४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

अब दिल्ली पनि मोदीकै

अरविन्द केजरीवाललाई कसले हराए ?
द नेप्लिज संवाददाता
२६ माघ २०८१, शनिबार

Advertisement

विराटनगर– भारतको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी (आप) र यसका हर्ताकर्ता अरविन्द केजरीवाल पराजित भएका छन् । केजरीवालका सहयात्री पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि जनताले अस्वीकारेको छ । 

सरकार बनाउने आवश्क बहुमत पार गर्दै दिल्लीमा २७ वर्ष पछि भाजपा सत्तामा फर्केको छ । भारतका प्रधानमन्त्री मोदीले यसलाई सुशासन एवं विकास प्रेमीको जित बताएका छन् । दिल्लीमा सरकार गठनका लागि ७० सिटमा ३६ सिट आवश्यक पर्छ । शनिबार साँझ सम्मको परिणाम अनुसार भाजपाले ४२ सिट जितेको छ भने ६ सिटमा अगाडि छ । २१ सिट जितेको आप १ मा अगाडि देखिए पनि अन्य दलले खाता खोल्न सकेनन् । 

भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएका केजरीवालले गत सेप्टेम्बरमा दिल्लीको मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए । उनी जेलमा हुँदा विपक्षी दलहरुले ‘दिल्लीको सरकार कारागारबाट चल्दैछ,’ भन्ने व्यङ्ग्य गर्दै राजिनामा मागेका थिए । लोकसभा निर्वाचनको ठीक अगाडि गत २१ मार्चमा उनी जेल जानु परेको थियो । त्यतिबेला केन्द्रीय सरकार माथि विरोधीलाई समाप्त पार्न शक्तिको प्रयोग गरिरहेको आरोप लागेको थियो । आर्थिक बेतिथिसँग जोडिएको मुद्दामा उनी छ महिनामा कारागारमा रहे ।
 
‘म इमानदार भए, नभएको सुन्न जनताको अदालतमा जाने फैसला गरेको छु,’ मुख्यमन्त्री पद त्याग्दा केजरीवालले भनेका थिए तर दिल्लीका जनताले चुनावी मत परिणाममार्फत फैसला सुनाइ सकेका छन् । यो परिणामले इमानदार र बेइमानभन्दा पनि आपले दिल्लीको सत्ता गुमाएको छ भने सत्तारोहणको अवस्थामा भाजपा पुगेको छ । पद त्यागे पछि सन २०३० को चुनाव पर्खनु पर्छ भन्ने केजरीवालले अनुमान गरेका थिएनन् । भ्रष्टाचारी विरोधी आन्दोलनबाट दिल्लीको सत्तासम्मको यात्रा तय गरेका उनले भ्रष्टाचारकै आरोपमा सत्ता गुमाउन पुगेका छन् ।

पञ्जाब युनिभर्सिटीका राजनीतिशास्त्री आशुतोष कुमारको अनुसार नेतालाई भ्रष्टाचारको आरोप लाग्नु सामान्य भएकोले जनताले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । ‘१२ वर्ष अगाडि बनाएको केजरीवालको छविलाई भने यसले असर पारेको छ,’ उनले भने । भाजपाले रणनीति बनाएर केजरीवालको भ्रष्टाचार विरोधी पहिचानलाई कमजोर बनाएको बरिष्ठ पत्रकार आदेश रावलको बुझाइ छ । 

उनले निर्वाचनमा पराजित भएकाले केजरीवाललाई यसअघि दिएका आफ्‌नै वक्तव्यको बचाउ गर्न कठिन हुने बताए । आम आदमी पार्टीले सत्ताको यात्रा तय गर्नु अघि केजरीवालले सरकारी भवन र गाडीको प्रयोग नगर्ने भनेका थिए । तर उनले त्यो गर्न सकेनन् । केजरीवाल स्वयंको व्यवहारले पनि जनतालाई शंका गर्ने ठाउँ दिएको उनले बताए । भ्रष्टाचार मुद्दामा केही महिना तिहाड जेलमा रहेका उनी जमानतमा छुटे पनि सर्वोच्चले मुख्यमन्त्री कार्यालय जान नपाउने आदेश गरेको थियो ।

सर्वोच्चको आदेशपछि उनले राजिनामा दिनु स्वभाविककै थियो । तर उनले यसलाई जनताको अदालतसँग जोडे । केजरीवालका पूर्वसहकर्मी धर्मवीर गाँधीका अनुसार जनताले उनको कथनी र करणीमा फरक अनुभव गरेकाले दिल्लीको सातै लोकसभा सिट र दिल्लीको सरकार भाजपाको पोल्टामा गएको छ । 

पूर्वमुख्यमन्त्री केजरीवालले पनि अन्ततः भारी मनले हार स्वीकारेका छन् । ‘विनम्रताका साथ पराजय स्वीकार्दै भाजपालाई बधाई दिन्छु, विजेताहरुले जनताको अपेक्षा पूरा गर्ने विश्वास छ,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘जनताले १० वर्षसम्म विश्वास गर्दा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा पर्याप्त काम गर्यौँ, आउँदो समयमा जनताका लागि काम गर्दै विपक्षीको रचनात्मक भूमिका निर्वाह गर्छौँ ।’ 
 
भाजपाबाट दिल्लीमा पछिल्लोपटक सन् १९९८ मा सुस्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन् । कांग्रेस आईबाट सन् १९९८ डिसेम्बर ३ मा मुख्यमन्त्री बनेकी शिला दिक्षितले तीन कार्यकाल चलाएकी थिइन् । त्यसपछि केजरीवालले दुई कार्यकाल शासन गरेका हुन् ।

अरविन्द केजरीवाललाई कसले हराए ?

दिल्लीमा बुधबार भएको चुनावमा केजरीवाललाई भारतीय जनता पार्टीका प्रवेश बर्माले ४ हजार ८९ मतले पराजित गरेका हुन् । सन् २०१३ मा केजरीवालले पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएर इतिहास रचेका थिए  । त्यससँगै दीक्षितको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । समय बदलियो । त्यही क्षेत्रमा केजरीवाल बर्मासँग हारे । यही चुनावमा दीक्षितका छोरा सन्दीप तेस्रो स्थानमा चित्त बुझाए ।

केजरीवालको पराजयसँगै बर्मालाई भावी मुख्यमन्त्रीका रूपमा लिइएको छ । भाजपाले फेब्रुअरी ८ मा यस बहुअपेक्षित विषयमा निर्णय लिन्छ । ४७ वर्षीय बर्मा पूर्वमुख्यमन्त्री तथा भाजपाका पूर्वउपाध्यक्ष साहिब सिंह बर्माका पुत्र हुन् । चुनावी अभियानका क्रममा उनले साबरमतीको जस्तै यमुना नदीमा रिभरफ्रन्ट बनाउने, झुपडीबासीलाई आवास दिने, पूर्वाधार निर्माण गर्ने, ५० हजारलाई सरकारी जागिर, फ्लाईओभर र प्रदूषणमुक्त राष्ट्रिय राजधानी बनाउने महत्वाकांक्षी वाचा गरेका छन् ।

महरौलीबाट सन् २०१३ मा दिल्ली विधानसभामा निर्वाचित बर्मा सन् २०१४ देखि दुई कार्यकाल लोकसभाका सदस्य रहे । उनी तीन दशकदेखि भाजपामा सक्रिय छन् । चुनावी अभियानमा बर्माले मुख्यमन्त्रीको सरकारी निवासको मुद्दा पनि उठाएका थिए । (भारतीय सञ्चार माध्यमहरुको सहयोगमा)

प्रकाशित : २६ माघ २०८१, शनिबार 18:47

थप समाचार

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved