८ वैशाख २०८२, सोमबार 21 Apr 2025, Monday

नक्कली परीक्षार्थी बनेका अस्कल सचिव पक्राउ

द नेप्लिज संवाददाता
७ वैशाख २०८२, आइतबार

Advertisement

काठमाडौँ– राजधानीको प्रतिष्ठित शैक्षिक संस्था अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु सचिव गोपालबहादुर शाही नक्कली परीक्षार्थी बनेर नेपाल प्रहरीको जवान पदको लिखित परीक्षा दिँदै गर्दा पक्राउ परेका छन् । शाहीसहित ६ जना नक्कली परीक्षार्थीलाई आइतबार प्रहरीले रत्नराज्य लक्ष्मी माविबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसपी अपील राज बोहराका अनुसार शाही अर्कै व्यक्तिको नाममा परीक्षामा सहभागी भइरहेका थिए । उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा मोहन सुनवार (२३), मनोज शर्मा (२२), आकाश खड्का (२२), उमेश शर्मा (२०) र मिन रावल (२२) छन् । प्रहरीले उनीहरूलाई नक्कली परीक्षार्थी बनेर जनसेवामा धोका दिने प्रयास गरेको आरोपमा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

शाहीमाथिका पुराना आपराधिक आरोप :  एकपछि अर्को खुल्दै
यसअघि गत माघ २४ को राति ठमेलमा ड्युटीमा रहेका दुई प्रहरीमाथि आक्रमण गरेको घटनामा पनि शाहीको संलग्नता देखिएको थियो । उक्त घटनापछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । प्रहरीका अनुसार शाहीमाथि दुईवटा छुट्टाछुट्टै मुद्दा २०८० सालमै दर्ता भइसकेका छन् ।

२०८० को वैशाख १७ मा भएको अर्को घटनामा उनी ज्यान मार्ने उद्योगको आरोपमा समेत संलग्न छन् । त्यो दिन अस्कल क्याम्पसमा अखिल क्रान्तिकारीका अध्यक्ष खेम सिंहसहित चार जनामाथि खुकुरी, रड र सिसाका बोतल प्रयोग गरी आक्रमण भएको थियो । 

घटनामा घाइते सिंह, ओमप्रसाद पोखरेल, सुदीप पोखरेल र सागर पाण्डेलाई गम्भीर अवस्थामै उपचारका लागि पिपल्स अस्पताल र पछि अन्नपूर्ण न्युरोलोजिकल अस्पतालको आईसीयूमा राखिएको थियो । शाही र अखिलकै अर्का नेता कमलराज जोशीसहित पाँच जनाविरुद्ध उक्त घटनामा काठमाडौँ जिल्ला अदालतमा ७ जेठ, २०८० मा मुद्दा दर्ता भएको थियो ।

पुलिसको अपराध विवरण प्रणाली (सीआरएस) अनुसार शाहीविरुद्ध पनि २०८० मै अभद्र व्यवहारको मुद्दा दर्ता भएको देखिन्छ । शाहीको नाम उच्च शिक्षालयको स्ववियु सचिवजस्तो जिम्मेवार पदमा रहँदै यस्ता आपराधिक गतिविधिमा मुछिनु गम्भीर सवाल बनेको छ।


देशव्यापी समस्या बन्दै नक्कली परीक्षार्थीको जालो
अस्कल सचिव शाहीको घटनासँगै पोखरामा पनि प्रहरी जवानको परीक्षामा अर्कैको नाममा परीक्षा दिइरहेकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा पक्राउ परेकी छन् । उनले धनकुटा पाख्रीबास नगरपालिका–५ की आरतीकुमारी मण्डलको नाममा परीक्षा दिइरहेकी थिइन् । वडा प्रहरी कार्यालय बैदामको टोलीले शनिबार परीक्षा चलिरहेका बेला उनलाई नियन्त्रणमा लिएको हो । ज्ञानुतामाथि शिक्षा ऐनसम्बन्धी कसूरमा सात दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

प्रणालीगत असफलता र जवाफदेहिताको सवाल
स्ववियु पदमा निर्वाचित विद्यार्थी नेताहरू नै आपराधिक गतिविधिमा मुछिनु, त्यसमा पनि प्रहरीकै भर्ती प्रक्रियालाई निशानामा राखेर नक्कली परीक्षार्थीको रुपमा संलग्न हुनु गम्भीर सुरक्षा चुनौती हो । यसले एकातर्फ सुरक्षाकर्मी छनोटको विश्वसनीयतालाई प्रश्नमा ल्याएको छ भने अर्कोतर्फ विद्यार्थी राजनीतिभित्र मौलाउँदै गएको आपराधिक प्रवृत्तिको गम्भीर संकेत दिएको छ ।

शिक्षण संस्था, विद्यार्थी संगठन र राज्य संयन्त्रबीच जवाफदेहिताको खाँचो स्पष्ट रूपमा देखिन्छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाही र शिक्षालयबाट निलम्बन जस्ता कदम समयमै चालिएन भने उच्च शिक्षालयहरू नै आपराधिक अभ्यासको प्रशिक्षणस्थल बन्ने खतरा छ।
 

प्रकाशित : ७ वैशाख २०८२, आइतबार 23:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved