फाइल तस्बिर
वीरगन्ज, पर्सा– हनुमान जयन्तीको शोभायात्राका क्रममा चैत ३० मा वीरगन्जमा दुई फरक धार्मिक समुदायबीच भएको झडपपछि उत्पन्न तनाव पाँचौँ दिन बुधबार पनि कायमै रह्यो । प्रशासनले आइतबार रातिदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरे पनि मंगलबार साँझदेखि पुनः प्रदर्शन सुरु भएपछि अवस्था फेरि जटिल बनेको हो ।
प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासन र सुरक्षा निकायले कडाइ गरेका छन् भने संघीय सरकारका दुई मन्त्री, राजनीतिक दल, उद्योग वाणिज्य संघलगायतले सामाजिक र धार्मिक सद्भाव कायम राख्न आह्वान गरेका छन् । शनिबारको झडपपछि सुरु भएको अशान्त वातावरणमा सोमबारदेखि सामान्य अवस्था देखिएको भए पनि मंगलबार बेलुकादेखि फेरि प्रदर्शन चर्किएको हो ।
मंगलबार राति प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि धर्नाको प्रयास गर्दा प्रहरीले लाठीचार्ज गरेर तितरबितर पारेको थियो । त्यसपछि आदर्शनगर, घण्टाघर, सिर्सिया लगायत स्थानमा टायर बाल्दै विरोध प्रदर्शन गरिएको थियो । बुधबार बिहान पनि टायर बाल्ने कार्य जारी रहेपछि नगर तनावग्रस्त बन्यो ।
मन्त्री, दल र संघसंस्थाको साझा अपील
पर्साबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने खानेपानी मन्त्री प्रदीप यादव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम गर्न वीरगन्जबासीलाई आग्रह गरेका छन् । उनीहरूले झडपको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशनसमेत दिएको जनाएका छन् ।
बुधबार सर्वदलीय बैठक बसेर राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वीरगन्जमा सदियौँदेखि रहेको धार्मिक भाइचारा बिग्रन नदिन सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले पनि शान्ति र सद्भावका लागि अपील गर्दै सबै पक्ष मिलेर असहज परिस्थितिको समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रम जारी
नेपाल जनता पार्टीले अराजक तत्त्वहरूलाई कानुनी कारबाहीको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । त्यस्तै विश्व हिन्दू परिषद नेपालले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कारबाही र सद्भाव कायम गर्न माग गरेको छ।
प्रशासन र सुरक्षा निकाय सक्रिय
बुधबार प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी प्रमुख एसपी गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले हिन्दूवादी संघसंगठनका अगुवाहरूसँग छलफल गरेका छन् । एसपी मिश्रका अनुसार हालसम्म पाँच बुँदे सहमति अनुसार मात्रै संलग्नको पहिचान गरी पक्राउ गरिएको हो । मंगलबार चार जना पक्राउ परेका थिए भने बुधबार थप एक जना पक्राउ गरिएको छ ।
वैशाख १ मा सर्वपक्षीय बैठकमार्फत गरिएको पाँच बुँदे सहमतिमा वैशाख ३ भित्र दोषीमाथि कारबाही गर्ने, धार्मिक सहिष्णुता कायम राख्ने र कानुनी प्रक्रिया अनुसार सहयोग गर्ने उल्लेख थियो । उक्त सहमतिमा राजनीतिक दल र मुस्लिम–हिन्दू समुदायका अगुवाहरूको हस्ताक्षर थियो ।
निषेधाज्ञा कायमै, सुरक्षा थप कडा
चैत ३० को झडपपछि लगाइएको कर्फ्यु हटाइए पनि पूर्व बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेटबीचको क्षेत्रमा निषेधाज्ञा यथावत् छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) अनुसार जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । स्थिति नियन्त्रणमा राख्न प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती तथा निगरानी बढाइएको छ । प्रशासनले थप तनाव हुन नदिन शान्ति समितिको संयोजनमा नागरिकस्तरबाट संवाद अघि बढाउने तयारीसमेत गरेको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares