विराटनगर- सरकारले चैते धानको मूल्य यो वर्ष गत वर्षको तुलनामा प्रतिप्रतिक्विन्टल ९३.४१ रुपैयाँले बढाएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य सरकारले निर्धारण गरेको छ ।
गत आर्थिक वर्ष ०८०/८१ का लागि समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा निर्धारण गरिएको थियो ।
सरकारले गत वर्षदेखि समर्थन मूल्य निर्धारण थालेको हो । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा मूल्य कायम गरिन्छ ।
मुलुकभर चैते धान रोपाइँ सुरु हुँदैछ । न्यूनतम समर्थन मूल्य बाली लगाउनुअघि नै निर्धारण गरे पछि किसानले बाली लगाउने/नलगाउने सोच बनाउँछन् ।
यसरी धानको मूल्य तोकिनु किसान हितमा भए पनि अलिक ढिलो जानकारहरुको बुझाइ छ । उनीहरुका अनुसार बाली लगाउनु तीन महिना अगाडि न्यूनतम मूल्य निर्धारण गर्नुपर्छ । केही ठाउँम चैते धान रोपिसकिएको छ । केहीले रोप्दै छन् । पूर्वजानकारी हुँदा कुन जातको र कति रोप्ने भन्ने निर्णय गर्न सहज हुन्छ ।
न्यूनतम मूल्यका लागि कृषकको उत्पादन लागत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश र पालिकाको तथ्यांक, मिलसम्म लैजाने ढुवानी र केही प्रतिशत मुनाफासहित राखेर मूल्य तोकिन्छ । साथै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सीमावर्ती क्षेत्रको मूल्यको पनि अध्ययन गर्छ ।
किसानलाई प्रोत्साहन गर्न दिशामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कमजोर देखिएको छ । उसले लक्ष्यअनुसार धान खरिद गर्न सकेन ।
देशभरबाट कम्पनीले यो वर्ष ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने भनेको थियो । तर हालसम्म १ लाख १८ हजार ८ सय २० क्विन्टल मात्रै धान खरिद गर्न सकेको छ ।
यो परिमाणमा धान खरिद गर्दा साढे दुई अर्ब बढी रकम खर्च हुने अनुमान थियो । हालसम्म कम्पनीले देशभरबाट धान खरिद गर्दा ४१ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ । देशभरका कम्पनीले ९ वटा शाखाबाट धान खरिद गरेको हो ।
कम्पनीले धान खरिदमा आफ्नो लक्ष्य पूरा गर्न नसके पनि सरकारको उद्देश्य पूरा भएको कम्पनीको बुझाइ छ । कम्पनीको अनुसार निजी कम्पनीले सरकारले निर्धारण गरेको मूल्यमा किसानसँग धान किनेको छ ।
सरकारले मूल्य मात्रै निर्धारण नगरी धान खरिदमा पनि सहयोग गर्नुपर्ने अवस्था छ । किसान चैतै धान रोपाइँ गर्दा केही सहज भए पनि भित्र्याउँदा निकै सकस हुन्छ।
तेल बाली लगाएपछि धान भित्र्याउँदा बर्खा सुरु हुन्छ । बाली भित्र्याउँदा अप्ठ्यारो हुने भएकाले सरकारले त्यता पनि ध्यान दिनुपर्ने जानकारहरुको भनाइ छ । बर्खामा धान जोगाउन हम्मे पर्छ । यस्तो समयमा धान ल्याएर सुकाउने खालको व्यवस्था हुनुपर्छ । चेतै धान रोपाइँ हुने क्षेत्रको पहिचान गरेर खरिद गर्न सकिएमा उत्तम हुने किसानको भनाइ छ ।
नेपालमा २ लाख हेक्टर हराहारीमा करिब ५ लाख मेट्रिक टन चैते धान उत्पादन हुन्छ। चालु आर्थिक वर्ष ०८१/८२ मा १ लाख ९ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदा ५ लाख ४४ हजार मेट्रिक टन धान उत्पादन भयो ।
गत आवमा १ लाख ४ हजार क्षेत्रफलमा खेती हुँदा ५ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै अघिल्लो आवमा १ लाख ८ हजार हेक्टरमा चैते धान रोपाइँ गरी ५ लाख ४४ हजार मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३०५० मिटर उचाइसम्म धान खेती हुन्छ ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब २४.१ प्रतिशत कृषिको र कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । खाद्य तथा पोषण सुरक्षा तथा धानले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान राख्न यो योगदानले उल्लेखनीय महत्व राख्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार केही वर्षदेखि लगातार धान बाली हुने क्षेत्रफल घट्दै गएको छ । धानको उत्पादन भने बढ्दो क्रममा छ । पछिल्लो पाँच वर्षमा धानबाली हुने क्षेत्रफल ५२ हजार हेक्टर घटेको छ ।
उत्पादन भने ३ लाख मेट्रिक टनले बढेको छ । धान बालीको क्षेत्रफल घट्नु तर उत्पादन बढ्नुमा सक्रिय मनसुन, रासायनिक मलको उपलब्धता, उन्नत तथा विकासे जातको प्रयोगलगायत कारण रहेको कृषि मन्त्रालयको दाबी छ ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares