७ वैशाख २०८२, आइतबार 20 Apr 2025, Sunday

कम्तीमा सय पाकिस्तानी यात्रु मुक्त

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र लडाकूहरूले ४ सयभन्दा बढी यात्रु बोकेको रेलमा आक्रमण गरी केहीलाई बन्धक बनाएको सैन्य स्रोतहरूले मंगलबार बीबीसीलाई जानकारी दिएका छन् । बलुच लिबरेशन आर्मी (बीएलए) ले क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा गोली प्रहार गरेको थियो । यो अलगाववादी समूहले रेल ट्रयाकमा विस्फोट गराएर सुदूर सिबी जिल्लामा रेल नियन्त्रणमा लिएको दाबी गरेको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहानसम्म कम्तीमा १६ लडाकू मारिएका छन् र सय यात्रुहरू मुक्त भएका छन । तर बीबीसीले यी तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । मुक्त गरिएका यात्रुहरूमा १७ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । स्थानीय रिपोर्टअनुसार, लडाकूहरूले बलुच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र नछोडे बन्धक बनाइएकाहरूको हत्या गर्ने धम्की दिएका थिए । हाल उद्धार अभियान जारी छ । बलुचिस्तान सरकारका प्रवक्ताले मंगलबार स्थानीय पत्रिका डन लाई बताएअनुसार रेलमा ‘तीब्र गोलीबारी’ भएको थियो ।

एक वरिष्ठ प्रहरी अधिकारीले समाचार संस्था एएफपीलाई भने अनुसार रेल एउटा सुरुङअघि नै रोकिएको छ, जुन चारैतिर पहाडहरूले घेरिएको छ । एक वरिष्ठ सैनिक अधिकारीले बीबीसीलाई पुष्टि गरेअनुसार, उक्त रेलमा क्वेटाबाट यात्रा गरिरहेका सय भन्दा बढी सेना अधिकारीहरू थिए ।

पाकिस्तानी अधिकारीहरू साथै बेलायत र अमेरिका लगायतका पश्चिमी मुलुकहरूले बीएलएलाई आतंककारी संगठनको रूपमा सूचीबद्ध गरेका छन् । यो समूहले दशकौँदेखि स्वतन्त्रताको लागि विद्रोह गर्दै आएको छ । प्रहरी चौकी, रेलवे लाइन र राजमार्गहरूमा घातक आक्रमण गर्दै आएको छ ।

उक्त समूहले मंगलबार बन्धकहरूको उद्धार प्रयास भए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको थियो । ‘हामी कसरी बच्न सक्यौं भन्ने बयान गर्न शब्द नै छैन, यो एकदमै डर लाग्दो क्षण थियो,’ उद्धार गरिएका बन्धकमध्येका एक, मुहम्मद बिलालले एएफपी समाचार एजेन्सीलाई बताए । 

अरू एक यात्रु ४९ वर्षीय अल्लाहदित्ताले भने,‘उनलाई मुटुको समस्या भएकाले जान अनुमति दिइएको थियो । उनको अनुसार आक्रमणकारीहरूले रेलमा आक्रमण गर्दा यात्रुहरु आँतिएर सिटमुनि लुक्न थाले । क्वेटाका एक स्थानीय रेलवे अधिकारीले बीबीसीलाई जानकारी दिएअनुसार महिला र बालबालिका सहितको ८६ यात्रुको एउटा समूह रेलबाट ओर्लेर नजिकैको पनिर रेलवे स्टेशनसम्म पैदल पुगेका थिए ।

ती अधिकारीका अनुसार ती सबै यात्रुहरू बलुचिस्तान प्रान्तकै स्थानीय थिए । एक व्यक्तिले आफ्नो साढू अझै पनि रेलमा फसिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘म घटनास्थलसम्म पुग्न खोजेँ, तर धेरैजसो सडकहरू बन्द थिए ।’ यसैबीच यात्रुहरूको चिन्तित परिवारजन क्वेटा रेलवे स्टेशनमा प्रियजनहरूको जानकारी लिन खोजिरहेका छन् ।

एक यात्रीका छोरा, मुहम्मद अशरफले बीबीसी उर्दूसँग भने, ‘मंगलबार बिहान क्वेटाबाट लाहोर हिँडेका मेरा बाबुसँग सम्पर्क गर्न सकेको छैन ।’ अर्का एक आफन्तले भने, ‘मेरा बहिनी र उनको सानो बच्चा क्वेटाबाट मुल्तान जाँदै थिए । म तिनको बारेमा केही जानकारी पाउन सकिरहेको छैन ।’ ‘कसैले मलाई केही भन्दैन कि उनीहरू सुरक्षित छन् कि छैनन्,’ इमरान खानले रोयटर्स समाचार एजेन्सीलाई भने ।

अधिकारीहरूका अनुसार हालसम्म उनीहरूले रेलभित्र रहेका कसैसँग पनि सम्पर्क गर्न सकेका छैनन् । उक्त क्षेत्रमा इन्टरनेट र मोबाइल नेटवर्क सेवा नभएको अधिकारीहरूले बीबीसीलाई जानकारी दिए । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । यसमा प्रचुर मात्रामा प्राकृतिक स्रोतहरू छन् । तर यो सबैभन्दा कम विकसित क्षेत्र मानिन्छ ।

प्रकाशित : २८ फागुन २०८१, बुधबार 13:04
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved