सिरहा — सिरहाको औरही–५ मा महायज्ञका नाममा दलितमाथि विभेद गर्दै भत्काइएका दीपक मल्लिकको घर मधेश प्रदेश सरकारले पुनर्निर्माण गर्ने भएको छ । मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत ५ लाख ६० हजार रुपैयाँको बजेटबाट पीडितका लागि दुई कोठाको घर निर्माण गरिने भएको हो । उक्त घरमा शौचालय र भान्सा पनि हुनेछ ।
मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार घर निर्माणको प्रक्रिया तत्कालै अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ । उनले भने,‘पीडित परिवार जब मंगलबार मेरोमा आएका थिए, त्यति बेलै घर बनाइदिने प्रतिबद्धता जनाएको थिएँ । अब एक साताभित्रै निर्माण कार्य सुरु हुन्छ ।’
प्रदेश सरकारका प्रतिनिधिहरु प्रदेशसभा सदस्य संजयकुमार यादव, जिबछी यादव लगायतको टोली बिहीबार पीडितको घरमै पुगेर पुनर्निर्माण कार्यको टुंगो लगाएको थियो । स्थानीय जनप्रतिनिधि र अगुवासँग छलफल गरी ७ धुर जग्गा छुट्याएर निर्माण प्रक्रिया अघि बढाइएको यादवले बताए ।
शुक्रबार नै पूर्वाधार विकास कार्यालय, सिरहा मार्फत घर निर्माणको सिफारिस गरिने र प्राविधिक टोली आएर काम सुरु गर्ने उनले जानकारी दिए । साथै पीडित परिवारलाई खानेपानी र बिजुलीको व्यवस्था गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ ।
प्रदेशसभा सदस्य यादवका अनुसार मधेश सरकारको सहयोग विशुद्ध रूपमा पीडितको राहतका लागि हो, यो कार्य घर भत्काउने दोषीहरूविरुद्ध भइरहेको कानुनी कारबाहीसँग जोडिएको छैन । फागुन १० मा महायज्ञका क्रममा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले अछूत भन्दै डोजर लगाएर दीपक मल्लिकको घर भत्काइदिएका थिए ।
घटना सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई प्रहरीले पक्राउ गरिसकेको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय, सिरहाले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
यो घटनाले नेपालमा अझै पनि जातीय भेदभावको गम्भीर समस्या विद्यमान रहेको देखाएको छ । राज्यस्तरबाट राहत र पुनर्निर्माणको प्रयास भइरहेको भए पनि दोषीलाई कडाभन्दा कडा कारबाहीको मागसमेत उठिरहेको छ ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares