विराटनगर– हेवीवेट बक्सिङका लिजेन्ड जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ भन्ने खबर उनको परिवारले पुष्टि गरेको छ ।
रिङमा ‘बिग जर्ज’ भनेर चिनिने अमेरिकी बक्सरले खेलमा असाधारण र दीर्घकालीन करिअर बनाएका थिए । उनले १९६८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । २१ वर्षको अन्तरालमा दुई पटक विश्व हेवीवेट उपाधि जितेका थिए । दोस्रो पटकको जितले उनलाई ४५ वर्षको उमेरमा इतिहासकै सबैभन्दा जेष्ठ हेवीवेट च्याम्पियन बनायो ।
१९७४ मा प्रसिद्ध ‘रम्बल इन द जंगल’ भिडन्तमा उनले आफ्नो पहिलो उपाधि मुहम्मद अलीसँग गुमाएका थिए । तर फोरम्यानको बक्सिङ करिअर निकै प्रभावशाली रह्यो । उनले कुल ७६ खेल जिते, जसमध्ये ६८ खेल नकआउटमार्फत जितेका थिए, जुन अलीको भन्दा दोब्बर हो ।
फोरम्यानले १९९७ मा बक्सिङबाट सन्यास लिए । त्यसपछि उनले आफ्नै नाममा रहेको ग्रिलको व्यवसायबाट ठूलो लोकप्रियता र सम्पत्ति कमाए । उनको परिवारले शुक्रबार राति इन्स्टाग्राममा लेखेको छ, '‘हाम्रो मन टुटेको छ ।’
परिवारको भनाइमा, ‘उनी एक कट्टर धार्मिक उपदेशक, समर्पित पति, मायालु पिता, र गर्विला हजुरबुबा थिए । उनको जीवन दृढ आस्था, विनम्रता र उद्देश्यले भरिएको थियो ।’
परिवारले भनेको छ, ‘मानवतावादी, ओलम्पियन, र दुई पटकका हेवीवेट च्याम्पियन, उनी एक अनुशासित, निष्ठावान् व्यक्ति थिए । आफ्नो नाम र विरासतको रक्षा गर्न उनले सदैव संघर्ष गरे । ’
कठिन संघर्षदेखि बक्सिङ च्याम्पियनसम्म
जर्ज फोरम्यानको जन्म १० जनवरी १९४९ मा मार्शल, टेक्सासमा भएको थियो । उनी एकल आमाको सन्तानका रूपमा छ जना दाजुभाइसँग विभाजित अमेरिकी दक्षिणमा हुर्किएका थिए । सानै उमेरमा उनले स्कुल छोडे । सडकमा डकैती गर्न थाले । तर पछि उनी बक्सिङतर्फ आकर्षित भए ।
१९६८ मा मेक्सिको सिटीमा १९ वर्षको उमेरमा उनले ओलम्पिक स्वर्ण जिते । त्यसपछि उनले प्रोफेशनल बक्सिङ सुरु गरे । लगातार ३७ खेल जिते । १९७३ मा उनले त्यसबेलाका अपराजित च्याम्पियन जो फ्रेजरलाई जमैकाको किंग्सटनमा पराजित गर्दै हेवीवेट उपाधि जिते । उनले पहिलो दुई राउन्डमै फ्रेजरलाई छ पटक ढालेर जितेका थिए ।
ऐतिहासिक ’रम्बल इन द जंगल’
१९७४ मा कंगोको किन्शासामा भएको ऐतिहासिक खेलमा फोरम्यानले मुहम्मद अलीसँग भिडे । अली त्यस खेलमा कमजोर मानिएका थिए किनभने उनलाई सात वर्षअघि भियतनाम युद्धमा सामेल हुन अस्वीकार गरेपछि उपाधिबाट वञ्चित गरिएको थियो । त्यो खेलबारे ५० वर्षपछि बीबीसीसँग कुरा गर्दै फोरम्यानले भनेका थिए, ‘सबैले मलाई अलीलाई सजिलै हराउनेछु भनेका थिए ।’ तर अलीले ‘रोप–अ–डोप’ रणनीति अपनाए, जसमा उनले फोरम्यानलाई थकाइदिएर आठौं राउन्डमा नकआउट गरे।
धर्म प्रचार र पुनरागमन
अलीसँग पराजयपछि फोरम्यानले १९७७ मा सन्यास लिए । टेक्सासमा चर्च स्थापना गरी धर्म प्रचार गर्न थाले । उनले बीबीसीसँग भनेका थिए, ‘अलीसँग हार्नु मेरो जीवनको सर्वश्रेष्ठ घटना रह्यो, किनभने त्यसले मलाई आफ्नो सन्देश फैलाउने अवसर दियो ।’
१९८७ मा उनले आफ्नै स्थापना गरेको युथ सेन्टरका लागि रकम जुटाउन पुनः बक्सिङमा फर्कने निर्णय गरे । उनले लगातार २४ खेल जिते तर १९९१ मा इभान्डर होलीफिल्डसँग १२ राउन्डको खेलमा पराजित भए । तर १९९४ मा उनले माइकल मूररलाई नकआउट गर्दै ४५ वर्षको उमेरमा इतिहासकै जेष्ठ हेवीवेट च्याम्पियन बने ।
’जर्ज फोरम्यान ग्रिल’ र व्यक्तिगत जीवन
बक्सिङपछि फोरम्यानको अर्को पहिचान ‘जर्ज फोरम्यान ग्रिल’ भयो । १९९४ मा बजारमा आएको यो ग्रिल करोडौं मानिसहरूले किने, जसमा उनको चर्चित स्लोगन ‘लिन मीन ग्रिलिङ मेशिन’ को ठूलो भूमिका थियो ।
फोरम्यान पाँच पटक विवाह गरेका थिए । उनका १२ सन्तान छन् । उनका पाँच छोरा ‘जर्ज’ नामकै छन् । उनले आफ्नो वेबसाइटमा लेखेका छन्, ‘मैले मेरा छोराहरूलाई एउटै नाम राखें ताकि उनीहरू सधैं एकअर्कासँग जोडिऊन् ।’
फोरम्यान भन्थे, ‘यदि हामीमध्ये एक माथि जान्छ भने सबै जना माथि जान्छौं । यदि एक तल झर्छ भने सबै तल झर्छौं !’
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares