विराटनगर– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग नभएको बताएका छन् । एकैदिन तीन वटा पुल उद्घाटनका लागि मोरङ आएका उपप्रधानमन्त्री सिंहले बुधबार पत्रकारहरुसँगको कुराकानीमा सुधारका लागि राष्ट्रहितलाई ध्यानमा राखेर र जनतालाई केन्द्रमा राखेर विस्तारै काम गर्दै जानुपर्ने र त्यसमा समय लाग्ने बताएका हुन् ।
‘अहिलेको सरकारभन्दा अरु कुनै सरकार बनेको भए के गर्थ्यो ?, अहिलेको सरकार चुनौतिपूर्ण अवस्थामा बनेको हो नि ? सधैं राजनीतिक अस्थिरताले हामी कही पुग्न नसक्ने भएकोले राजनीतिक स्थिरता कायम गर्दै अहिलेका सरकारले सुधारको कामहरु अघि बढाएको छ नि ?,’ उनले भने, ‘कोहीसँग जादुको छडी छैन, समय त लाग्छ नि सुधारका लागि । तानाशाही प्रणालीमा हामी छैनौँ, कसैलाई जबर्जस्ती गर्नुपर्छ हामी भन्न सक्दैनौँ । समय लाग्छ त्यसैले काम गर्दै जानुपर्छ र बहुमत प्राप्त भएपछि काम भइहाल्छ। त्यसैले अहिले राष्ट«हितलाई ध्यानमा राखेर र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छ ।’
प्रजातान्त्रिक व्यवस्थामा सबैले शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने व्यवस्था संविधानले उपप्रधानमन्त्री सिंहको भनाइ थियो । ‘शान्तिपूर्ण भनेर विध्वंशात्मक तथा अशान्तिपूर्ण गतिविधि गरेपछि सरकारले कानुनी राज्यको प्रत्याभूति गराउन र विधिको शासन कायम राख्न आफ्नो प्रक्रिया अगाडि बढाउनु स्वभाविक हो,’ उनले भने, ‘२०४६ साल अगाडि अहिले जस्तो कसैले बोल्न पाउँदैन थियो । २०४६ सालको जनआन्दोलनले कांग्रेसले कम्यूनिष्टको कार्यगत एकताले पञ्चायति व्यवस्था परिवर्तन भएर प्रजातान्त्रिक व्यवस्था आएको हो । त्यसपछिको राजनीतिक घटनाक्रम विकसित हुँदै गएर गणतन्त्र आइसकेपछि दुई पटकको निर्वाचनले संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको हो ।’
संघीयता, समावेशिता, धर्मनिरपेक्षतालगायतका जनअधिकार संविधानसभाबाट आएको संविधानले सुनिश्चित गरेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । ‘संविधानसभाबाट आएको संविधान कसैले सडकबाट फाल्न सक्ने अवस्था छैन किनकी समयको माग अनुसार जनताले चाहेको खण्डमा संविधान संशोधन गरेर अघि बढ्न सकिने संविधानमा व्यवस्था गरिएको छ,’ उनले भने, ‘त्यसैले सडकमा गएर अशान्ति मचाएर, राजनीतिक अस्थिरता कायम गर्नुको साटो विधि र प्रक्रिया मिलाएर जनताले चाहेको अधिकार संविधान संशोधन गरेर स्थापित गर्ने बाटो खुल्ला रहेको सबैले बुझ्नु अपरिहार्य छ ।’
उपप्रधानमन्त्री सिंहले संविधान आइसकेपछि केहीले व्यवस्था परिवर्तन भयो तर हाम्रो अवस्था नै परिवर्तन नभएको गलत भाष्य निर्माण गरिरहेको जिकिर गरे । तर नेपाली समाजलाई नियालेर हेर्दा व्यवस्थामा मात्रै परिवर्तन नभई हाम्रो अवस्थामा पनि परिवर्तन आएको उनको तर्क थियो । ‘पञ्चायति व्यवस्थामा अहिले जस्तो कसैले बोल्नसमेत पाउँदैन थियो तर अहिले सबै असन्तुष्ट पक्षले खुलेर विरोध गर्न पाएको विषय पनि गहन्तापूर्वक बुझ्नु जरुरी छ,’ उनले भने, ‘संविधानले दिएको अधिकारको मात्रै कुरा गरेर त भएन नि, हुन त त्यो पनि गर्नुपर्छ तर अधिकारसँगै दायित्व र जिम्मेवारीको पनि कुरा गर्नुपर्छ । अधिकारको नाममा यो भएन, त्यो भएन भन्नेले आफूले के दायित्व पूरा गरेको पनि हेर्नु परेन ? त्यसैले प्राप्त अधिकार सुरक्षित राख्नुका साथै संस्था गर्दै र त्यसैको जगमा हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज होस् भन्ने चाहना पूरा गर्न आर्थिक परिवर्तनका लागि राजनीतिक स्थिरता चाहिन्छ र त्यसकै लागि कांग्रेस र एमालेको सरकार बनेको हो ।’
राजनीतिक अस्थिरता हुँदा विकास निर्माणका काम, सामाजिक रुपान्तरणलगायतका कुनैपनि क्षेत्रमा राम्रो नभएकाले राजनीतिक स्थिरता ल्याउनका लागि कांग्रेस, एमालेलगातका दलको बलियो सरकार गठन भएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । ‘सरकार बनेपछि नै यो भएन, त्यो भएन, सरकार बनेकै दिनदेखि सरकार ढल्छ भनेपनि ढलेको छैन नि ?,’ उनले भने, ‘अहिलेको जटिल अवस्थामा पनि सरकारले उत्तरदायि काम गरेर अघि बढेको छ । जसले आर्थिक सूचकांकहरु विस्तारै क्रमिक रुपमा सुधार हुँदै गएको छ । सरकारमा जाने वित्तिकै तत्काल परिवर्तन ल्याउने जादुको छडी कसैसँग छैन ।’
क्रान्तिकारी भाषणले मात्रै परिवर्तन ल्याउन सकिदैन तर भाषणमा कुनै राम्रो विचार भए पनि त्यसको कार्यान्वयन गर्न सकेन भने त्यो भाषणको के काम भएको भन्दै उपप्रधानमन्त्री सिंहले प्रश्न गरे । ‘प्रतिबन्धित अवस्था देखिनै जनतालाई अधिकार सम्पन्न बनाउन अहिलेका कांग्रेस, एमाले जस्ता पार्टीले काम त गरेको छ नि ।,’ उनले भने, ‘सडकमा आउनेहरुको माग विधि र प्रक्रिया अनुसार छलफल गरेर सरकारले पूरा गर्न लागि नै रहेको छ । सहकारी, शिक्षकलगायतको आन्दोलनबाट उठेको माग सरकारले विधि र प्रक्रिया अनुसार पूरा गर्दै जाने दायित्व बोध गरी काम अघि बढाएको छ । शान्तिपूर्ण तरिकाले उठेका जायज माग सरकारले उत्तरदायी भएर पूरा गर्छ तर अशान्ति मचाउनेलाई कानुनी राज्यको प्रत्याभूति सरकारले गराउँछ ।’
उनले संविधान संशोधनका लागि कार्यदल गठन गरेर सरकारले प्रक्रिया अघि बढाएको बताए । संविधान संशोधन सहज विषय होइन, त्यसैले अहिले साझा दस्तावेज रहेको संविधान संशोधनमा बढी भन्दाबढीलाई चित बुझाएर गर्नु आवश्यक छ र त्यसका लागि सरकारले प्रक्रियागत रुपमा अघि बढिरहेकोमा सबैले विश्वास गर्नुको विकल्प नभएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares