विराटनगर- उपन्यासकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा बिहीबार राति भारतको मरिखाली गुवाहाटीस्थित निवासमा निधन भएको छ ।
क्षेत्रीले नेपाल सरकारबाट जगदम्बाश्री पुरस्कार र भारतीय सरकारबाट पद्मश्री पुरस्कार प्राप्त गरेका थिए । क्षेत्रीले बसाइँ, ब्रम्हपुत्रको छेउछाउ, अतृप्तजस्ता उपन्यास लेखेका छन् । उनले आसाममा नेपाली भाषाको साह्रो-गाह्रोजस्ता चर्चित निबन्धसमेत लेखेका छन् ।
उनको जन्म सन् १९३३ को १ मार्चमा गुवाहाटी टकौबारीमा भएको थियो । १६ वर्षको उमेरमा प्रकाशित पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्यमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’ २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो । यो उपन्यासले उनलाई स्थापित गरायो ।
पछि साझा प्रकाशनबाट प्रकाशन हुन थालेपछि यो कृति सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल भयो । पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ । यस उपन्यासमा आधारित चलचित्र समेत बनेको छ ।
उपन्यासका अतिरिक्त आख्यानको क्षेत्रमा उनका ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’ तथा ‘छरिएको बिस्कुन’ कथा कृतिहरू समेत प्रकाशित छन् ।
उनका ‘दोबाटो’, ‘माग’ तथा ‘शुरुको शुरु’ नाट्य कृतिहरू समेत प्रकाशित छन् । ‘पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत’, ‘झ्याउरे पार्टीमा लाग्दा’, ‘पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’, ‘सिमलको भुवा’, ‘अतीतका ऐनामा विविध झाँकीहरू’ लगायत गैरआख्यान कृतिहरू समेत प्रकाशित छन् ।
उनको हालै सबै उपन्यास एकसाथ ‘समग्र उपन्यास’का रुपमा प्रकाशित भएको थियो । उनले आफ्नो जीवनकालमा नेपाल तथा भारतका प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू प्राप्त गरेका थिए । यसमध्ये मदन स्मारक व्याख्यानमाला सम्मान, वेदनिधि पुरस्कार, अगम स्मृति पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कार, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, जगदम्बाश्री पुरस्कार, बसुन्धराश्री पुरस्कार लगायत छन् ।
क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् ।उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।
‘बसाइँ’ लाई माइकल हट र लारी हार्टसेलले अंग्रेजीमा अनुवाद गरेका छन् । ‘ब्रम्हपूत्रका छेउछाउ’ उपन्यास असमिया, हिन्दी र बंगालीमा अनुदित भइसकेको छ ।
क्षेत्रीलाई चर्चित बनाउने विधा उपन्यास हो । उनको ‘बसाइँ’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृतिमा पर्दछ । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो ।
अर्थशास्त्रमा स्नातकोत्तर र त्यसै विषयका प्राध्यापक भए पनि उनले नेपाली साहित्य सिर्जनामा नै योगदान दिए । आठ कक्षामा पढ्दा सन् १९४९ जनवरी १ मा ‘शिवस्तुति’ शीर्षकको कविता प्रकाशित गरेर साहित्ययात्राको औपचारिक यात्रा आरम्भ गरेका क्षेत्रीले विभिन्न विधामा कलम चलाएका थिए ।
उनका ‘बसाइँ’ (२०१४), ‘अतृप्त’ (२०२६), ‘ब्रह्मपुत्रको छेउछाउ’ (२०४३) र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ (२०६१ उपन्यास) ‘तीन दशक बीस अभिव्यक्ति’ (सन् १९८३) र ‘लीलबहादुर क्षेत्रीका कथाहरू’ (सन् १९९७) कथासङ्ग्रह ‘दोबाटो’ (सन् १९६७) नाटक तथा विभिन्न पत्रपत्रिकामा एकाङ्की नाटक र निबन्धहरू प्रकाशित भएका थिए ।
एक क्षिण बसाइँ संझौँ । यो उपन्यास आफू केही समय आफ्नो बाबुको पुर्ख्यौली थलो नेपाल आएर बस्दा देखेका, सुनेका र अनुभव गरेका कुरालाई आधार बनाएर लेखेको कुरा क्षेत्रीले भन्ने गर्थे । आफू जन्मेहुर्केको ठाउँ छोडेर मुग्लानतर्फ बसाइँ सर्नुपर्ने समस्यालाई यस उपन्यासमा देखाइएको छ ।
आर्थिक शोषणमा परेर धने, मैना जस्ता सोझा र निमुखा थातथलो छोडेर अनिश्चित दिशातर्फ हिँड्नुपरेको, सामाजिक वा यौन शोषणका कारण झुमा र मोटे कार्की जस्ता आफ्नो गाउँठाउँ छोडेर भाग्नुपरेको समस्यालाई उजागर गरिएको छ । गाउँका सामन्ती वर्गको अत्याचारलाई यस उपन्यासमा यथार्थवादी शैलीमा प्रस्तुत गरिएको छ ।
अहिलेको परिस्थितिमा विशेषगरी युवापुस्तामा विदेशतर्फको रुचि बढी छ । धेरैजसो गरिबी, ऋण, बेरोजगारी जस्ता समस्याले विदेश जान्छन् ।
क्षेत्रीका उपन्यास मूलतः सामाजिक विषयवस्तुमा आधारित भए पनि उपन्यास ‘अतृप्त’ मा मनोवैज्ञानिक विषयवस्तु समेटिएको छ । ‘ब्रह्मपुत्रको छेउछाउ’ र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ मा काम र मामको खोजीमा भारतका आसाम र त्यसका आसपास पुगेका नेपालीहरूले भोग्नुपरेको कठिनाइलाई समेटिएको छ ।
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares