६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

पाकिस्तानमा १८२ ट्रेन यात्रु बन्धक, २० सैनिकको मृत्यु

द नेप्लिज संवाददाता
२७ फागुन २०८१, मङ्गलबार

Advertisement

 विराटनगर- पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंककारी समूहले क्वेटाबाट खैबर पख्तुनख्वा जाँदै गरेको जाफर एक्सप्रेसलाई मंगलबार नियन्त्रणमा लिँदै १८२ यात्रुलाई बन्धक बनाएका छन्। यस क्रममा भएको गोली हानाहानमा २० सैनिकको मृत्यु भएको छ । घटनास्थलमा भएको भिडन्तमा ट्रेन चालक गम्भीर रूपमा घाइते भएका छन्।

दक्षिण-पश्चिमी पाकिस्तानको बलूचिस्तान क्षेत्रमा हतियारधारी समूहले ट्रेन रोकेर गोलीबारी गरेका थिए। बलूचिस्तान प्रान्तको स्वतन्त्रता माग गर्दै आएको उग्रवादी समूह बलूच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको छ। बीएलएले १८२ यात्रुलाई बन्धक बनाएको दाबी गर्दै सुरक्षा बलहरू नहटाए उनीहरूको हत्या गर्ने चेतावनी दिएको छ।

पाकिस्तानी अधिकारीहरूले घटनास्थलमा थप सुरक्षा बल परिचालन गरिएको जानकारी दिएका छन्। बलूचिस्तानको सिबी अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ। घटनास्थल पहाडी क्षेत्र भएकाले सुरक्षा बलहरूलाई त्यहाँ पुग्न कठिनाइ भइरहेको छ।

रेलवे नियन्त्रण कक्षका अनुसार, ट्रेनमा करिब ४५० यात्रु सवार थिए। ट्रेनलाई सुरुङ नम्बर ८ मा रोकेर आतङ्ककारीहरूले नियन्त्रणमा लिएका थिए। रेलवे प्रशासन यात्रुहरू र कर्मचारीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ।

बलूचिस्तान पाकिस्तानको प्राकृतिक स्रोतहरूले भरिपूर्ण क्षेत्र भए पनि यहाँ लामो समयदेखि हिंसात्मक गतिविधिहरू जारी छन्। अलगाववादी समूहहरूले निरन्तर सरकारी सुरक्षा बलहरूमाथि आक्रमण गर्दै आएका छन्। पछिल्ला केही वर्षमा यहाँ भएका आक्रमण हरूले पाकिस्तानको सुरक्षा व्यवस्थालाई गम्भीर चुनौती दिएका छन्।

सरकारले नागरिकलाई अफवाहमा विश्वास नगर्न आग्रह गर्दै घटनाको छानबिन अघि बढाइसकेको जनाएको छ। बलूचिस्तान सरकारले आपत्कालीन सुरक्षा उपायहरू अवलम्बन गर्दै सम्पूर्ण सुरक्षा संयन्त्रलाई सतर्क अवस्थामा राखेको छ।

यस बीच, बलूचिस्तान रेलवेका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै महिलाहरू र बालबालिकासहित जम्मा ८० जना यात्रुहरूलाई छोडिएको पुष्टि गरेका छन् ।

बीएलएको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, 'हामीले सिब्बी जिल्लामा ट्रेनमा आक्रमण गर्नुअघि रेलमार्ग विस्फोट गराएका थियौँ। अहिले ट्रेन हाम्रो नियन्त्रणमा छ।'

पाकिस्तान प्रहरीले पत्रकारहरूलाई दिएको जानकारीअनुसार हालसम्मको आक्रमणमा तीन जना घाइते भएका छन्, जसमा ट्रेनका चालक पनि  छन्।

सरकारी प्रवक्ता शाहिद रिन्दले सुरक्षा बलहरू घटनास्थलतर्फ पठाइसकिएको बताएका छन्।

बलूचिस्तान सरकारका प्रवक्ताले डन पत्रिकालाई बताएअनुसार ट्रेनमा भीषण गोलीबारी भइरहेको खबर आएको छ। बलूच लिबरेशन आर्मीले दाबी गरेको छ कि ट्रेनमा रहेका केही यात्रीहरू र सुरक्षा बलका जवानहरू उनीहरूको कब्जामा छन्। यदि उनीहरूविरुद्ध कुनै कारबाही गरियो भने यसको गम्भीर परिणाम आउने चेतावनी दिएका छन्।

क्वेटाका एक वरिष्ठ रेल अधिकारी मुहम्मद काशिफले ट्रेनमा ४०० देखि ५०० यात्रु सवार रहेको जानकारी दिए। उता, रेलवे सुरक्षा अधिकारी जिया काकरका अनुसार उक्त क्षेत्रमा नेटवर्कको समस्या भएकाले ट्रेन चालक दलका कुनै पनि सदस्यसँग सम्पर्क हुन सकेको छैन।

मिडियामा जारी गरिएको एक विज्ञप्तिमा सरकारी प्रवक्ताले सिब्बी अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको र घटनास्थलमा एम्बुलेन्स पठाइसकिएको बताएका छन्।

सरकारी प्रवक्ताका अनुसार रेलवे विभागले राहत ट्रेन घटनास्थलतर्फ पठाइसकेको छ। तर पहाडी र दुर्गम क्षेत्र भएकाले घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको छ।

क्वेटा जिल्ला अस्पतालका प्रवक्ता डा. वसीम बेगले बीबीसी न्यूजलाई जानकारी दिएअनुसार सिब्बी र क्वेटाका प्रमुख अस्पतालहरूमा आपतकालीन व्यवस्था मिलाइएको छ। विशेष वार्डहरू बनाइएको छ र अस्पतालका कर्मचारीहरूलाई घाइतेहरूको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

उनले बताएअनुसार सिब्बी अस्पतालमा १०० जना बिरामीको उपचार गर्न सकिने क्षमता छ, तर गम्भीर घाइतेहरूलाई क्वेटा पठाइनेछ।

जाफर एक्सप्रेसमा रहेका यात्रुहरूका परिवारजनहरू क्वेटा रेलवे स्टेशनमा रहेको काउन्टरबाट जानकारी लिन प्रयास गरिरहेका छन्। आज बिहान क्वेटाबाट लाहोरतर्फ हिँडेका यात्री मुहम्मद अशरफका छोराले बीबीसीलाई जानकारी दिँदै आफू दिउँसो २ बजेयता बुबासँग सम्पर्क गर्न नसकेको बताए ।

बलूचिस्तानका मानिसहरूको विश्वास छ कि भारत-पाकिस्तान विभाजनको समयमा उनीहरूलाई जबरजस्ती पाकिस्तानमा समावेश गरियो, जबकि उनीहरू आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा हेर्न चाहन्थे।

तर यो सम्भव नभएपछि बलूचिस्तानका जनताको पाकिस्तान सरकार र सेनासँग संघर्ष जारी रह्यो, जुन अझै पनि कायम छ।

हाल बलूचिस्तानको स्वतन्त्रताको माग गर्दै धेरै छुट्टावादी समूहहरू सक्रिय छन्। तीमध्ये सबैभन्दा पुरानो र प्रभावशाली संगठनमध्ये एक हो बलूचिस्तान लिबरेशन आर्मी (बीएलए) ।

यो संगठन पहिलो पटक १९७० को दशकको सुरूआतमा अस्तित्वमा आएको थियो। जब जुल्फिकार अली भुट्टोको सरकारविरुद्ध बलूच समुदायले सशस्त्र विद्रोह सुरू गरे। तर सैन्य तानाशाह जियाउल हकले सत्ता हातमा लिएपछि बलूच राष्ट्रवादी नेताहरूसँग वार्ता भयो, जसको नतिजा स्वरूप सशस्त्र विद्रोह कमजोर हुँदै गयो र बीएलए पनि हराउँदै गयो।

सन् २००० मा भने यो समूह पुनः सक्रिय बन्यो। केही जानकारहरूका अनुसार बीएलएको आधिकारिक स्थापना पनि यही वर्ष भएको मानिन्छ।

सन् २००० देखि नै यस संगठनले बलूचिस्तानका विभिन्न क्षेत्रमा सरकारी संस्थानहरू र सुरक्षा बलहरूलाई लक्षित गर्दै आक्रमणको सिलसिला सुरू गर्‍यो। यस संगठनमा प्रायः मैरी र बुगती जनजातिका सदस्यहरू छन्, जसले बलूचिस्तानको क्षेत्रीय स्वायत्तताका लागि पाकिस्तानी सरकारविरुद्ध लडिरहेका छन्।

सरदार अकबर खान बुगती, जो बलूचिस्तानका पूर्व मुख्यमन्त्री पनि थिए, बीएलएका वरिष्ठ नेताहरूमा गनिन्थे। २६ अगस्ट २००६ मा पाकिस्तानी सुरक्षा बलको अपरेसनमा उनको हत्या गरियो।

यसपछि, अधिकारीहरूले नवाब खैर बख्श मिरीका छोरा नवाबजादा बालाच मिरीलाई संगठनको प्रमुख बनाएका थिए। तर नोभेम्बर २००७ मा उनको पनि मृत्यु भएको खबर आयो। यही वर्ष पाकिस्तान सरकारले बलूचिस्तान लिबरेशन आर्मीलाई उग्रवादी संगठनको सूचीमा राख्यो।

यो समूह बलूचिस्तानलाई विदेशी प्रभाव, विशेष गरी चीन र पाकिस्तानी सरकारबाट छुटकारा दिलाउन चाहन्छ। बीएलएको विश्वास छ कि बलूचिस्तानका प्राकृतिक स्रोत-साधनमाथि पहिलो अधिकार बलूच जनताकै हुनुपर्छ।

 

 

प्रकाशित : २७ फागुन २०८१, मङ्गलबार 22:46
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved