६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

दुई दशकदेखिको अपराध श्रृंखला

पाँच करोड भारु फिरौती मागेको आरोपमा रामबहादुर फेरि पक्राउ

द नेप्लिज संवाददाता
२० चैत २०८१, बुधबार

Advertisement

विराटनगर– सामाजिक संजाल ह्वाट्स एपको माध्यमबाट ५ करोड भारु फिरौती माग गर्ने कुख्यात अपराधी ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी यस अगाडि पनि श्रृंखलावद्ध अपराधमा संलग्न रहिसकेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–५ मा डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारीका रामबहादुरले विभिन्न विदेशी नम्बरहरू प्रयोग गर्दै ह्वाट्स एपमा आफूलाई लोरेन्स बिस्नोई र अनमोल बिस्नोईको नाममा परिचय दिँदै पूर्ववडा अध्यक्ष समेत रहेका एक व्यवसायीसँग उक्त रकम मागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धम्काउन फ्रान्सको ह्वाट्सएप नम्बर प्रयोग गरेका थिए । लरेन्स बिस्नोई एक भारतीय गुण्डा नाइके हुन् । उनी फिरौती माग्ने तथा हत्या आरोपमा सन् २०१४ देखि भारतीय जेलमा छन् । पक्राउ परेका रामबहादुर पनि पटकपटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

रामबहादुरले रकम नदिएमा जे पनि हुन सक्ने धम्कीसमेत दिएको पीडित पक्षले प्रहरीलाई बताएको छ । प्रहरीका अनुसार रामबहादुर विरुद्ध  २०६१ साउन २७ मा जीउ मास्ने, बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो । त्यतिबेला एक नेपाली युवतीलाई विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको उनलाई आरोप लागेका थियो ।

२०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट रामबहादुरविरुद्ध मुद्दा चलेको थियो । यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौँबाटै उनी विरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ ।

२०६४ भदौ ९ मा महानगरीय प्रहरी परिसर काठमाडौँ (हाल जिल्ला प्रहरी परिसर)बाट उनीविरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चलेको थियो । उनी विरुद्ध एक व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राख्दै धम्क्याएर फिरौती असुलेको आरोप लागेको थियो । 

रामबहादुरलाई हत्या आरोपमा पनि मुद्दा चलिसकेको छ । २०६४ चैत २७ मा संविधानसभाका उम्मेदवार ऋषि शर्मा प्रचारप्रसार सकेर आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिक लोदे भन्ने ठाउँमा शर्माको गोली हानी हत्या भएको थियो । त्यसबेला पनि रामबहादुर विरुद्ध मुद्दा चलेको प्रहरी रेकर्डबाट खुलेको छ ।

२०६५ चैतमा द्वन्द्वपीडित सेना–प्रहरीको आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेको घटनामा उनीविरुद्ध काठमाडौँबाट मुद्दा चलेको थियो । माओवादी नेता शक्ति बस्नेतलाई लक्षित गरी गोली प्रहार गरेको घटनामा उनी पाँच वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ ।

राम बहादुरले ललितपुरको बालकुमार खरीबोटमा दिलिप जयसवालको योजनामा कुटपिट गरेको समेत खुलेको छ । रामबहादुरले अहिले बिस्नोइहरुको नाम लिंदै विभिन्न व्यवसायीहरूलाई म्यासेज पठाइ ठूलो रकम माग्दै धम्क्याउने गरेको खुलेको छ । व्यवसायीको गुनासोका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो । पक्राउ परेका रामबहादुरविरुद्ध अपराधिक लाभ मुद्दाका अनुसन्धान अघि बढाइएको प्रहरीले भनेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गर्न थालिसकेको छ ।
 

प्रकाशित : २० चैत २०८१, बुधबार 18:21
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved