काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हाश्मीबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा शुभकामना आदानप्रदान पश्चात उनीहरुबीच दुई देशको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार एवं लगानी लगायतका विषयमा छलफल भएको हो ।
नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भए यता दुई देशबीचको सम्बन्ध घनिष्ठ र समधुर रहिआएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसलाई आगामी दिनहरूमा अझ सुदृढ बनाउनुपर्नेमा जोडदिएका हुन् । ‘हामीले हाम्रा दुई मुलुकबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत् सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ’ उनले भने, ‘दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रा सम्बन्धको सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।’
व्यापार र आर्थिक क्षेत्रहरुमा सहयोग विस्तारमा जोड दिँदै उनले लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध लगायत पारस्परिक सहयोगका क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्ने बताए । ‘नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक देश हो ’ उपराष्ट्रपति यादवले भने, ‘विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा एकल विन्दु सेवा केन्द्र स्थापना गरेको छ ।’ उनले जलविद्युत, पर्यटन, पूर्वाधार, आईसीटीलगायतका क्षेत्रमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।
‘नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गर्दछु’ उनले छलफलका क्रममा भने, ‘नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तानले प्राविधिक सहायता कार्यक्रमअन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
धेरै विषयहरुमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले हाम्रा चासोहरु बहुपक्षीय मञ्चहरुमा मिल्दाजुल्दा रहेको बताए । ‘हाम्रा दुवै देशले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन र सार्क लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आएको छ’ उनले भने, ‘दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नुपर्छ ।’ सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपाल रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न हरसम्भव प्रयासरत रहेको उनले बताए । ‘यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ,’ उनले भने, ‘हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौं ।’
उपराष्ट्रपति यादवले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेको उल्लेख गरे । ‘जलउत्पन्न प्रकोप, बाढी, डुबान र खडेरी दीर्घकालीन समस्या बनेको र जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग लड्न हामीले मिलेर काम गर्नुपर्दछ,’ उनले भने ।
नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरुको समाधान परस्पर सहकार्यबाट गर्नुपर्नेमा जोड दिएका छन् ।उनले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि नेपाल सरकारलाई बधाई दिँदै यसमा पाकिस्तानको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares