३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

देवानगञ्ज गोलीकाण्ड

तस्करी–लेनदेन विवादमा गोली प्रहार, दुई पक्राउ, तीन फरार

द नेप्लिज संवाददाता
२ वैशाख २०८२, मङ्गलबार

Advertisement

विराटनगर— सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको गोलीकाण्डको अनुसन्धानमा तस्करी र आपराधिक गिरोहबीचको आर्थिक लेनदेनको विवाद मुख्य कारण रहेको खुलेको छ । घटनामा संलग्न पाँचमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन जना फरार  छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा देवानगञ्ज–१ का २७ वर्षीय रविन कुमार यादव र २१ वर्षीय पिन्टु यादव छन् । उनीहरूलाई मंगलबार दिउँसो विराटनगरबाट पक्राउ गरिएको प्रहरीले भनेको छ ।  प्रारम्भिक अनुसन्धानमा फरार अभियुक्तको नाम कामेश्वर यादव खुलेको छ जसले गोली चलाएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार यो घटना पुरानो आर्थिक लेनदेन र तस्करीसँग जोडिएको देखिन्छ । फरारहरूको खोजी कार्य तीव्र पारिएको छ । प्रहरीले रविन यादवमाथि यसअघि पनि लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा मुद्दा चलाएको थियो । एक महिनाअघि मात्र उनी धरौटीमा छुटेका थिए ।

घटनामा देवानगञ्ज–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन यादव स्वयं र अर्का एक जना घाइते भएका छन् । साँझ करिब साढे बजे तीन राउन्ड गोली चल्दा शिवकुमारको पेटमा गोली लागेपछि उनको अवस्था गम्भीर बनेको छ । हाल उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले घटनालाई स्थानीय तस्कर समूहबीचको पुरानो लेनदेन र दबाबसँग जोडेर अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार देवानगञ्ज र आसपासका क्षेत्रमा सानातिना तस्करी समूह सक्रिय छन् । यसअघि पनि सीमावर्ती क्षेत्रहरूमा यस्ता झडपहरू समय–समयमा भइरहेका छन् ।

नेपाल–भारत सीमा नजिक पर्ने देवानगञ्जमा लागुऔषध ओसारपसार, डिजेल तथा गाईगोरु तस्करीजस्ता अवैध गतिविधिहरू व्यापक रूपमा हुने गरेको प्रहरीको रिपोर्टहरूमा उल्लेख छ । यसले गर्दा यस्ता घटनाहरू स्थानीय आपराधिक गिरोहबीचको टकरावका रूपमा देखा पर्न थालेका छन् ।
 

प्रकाशित : २ वैशाख २०८२, मङ्गलबार 16:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved