढुवाको प्रक्रिया अगाडि बढेको बेला अचानक विद्यार्थीहरुले तााबन्दी गर्नु निकै आपत्तिजनक विषय भएको गुनासो पोखे । नेविसंघको केन्द्रीय कार्यालयको लेटरप्याडमा चार जना केन्द्रीय सदस्यको मात्रै हस्ताक्षरित विज्ञप्ती निकालेर तालाबन्दी गर्नुलाई के भन्ने पनि प्रश्न रहेको सभापति जमरकट्टेलको भनाइ थियो ।  

सेवा आयोगले कार्यसम्पादन मूल्यांकनका आधाारमा कर्मचारीहरुको यसअघि नै बढुवा गरिसकेको छ भने अन्य कर्मचारीहरुको आन्तरिक बढुवाका लागि फाल्गुन २८ गतेबाट परीक्षा तालिका सार्वजनिक गरेको छ । नेविसंघले विश्वविद्यालयको शैक्षिक वातावरण दिन प्रतिदिन खस्किदै जाने, विद्यार्थी वर्षेनी कम हुने तर शिक्षक, प्राध्यापक र कर्मचारीको सेवा सुविधा सधैं बढाउँदै लग्दा विश्वविद्यालय नै बन्द हुने स्थिति सृजना भएकोले नीतिसम्मत ढंगले सबै प्रक्रिया अघि बढाउन तालाबन्दी गरिएको जनाएको छ । 

प्रकाशित : २७ फागुन २०८१, मङ्गलबार 10:40
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved