नयाँ वर्ष–२०८२ को सन्देश
विराटनगर — नयाँ वर्ष २०८२ को सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक राजसंस्थाको निरन्तरता र नागरिक स्वतन्त्रताको महत्वलाई जोड दिँदै राज्यशक्तिको स्रोत जनता नै हुने धारणा प्रस्तुत गरेका छन् । पूर्वराजाको यो सन्देश राजनीतिक संकेतहरूका हिसाबले चर्चामा आएको छ, विशेषतः उनले पछिल्लो समय भएको हिंसा प्रति दुख व्यक्त गर्दै स्वतन्त्रताको सम्मान गर्नुपर्ने उल्लेख गरेका छन् ।
२०५८ मा दरबार हत्याकाण्डपछि राजगद्दी सम्हालेका शाहले २०६१ मा निर्वाचित सरकारलाई अपदस्थ गरी सक्रिय शासन थालेका थिए । उनले राजनीतिक दलका नेताहरूलाई थुनामा राख्ने, संचारमाध्यम बन्द गर्ने र समाचारमा सैनिक सेन्सर लगाउने जस्ता कदम चालेका थिए । तर नयाँ वर्षको सन्देशमा उनले नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र वा वाद नहुने उल्लेख गर्दै ती गतिविधिबाट अलग रहेको वा सुध्रिएको सन्देश दिन खोजेका छन् ।
शाहले भनेका छन्, ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।’ यस अभिव्यक्तिलाई विश्लेषकहरूले उनकै शासनकालको आलोचना र नयाँ धारणा प्रस्तुत गर्न गरिएको प्रयासको रूपमा हेरेका छन् ।
बहुदलीय प्रजातन्त्रप्रतिको समर्थन
पूर्वराजाले संवैधानिक राजसंस्थासँगै बहुदलीय प्रजातन्त्रप्रतिको समर्थन पनि व्यक्त गरेका छन् । उनले राष्ट्र र जनताको चाहनाअनुसारको प्रणालीमा चल्नुपर्ने आवश्यकता औंल्याउँदै ‘जनतामा बढेको जागरूकता सकारात्मक छ’ भनेका छन् । साथै पछिल्लो समय चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति गहिरो दुःख व्यक्त गर्दै हिंसाबाट टाढा रहन नागरिकलाई आग्रह गरेका छन् ।
आत्मनिर्भर अर्थतन्त्र र स्वदेश फर्क अभियानमा जोड
पूर्वराजाले आफ्ना सन्देशमा नेपालको आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनले युवाको पलायन रोक्न स्वरोजगारको अवसर सिर्जना गर्नुपर्ने र विदेशमा आर्जिएको सीप, ज्ञान र पुँजीलाई स्वदेशमै लगानी गर्नुपर्ने उल्लेख गरेका छन् । ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने उनको भनाइ छ ।
सुधार र सुशासनप्रतिको आग्रह
शाहले शिक्षा, स्वास्थ्य, प्रशासनलगायतका प्रणालीमा आमूल सुधारको आवश्यकता औंल्याउँदै भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्नुपर्ने बताएका छन् । उनले सुशासनलाई मूल नाराको रूपमा प्रस्तुत गर्दै राष्ट्र निर्माणमा सबै नेपालीको एकता आवश्यक रहेको धारणा राखेका छन् ।
विगतको आलोचना र वर्तमानको सन्देश
पूर्वराजाको यो सन्देशले विगतको निरंकुश शासनको आलोचना र वर्तमानको अपेक्षा बीचको सन्देश बोक्ने विश्लेषण गरिएको छ । उनले जनताको सार्वभौमसत्ता, लोकतन्त्र, समृद्धि र शान्तिको दिशामा सबै नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
सन्देशका मुख्य बुँदाहरू :
नागरिक स्वतन्त्रता र बहुदलीय प्रजातन्त्रप्रति समर्थन
हिंसात्मक आन्दोलनप्रति दुख र संयमता अपनाउन आग्रह
आत्मनिर्भर अर्थतन्त्र, युवा स्वरोजगार र स्वदेश फर्क अभियानमा जोड
शिक्षा, स्वास्थ्य, शासन प्रणालीमा सुधार र प्रविधिको उपयोग
भ्रष्टाचार, अस्थिरता, अराजकता र निराशाविरुद्ध ऐक्यबद्धता
पूर्वराजाले नयाँ वर्ष २०८२ लाई नेपालको लागि ‘सुनौलो सम्झना’ बनाउने संकल्प पनि व्यक्त गरेका छन् ।
शाहले वर्तमान राज्य व्यवस्थाप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । संवैधानिक रूपमा नागरिक बनिसकेका शाहले राज्य संरचनामा आमूल परिवर्तनको आवश्यकता रहेको भन्दै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बहुदलीय लोकतान्त्रिक व्यवस्थाको आलोचना गरेका छन् ।
‘हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको विदाइमा एउटा घनघोर निरासाका बीच हुने गरेको धेरै साल भयो,’ भन्ने अभिव्यक्तिद्वारा शाहले नेपालमा स्थायित्व, समृद्धि र जनसन्तुष्टि अभावको संकेत गरेका छन् । उनको सन्देशमा केही दिनअघि भएका प्रदर्शनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडप्रति दुःख व्यक्त गर्दै ‘नागरिक स्वतन्त्रता भन्दा ठूला तन्त्र वा वाद हुँदैन’ भन्ने भनाइमार्फत वर्तमान व्यवस्थाले जनआवाज नसुनेको संकेत गरिएको छ ।
शाहले बहुदलीय व्यवस्था र संवैधानिक राजसंस्थाको संयोजनको पक्षमा आफूहरूको मान्यता रही आएको स्मरण गराउँदै भनेका छन्, ‘जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।’ उनले राज्य सत्ताको मूल स्रोत जनता नै हुनुपर्छ भन्ने कुरा स्वीकार गरे पनि हालको शासन प्रणालीले जनताको आशा र अपेक्षा पुरा गर्न नसकेको संकेत गरेका छन् ।
उनले ‘राजसंस्थाले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट मुक्त गराउन योगदान पु¥याउँदै आएको विदितै छ’ भन्ने वाक्य प्रयोग गरेर, संस्थागत राजसंस्थाको भूमिकालाई अझै सन्दर्भीय बनाउने प्रयास गरेका छन् ।
शाहको सन्देशले स्वदेशी उत्पादन, स्वदेशमै खपत, आत्मनिर्भरता, युवा पलायन रोक्नुपर्ने आवश्यकता र भ्रष्टाचार तथा अस्थिरताको अन्त्यप्रति जोड दिएको छ । यिनै मुद्दालाई आधार बनाएर उनले ‘आन्तरिक सुधार र पुनर्संरचना’ को आवश्यकतामा बल दिएका छन् ।
राजनीतिक संकेत र सन्दर्भ
शाहको यो सन्देशले निरन्तर बढ्दै गएको वैकल्पिक व्यवस्था खोज्ने आवाजसँग सम्बन्धित बहसलाई पुनः चर्काएको छ । उनले खुला रूपमा राजसंस्था पुनःस्थापनाको माग त गरेका छैनन्, तर जनचाहनाको ‘हेरफेर र सुधार’ लाई राज्य संरचनासँग जोड्नु, प्रजातन्त्रप्रतिको विफलताको आलोचना गर्नु र ‘पृथ्वीपथ’ लाई राजनीतिक मूलधारका रूपमा चित्रण गर्नु राजनीतिक दृष्टिले संकेतपूर्ण देखिन्छ ।
सन्देशको अन्त्यमा शाहले ‘हाम्रा आह्वान कसैको निजी स्वार्थपूर्तिका लागि होइन’ भने पनि सम्पूर्ण वक्तव्यभित्र उनले बहुदलीय गणतन्त्रको विकल्पतर्फ संकेत गरेका छन् । यो सन्देश पूर्वराजाको नागरिक हैसियतसँग विसंगत भए पनि, निराश जनता, बेरोजगार युवाशक्ति र बढ्दो भ्रष्टाचारबीच विकल्पको खोजी भइरहेका बेलामा आएको हो ।
पूर्वराजा शाहको नयाँ वर्ष सन्देश बहुपक्षीय सन्दर्भमा विश्लेषण गर्न लायक देखिन्छ । एकातिर देशभक्ति, स्वदेशी आत्मनिर्भरता र युवाको सीप उपयोगको सन्देश दिइए पनि अर्कोतर्फ उनले वर्तमान संविधान र शासनप्रणालीप्रति असन्तोष व्यक्त गरेर संस्थागत राजसंस्थाको उपस्थितिको बहसलाई पुनः जीवित राख्न खोजेको आभास गराउँछ । यो संवोधन जनताका मुद्दामा केन्द्रित देखिए पनि राजनीतिक रूपमा सन्देशमूलक र रणनीतिक रूपमा सुसंस्कृत प्रतीत हुन्छ ।
विचार/अन्तर्वार्ता
जब शिक्षामा लगानीको कुरा आउँछ, सरकार किन अड्किन्छ ?
जितेन्द्र साह५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी भित्र्याउने लक्ष्यका साथ कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदै
देव नारायण साहट्रम्प कर युद्धको छायाँमा नेपाल : विश्व व्यापारिक अस्थिरता र साना अर्थतन्त्रका चुनौतीहरू
जितेन्द्र साहदेशको व्यवस्था फेरिन्छ, सुविधाभोगी फेरिँदैन
जितेन्द्र साहनयाँ वर्ष, नयाँ दृष्टिकोण : अनिश्चितताको बीचमा उत्तरदायी पत्रकारिताको प्रतिबद्धता
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares