६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

म्याद गुज्रेको ४० लाख डोज कोभिड खोप अझै नष्ट गर्न सकिएको छैन

८ चैत २०८१, शुक्रबार

Advertisement

काठमाडौं – चीनले अनुदानमा दिएको १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ४० लाख डोज कोभिड-१९ खोप म्याद सकिएको १५ महिना बित्दा पनि अझै नष्ट गरिएको छैन। ती खोप हाल टेकुस्थित केन्द्रीय खोप भण्डारमै छन्।

नेपालले २०७८ चैत १२ र १४ मा चीनको सिनोभ्याक कम्पनीको भेरोसिल खोप प्राप्त गरेको थियो। ती खोपको म्याद २०८० मंसिर र पुसमा समाप्त भएको थियो। महालेखा परीक्षक कार्यालयको २०८१ सालको प्रतिवेदनअनुसार, म्याद गुज्रेका कोभिड खोपसँगै १९,४८० डोज कोभिसिल्ड खोप पनि खेर गइसकेको छ। थप १ लाख १८ हजार डोज फाइजर खोपको म्याद आगामी सेप्टेम्बरमा सकिँदैछ।

नेपालको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को दफा ११० अनुसार, म्याद सकिएका खोप नष्ट गर्न समिति गठन गर्नुपर्ने हुन्छ। तर स्वास्थ्य सेवा विभागले अहिलेसम्म समिति गठन गर्न सकेको छैन। विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्ने तयारी भइरहेको छ।

नेपालमा ठूलो मात्रामा खोप नष्ट गर्ने छुट्टै प्रविधि छैन। सामान्यतया, स्थानीय तहमा थोरै खोप खाल्डोमा पुर्ने, ढलमा बगाउने वा अटोक्लेभ मेसिनबाट नष्ट गरिन्छ। तर ठूलो मात्रामा खोप नष्ट गर्दा वातावरण र जनस्वास्थ्यमा असर पर्ने भएकाले अन्य विकल्प खोजिँदै छ।

नेपाल सरकारले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगमा खोप नष्ट गर्ने योजना बनाएको थियो। तर उद्योग २०७९ फागुनमा बन्द भएपछि प्रक्रिया अघि बढ्न सकेन। निजी सिमेन्ट उद्योगहरूले पनि खोप जलाउँदा प्रदूषण र स्थानीयको विरोध हुने भन्दै नष्ट गर्न अस्वीकार गरेका छन्। उद्योगी पशुपति मुरारकाका अनुसार यदि स्वास्थ्य मन्त्रालयबाट औपचारिक प्रस्ताव आएमा ‘सेकेन्डरी फायरिङ’ प्रणाली भएका उद्योगहरूमा खोप सुरक्षित रूपमा नष्ट गर्न सकिनेछ।

बंगलादेशमा इन्सिनेटर प्रविधिबाट तथा अफगानिस्तानमा खाल्डोमा पुरेर म्याद गुज्रेका खोप नष्ट गरिएको छ। नेपालमा पनि यस्तै विकल्प खोज्नुपर्ने खोप विज्ञ डा. श्यामराज उप्रेती बताउँछन्। उनका अनुसार खोपमा मर्करी तथा अन्य रसायन भएकाले जथाभावी नष्ट गर्दा वातावरण र जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। उच्च तापक्रम (१२०० डिग्री सेल्सियस) मा जलाएर नष्ट गर्नु सुरक्षित उपाय हुनसक्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार म्याद गुज्रेका खोप लामो समयसम्म भण्डारण गर्दा गलत प्रयोग हुन सक्ने खतरा रहन्छ। साथै खोप भण्डारण क्षमतामा प्रभाव परेमा नियमित खोप अभियान पनि प्रभावित हुन सक्छ। स्वास्थ्य सेवा विभागका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नष्ट गर्नुपर्ने खोपको तौल २७ हजार किलोग्राम र आकार १०० क्युविक मिटर छ। सरकारले चाँडोभन्दा चाँडो उपयुक्त विधिबाट यी खोप नष्ट गर्न आवश्यक प्रक्रिया अघि बढाउनु पर्ने विज्ञहरूको सुझाव छ।

प्रकाशित : ८ चैत २०८१, शुक्रबार 14:34
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved