११ वैशाख २०८२, बिहीबार 24 Apr 2025, Thursday

‘देश विकासको नेतृत्व विद्यार्थीले लिनुपर्छ’

द नेप्लिज संवाददाता
१० वैशाख २०८२, बुधबार

Advertisement

विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवीसंघ)को स्थापना दिवसको अवसरमा बुधबार विराटनगरमा नेविसंघ मोरङले आयोजना गरेको ‘वर्तमान राजनीतिमा विद्यार्थीको भूमिका’ विषय विचार गोष्ठीमा नेताहरुले देश विकासको नेतृत्व विद्यार्थीले लिनुपर्ने बताएका छन् । 

मुलुकको राजनीतिक नेतृत्व गर्दै आएका पूराना नेताहरुले विश्वास गुमाइसकेकाले आमनागरिकहरु राजनीतिक नेतृत्व र देशको शासन व्यवस्थाप्रति नै निराश बनेको अवस्थामा उहाँहरुलाई संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थाप्रति आशा जगाउन देश विकासको नेतृत्व नयाँ पुस्ता अर्थात् विद्यार्थीहरुले गर्नुपर्ने कार्यक्रममा सहभागी नेताहरुको भनाइ थियो । 

कार्यक्रममा पूर्वमुख्यमन्त्री केदार कार्कीले विद्यार्थी देशको मेरुदण्ड भएकोले सरकारले विद्यार्थीलाई केन्द्रित गरेर आउँदो वर्षका लागि बजेट ल्याउनु पर्नेमा जोड दिएका छन् । उनले मुलुकलाई शैक्षिक हब बनाउने गरी सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । ‘मुलुकमा आमनागरिकको राजनीतिक नेतृत्वका साथै अहिलेको शासन व्यवस्थाप्रति नै निराशा र आक्रोश बढ्दै गएको अवस्था छ,’ उनले भने, ‘वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति आम नागरिकको आशा र विश्वास जगाउने गरी आउँदो वर्षको बजेट, नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्छ ।’ 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एवं प्रदेश सांसद प्रदिपकुमार सुनुवारले नेवीसंघले कार्यक्रम गरिरहनुपर्छ र विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहिरहँदै वर्तमान राजनीतिक र शासन व्यवस्थाप्रतिको आमनागरिकमा देखिएको निराशा विद्यार्थी नेताहरुले चिर्न सक्नुपर्ने बताएका छन् । उनले देशको विद्यमान परम्परागत शैक्षिक व्यवस्थालाई परिवर्तन गरेर रोजगारीमूलक शैक्षिक प्रणालीको विकास गर्नुपर्नेमा जोड् दिएका हुन् । 

नेविसंघका पूर्वसभापति गुरुराज घिमिरेले पूराना नेताबाट केही नहुने अवस्थामा देशको परिवर्तन विद्यार्थी नेताबाटै भएको संसारभरि उदाहरण रहेको बताएका छन् । उनले विद्यार्थीहरुले देशको नेतृत्व लिएर मुलुकको विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझिीले पार्टीको कार्यक्रम निषेध गर्ने, विथोल्ने जस्ता क्रियाकलाप गर्ने विद्यार्थी तथा नेतालाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । उनले पार्टीको हित विपरित काम गर्ने नेता तथा कार्यकर्ताको पार्टीमा कुनै काम नभएकोले कारवाहीको दायरामा ल्याउनुको विकल्प नभएको र त्यसमा विद्यार्थीको भूमिका प्रभावकारी हुनुपर्ने बताएका हुन् । 

नेवी संघ मोरङका सभापति सरोज पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेवी संघका पूर्वसभापतिहरु र नेवी संघबाट स्ववियू निर्वाचनमा विजयी भएका पदाधिकारीहरुलाई सम्मान गरेको छ । नेवी संघका पूर्वसभापति गुरुराज घिमिरे, नेवी संघ मोरङका पूर्वजिल्ला सभापतिहरु सूर्यहरी मानन्धर, अर्जुन निरौला, ललित श्रेष्ठ, पूर्वमुख्यमन्त्री कार्की, शंकर भट्टराई, गोपाल शेढाइँलगायतलाई केन्द्रीय सदस्य सुनुवारले कदरपत्र हस्तान्तरण गर्दै फूलमाला, अबीर लगाएर दोसल्ला ओढाएर सम्मान गरेका थिए ।  कार्यक्रममा कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री तथा प्रदेश योजना आयोग सदस्य प्रमिला गच्छदार, कांग्रेस कोशी प्रदेशका सचेतक शोभा पालुङवालगायतको सहभागीता रहेको थियो । 

प्रकाशित : १० वैशाख २०८२, बुधबार 17:26
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved