६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु

द नेप्लिज संवाददाता
३ वैशाख २०८२, बुधबार

तस्बिर : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

Advertisement


काठमाडौँ — हरेक १२ वर्षमा एकपटक आयोजना हुने ऐतिहासिक हलचोक आकाश भैरव जात्रा यस वर्ष वैशाख १ देखि सुरु भएको छ । पुरानो परम्परा अनुसार यो जात्रा सम्पूर्ण वैशाख महिनाभरि विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ ।

जात्राको सुरुवातमा राष्ट्रप्रमुख स्वयं उपस्थित भइ पूजाआजा गर्ने परम्परा छ । जात्रामा आकाश भैरवलाई मुख्य देवताका रूपमा प्रस्तुत गरिन्छ भने चण्डी, कुमारी, पार्वती, महादेव, गंगा, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकालीलगायतका देवी–देवताका नृत्य पनि देखाइन्छ ।

हलचोक आकाश भैरव नाचगान वैशाख ३, ६, ११, १२, १३, १८, १९, २०, २१, २५, २७, र ३१ गते केलटोल, मरु डबली, असन डबली, दमाई टोल, वतु चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रम्हटोल, खुसिबु, सोहखुट्टे, न्योखा, ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा क्रमशः प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ ।

गुठीका अभिलेख अनुसार यो जात्राको सुरुवात नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले गरेका थिए । वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवले महालक्ष्मीको दर्शन पाएका थिए । उहाँकै प्रेरणाले राज्यलाई संकटबाट जोगाउन हलचोकमा आकाश भैरवसहितका देवगणलाई तान्त्रिक विधिबाट स्थापना गरिएको हो ।

ऐतिहासिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षणमा स्थानीय तहको सक्रियता पनि उदाहरणीय छ । यस जात्राको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाबाट २५ लाख ४० हजार रुपैयाँ र नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

जात्राको प्रमुख देवता आकाश भैरव नीलो वर्णका त्रिनेत्री देवता हुन्, जसले खड्ग धारण गर्नुहुन्छ । अन्य देवगणहरूमा चण्डी, कुमारी, गङ्गा, महादेव, पार्वती, आकाशदेवी, बाराही, महाकाली, र दक्षिणकाली रहेका छन् जसले विभिन्न आयुध र स्वरूपमा जात्रामा भाग लिन्छन् ।

हलचोक आकाश भैरव जात्रा काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने परम्परा हो । स्थानीय तहको सक्रियता र गुठी व्यवस्थापनको सहकार्यले यो ऐतिहासिक जात्रालाई निरन्तरता दिइरहेको छ ।
 

प्रकाशित : ३ वैशाख २०८२, बुधबार 21:04
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved