६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

सालक शोधकर्ता कुमार पौडेललाई ७६ लाख रुपैयाँको पुरस्कार

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर - डेढ दशकदेखि  सालकको संरक्षण एवं अनुसन्धानमा समर्पित नेपाली युवक ३३ वर्षीय कुमार पौडेलले ७६ लाख रुपैयाँ धनराशि बराबरको फ्युचर फर नेचर अवार्ड २०२५ पाउने भएका छन्।

नेदरल्यान्ड्सको फ्युचर फर नेचर फाउन्डेसनले पौडेल, एन्थोनी वाडल र रथमेरी पिल्कोलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो। पुरस्कार १६ मे मा नेदरल्यान्ड्समा भव्य समारोहबीच प्रदान गरिनेछ। पुरस्कारको राशी जनही ५० हजार युरो (करिब ७६ लाख नेरु) छ।  

ग्रिनहुडका स्थापक तथा निर्देशक  पौडेलले पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातककोत्तर र क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका छन्। उनी  सालकसहित संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणमा खटेका छन्। पौडेल अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सालक विशेषज्ञ समूह (एसिया)का उपाध्यक्षसमेत हुन्।

३ सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धीमध्येबाट संरक्षण अभियन्ताहरू पौडेलसहित एन्थोनी वाडल र रथमेरी पिल्कोलाई उक्त अवार्डका लागि छनोट भएका हुन् । एन्थोनी अस्ट्रेलिया रथमेरी पेरुमा वातावरण संरक्षण क्षेत्रमा सक्रिय छन् ।

यो अवार्ड अहिलेसम्म ३५ देशका ५४ जनाले पाएका छन् । यसअघि गत वर्ष रिन्जिन फुन्जोक लामा र सन् २०१५ मा मनोज गौतमले उक्त पुरस्कार पाएका थिए । बेलायती अनुसन्धाता गेराल्डिन वेरहानले सन् २०१८ मा नेपालमै गरेको अध्ययनका लागि उक्त अवार्ड पाएकी थिइन् ।

पौडेललाई यो रकमले चाहे अनुसारको क्षेत्रमा काम गर्न थप हौसला प्रदान गर्नेछ ।  उनी नेपालका संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणमा सक्रिय छन् ‌। उनले नेपालमा वन्यजन्तु सिकार र तस्करीमा संलग्न भएकाहरूलाई कारागारमै भेटेर 'कोही किन वन्यजन्तु तस्कर बन्छ ?' भन्ने विषयमा अनुसन्धानसमेत गरेका थिए ।

उनको अनुसन्धानमा सजिलै पैसा कमाउने सोचले उनीहरु तस्करीमा लागेको पाइएको थियो ।  गैरकानुनी कार्य भन्ने जानकारी भए पनि पारिवारिक र सामाजिक रूपले पर्ने असर बारे तस्करहरु अनभिज्ञ रहेको अनुसन्धानमा देखिएको थियो । सन् २०१५ देखि २०१७ सम्म गैंडा, सालक, रेड पान्डा, चितुवा, बाघलगायतका वन्यजन्तुको सिकार र तस्करीमा संलग्न १६५ जनाको उनले अन्तर्वार्ता लिएका थिए ।   यो खोज सन् २०२० मा 'कन्जरभेसन साइन्स एन्ड प्राक्टिस' जर्नलमा प्रकाशितसमेत छ ।

संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणका लागि पौडेलले सन् २०१२ ग्रीनहूड नेपाल संस्था पनि स्थापना गरे । उनी दक्षिण एसिया र एसियामै सालक संरक्षणका लागि चालिएका अभियानमा सक्रिय छन् 

नेपालमा कालो र तामे गरी २ प्रकारका सालक पाइन्छ । दक्षिण र दक्षिणपूर्वी एसियामा थप अन्य २ प्रजातिका सालक छन् । अफ्रिकामा अन्य ४ प्रजातिका सालक पाइन्छन् । पछिल्लो अध्ययनले थप २ प्रजातिका सालक भेटिएको भनिए पनि प्रमाणित भने हुन बाँकी छ । झट्ट हेर्दा उस्तै देखिए पनि तौल, रंग र शरीर ढाक्ने खबटाको आकारका आधारमा भने फरक हुने पौडेलको खोजमा फेला परेको छ ।

सालक नेपालको संरक्षित वन्यजन्तु हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०७३ अनुसार सालक मार्ने, खरिद–बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

सालक विश्वमै सबैभन्दा बढी तस्कर हुने स्तनधारी जनावर हो। साथै कमिला र धमिरा मात्र खाने भएकाले पनि पारिस्थितिक प्रणालीका लागि सालक अति महत्त्वपूर्ण मानिन्छ ।

एउटा सालकले १ वर्षमा ७ करोडभन्दा बढी कमिला र धमिरा खाने वैज्ञानिक अनुमान छ । यसले प्रकृतिमा कमिला र धमिला खाएर पारिस्थितिक उर्बर बनाउन भूमिका खेल्छ ।  चीनमा वैज्ञानिकहरूद्वारा प्रकाशित एक अनुसन्धानले डढेलोपछि वनलाई पुनर्जीवित गर्न सालकले ठूलो भूमिका खेल्ने भनेको छ ।

डढेलोपछि पनि पनि सालकले दुलो खनेर माटोलाई उर्बर बनाउन सहयोग गर्छ जसले गर्दा नयाँ बिरुवा उम्रन सजिलो हुन्छ । जनावरलाई बस्न सजिलो हुन्छ ।

सन् २०२३ को डिसेम्बरमा संखुवासभाको किमाथांका क्षेत्रको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट करिब २०८ किलो सालकको खबटा सहित दुई जना पक्राऊ परेका थिए । उक्त खबटाका लागि लगभग ३५० सालक मारिएको हुन सक्ने पौडेलको अध्ययनमा उल्लेख छ । केही दिनअघि काठमाडौंको माछापोखरीबाट समेत सालकको खबटासहित २ जना पक्राउ परेका थिए ।


सालकको खबटा केराटिन(नङ र कपालमा पाइने तत्व)बाट बन्छ । चीनमा प्राकृतिक औषधि विज्ञानमा सालकको खपेटा प्रयोग हुने गरेकाले संसारभर माग बढेको पौडेलको शोधमा भनिएको छ । 

पौडेल स्वयं अग्रसर भएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र इन्टरपोलसँग मिलेर सालकको अन्तर्राष्ट्रिय तस्करी कसरी कम गर्ने दिशामा केन्द्रित छन् । नेपालमा ५० भन्दा बढी जिल्लामा सालक भेटिएका छन् । खासगरी पाखोबारी, भिरालो जमिन, रातो माटो, कमिला र धमिरा हुने ठाउँ र समुद्री सतहदेखि २५ सय मिटर सम्मको उचाइमा भेटिन्छ  ।

प्रकाशित : २८ फागुन २०८१, बुधबार 08:10
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved