बढुवा प्रक्रिया अलमलमा
विराटनगर– नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)का ६ पद १५ दिनदेखि रिक्त छन् । ४ चैतमा पाँच एआईजी—टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई सेवा अवकाशमा गएपछि पद खाली भएको हो । त्यसैदिन प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर पनि अवकाशमा गए र उनको स्थानमा दीपक थापा आईजी बनेपछि थप एक पद रिक्त भयो ।
हाल जनपद समूहमा ८ एआईजी दरबन्दीमध्ये ६ पद खाली छन् । मानव स्रोत, प्रशासन, कार्य, अपराध अनुसन्धान, प्रदेश समन्वय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एआईजीविहीन छन् । अहिले दुई मात्र एआईजी कार्यरत छन्, टेकबहादुर तामाङ (रानीपोखरी) र सुदीप गिरी (प्रशिक्षण प्रतिष्ठान) ।
बढुवा सिफारिस गृहसचिव नेतृत्वको समिति बनाउने व्यवस्था भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन । आईजी थापाले ५ चैतमा पद्धतिमा आधारित बढुवा गर्ने बताएका थिए । तर शक्तिकेन्द्रको पहुँच र भावी आईजीको प्रतिस्पर्धाका कारण प्रक्रिया अलमलिएको स्रोतको भनाइ छ ।
मुख्य प्रतिस्पर्धामा डीआईजी चन्द्रकुवेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा छन् । खापुङ र शर्मा एआईजीमा बढुवा भएमा उनीहरूमध्ये एकले आगामी कात्तिकमा दुई महिनाका लागि आईजी बन्ने सम्भावना छ । आचार्य भने उमेर हदका कारण आईजीको दौडमा छैनन् ।
डीआईजी बढुवामा पछि परेका २०५३ सालमा भर्ना भएकाहरू अहिले एआईजीमा अग्रता खोजिरहेका छन् भने २०५४ सालका अफसरहरू पनि सिनियरिटीको आधारमा लबिइङमा छन् । बढुवा प्रक्रिया ढिलो हुनुमा यी दुई ब्याचबीचको प्रतिस्पर्धा मुख्य कारण देखिएको छ । एआईजी पदका लागि २६ पुस २०८१ मा डीआईजी बनेका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि प्रतिस्पर्धामा छन् ।
२०५२ कात्तिक २७ गते भर्ना भएका तीन जना अब एआईजी बन्ने लाइनमा छन् । अब एआईजीमा बढुवा हुने सबैभन्दा बलियो सम्भावना उनीहरूकै छ।
हालका प्रहरी महानिरीक्षक दीपक थापा आगामी भदौ १९ मा अनिवार्य अवकाशमा जानेछन् । थापा पनि ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुने अवस्था छ। उनीसँगै उनका ब्याचका दुई एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि अवकाश हुनेछन् ।
भदौ १९ गतेदेखि रिक्त हुने आईजीपीमा चन्द्र कुवेर खापुङको सम्भावना सबैभन्दा बलियो छ। उनी अहिले डीआईजीको पहिलो वरीयतामा छन्। खापुङ हाल सीआईबीमा कार्यरत छन्।
उनीसँगै भर्ना भएका मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य पनि अहिले एआईजीमा बढुवा हुने सम्भावना छ। उनी एआईजीमा बढुवा भए पनि आईजीपी बन्ने सम्भावना भने छैन। उनी एआईजीको उमेर हदका कारण आगामी जेठ ११ गते अवकाश हुनेछन्। उनीहरूकै ब्याचका कृष्णहरि शर्मा पोखरेल पनि अब एआईजीमा बढुवा हुने सम्भावना छ। पोखरेल हाल बागमती प्रदेश प्रहरी प्रमुख छन्।
पोखरेल पनि खापुङसँगै २०८२ कात्तिक २७ गतेसम्म सेवामा रहनेछन्। भदौमा खापुङ आईजीपी नभए यो ब्याचबाट पोखरेल हुने सम्भावना छ। यसपछि २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएको टोलीका ५ जना डीआईजी छन्। उनीहरूमध्ये पनि एकदेखि दुईजना अहिले एआईजीमा बढुवा हुने सम्भावना छ। सबैभन्दा बलियो दाबेदार हुन्- सिद्धिविक्रम शाह। हाल प्रहरीको विशेष ब्युरोमा कार्यरत उनी आफ्नो ब्याचबाट पहिलो नम्बरमा छन्।
यसअघिसम्म २०५४ सालको टोलीभन्दा अगाडि रहँदै आएका शाह डीआईजीमा भने पछि परे। शाहको ब्याच २०६४ मा डीएसपीमा बढुवा भएको थियो। एसपी भने २०५४ को टोलीसँगै एसपीमा २०७४ मा र एसएसपीमा २०७९ मा भएका थिए।
तर अहिले उनी एआईजीमा त्यो ब्याचलाई फेरि उछिन्ने गरी लबिइङमा छन्। आफूलाई रवि लामिछाने गृहमन्त्री हुँदा अन्याय गरिएको दाबीसहित अहिले त्यो ब्याचभन्दा अगाडि बढुवा हुनुपर्ने जिकिर उनको छ।
यसरी एआईजीमा अगाडि बढे शाह आगामी कात्तिक २७ गतेपछि प्रहरी नेतृत्वमा पुग्ने सम्भावना छ। तर उनको दाबी भदौमा रिक्त हुने आईजीपीका लागि पनि हुनेछ। त्यतिबेला शाह आईजीपी भएमा खापुङको टोली एआईजीमै अवकाश हुनेछ। नभए खापुङ दुई महिनाका लागि आईजीपी बन्ने सम्भावना छ। खापुङ आईजीपी बने शाह पनि कात्तिकबाट आईजीपी बन्ने सम्भावना छ। त्यो अवस्थामा उनी २०८३ पुस ५ सम्म आईजीपी बन्नेछन्।
यो ब्याचबाट अहिले एआईजीका लागि शाहसँगै सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक एआईजीमा बढुवा हुने कसरतमा छन्। तर एकदेखि दुईजना मात्रै यो टोलीबाट बढुवा हुने सम्भावना छ।
२०५४ को टोलीबाट पनि यसपटक दुईदेखि तीन जनासम्म एआईजीमा बढुवा हुने सम्भावना छ। यो टोलीबाट दानबहादुर कार्की सधैँ पहिलो नम्बरमा छन्। कार्की यो टोालीबाट आईजीपी बन्ने सम्भावना बलियो छ। खापुङ र शाह आईजीपी बने पनि कार्की आफ्नो ब्याचबाट आईजीपी बन्ने सम्भावना बलियो छ।
तर कार्की आगामी भदौबाटै आईजीपी बन्ने लबिइङमा छन्। उनी आईजीपी बने भने खापुङ र शाही हुने छैनन्। कार्की हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुख छन्। अब केही दिनमा हुने एआईजी बढुवामा उनी पनि पर्ने सम्भावना बलियो छ। कार्कीसँगै बढुवा भएका मनोज केसी र राजन अधिकारी पनि लबिइङमा छन्। तर यसपटक केसीभन्दा अधिकारीको सम्भावना बलियो छ।
उनीहरू दुवै जना एआईजी बन्ने सम्भावना पनि छ। तर अहिलेको सत्ताले केसीलाई मन पराएको छैन ।। केसीलाई डीआईजी पनि रवि लामिछाने गृहमन्त्री हुँदा उनकै जोडमा बनाइएको हो। केसी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छन्। उनलाई विशेष ब्युराबाट छोटो समयमै हटाएर त्यहाँ पुर्याइएको थियो।
उनीसँगै बढुवा भएका दानबहादुर कार्की र राजन अधिकारीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिए पनि उनलाई भने दिइएको थिएन। भुटानी शरणार्थी प्रकरणमा आफ्नै संगठन प्रमुख र हालका सत्ता साझेदार दलका शीर्षनेताविरुद्ध लागेको आरोप उनलाई छ। यसकै असर अब एआईजी बढुवामा पनि देखिने सम्भावना छ।
तर उनी पनि एआईजीमा बढुवा हुन लबिइङमा छन्। पछिल्लो समय केसीले कांग्रेस नेताहरूसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको स्रोतको दाबी छ। केही दिनमा ६ जना एआईजी बढुवाका लागि सिफारिस हुँदा तीन ब्याचका ११ जना डीआईजीमध्येबाट हुने करिब निश्चित छ। अरू डीआईजी भने उनीहरुभन्दा पनि जुनियर छन्।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares