२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

पथभ्रष्ट–मतिभ्रष्ट कांग्रेस नेतृत्व

अनुसन्धानको घेरामा रहेकी सांसद मञ्जु खाँणलाई भ्रष्टाचारसम्बन्धी अध्ययन उपसमितिको संयोजक नियुक्त

५ जेठ २०८२, सोमबार

Advertisement

विराटनगर — सार्वजनिक लेखा समितिले भैरहवा विमानस्थल निर्माणमा भएको अनियमितता छानबिन गर्न गठित अध्ययन उपसमितिको संयोजकमा अनुसन्धानको दायरामा रहेकी सांसद मञ्जु खाँणलाई नियुक्त गरेको छ।

उनी नेपाली कांग्रेसकी सर्वाधिक विवादित नेतृमा पर्छिन् । प्रजातन्त्रको पुनर्बहालीदेखि साढे तीन दशकको अवधिमा उनी माथि लागेको आर्थिक बेथितिको फेहरिस्तको निस्पक्ष ढंगले छानबिन हुने हो भने उनको ठेगाना पनि अन्ततः कारागार नै हुने मञ्जुका निकटजनहरु बताउँछन् ।विभिन्न सरकारी योजना÷आयोजनामा निकट कार्यकर्तालाई करारको नियुक्ति पत्र उपलब्ध गराएर घरमै तलब पुर्याउने प्रबन्ध मिलाएको उनीमाथिको आरोपको पनि कहिल्यै छानबिन भएन । 

पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएपछि उनकी पत्नी मञ्जु खाँण पनि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनको घेरामा परेकी थिइन्। त्यही सांसदलाई सार्वजनिक लेखा समितिले भ्रष्टाचारको उजुरी छानबिन गर्न जिम्मेवारी दिएको हो।

समितिको आइतबार बसेको बैठकले सांसद खाँणलाई अध्ययन उपसमितिको संयोजक तोक्ने निर्णय गरेको हो। लेखा समितिका सचिव तथा संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त जानकारी दिएका हुन्। यसअघि उपसमितिको संयोजक रहेका एमाले सांसद एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले आफूमाथि प्रश्न उठेपछि पदबाट अलग हुने घोषणा गरेका थिए।

स्रोतका अनुसार अख्तियारले २०८० सालको साउन र भदौमा खाँण दम्पतीमाथि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा उनीहरूसँग सम्पत्ति विवरणसम्बन्धी फारम भराउने र सोधपुछ गरिएको थियो।

२०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस नेता बालकृष्ण खाँण २०७९ पुससम्म गृहमन्त्री रहेका थिए। २०७९ सालको निर्वाचनमा रुपन्देहीबाट पराजित भएपछि उनकी पत्नी मञ्जु खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सांसद बनेकी थिइन्।

शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा पेश गरेको अभियोगपत्रअनुसार तत्कालीन गृहमन्त्री खाँणले घुसस्वरूप १ करोड २४ लाख ५० हजार रुपैयाँ लिएको प्रमाण पेश गरिएको छ। केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उक्त रकम खाँणले लिएको स्वीकारेको उल्लेख गरिएको छ।

त्यसै प्रकरणमा आरोपित दुलाल र भण्डारीले बालकृष्णसँगै मञ्जु खाँणको नाम पनि जोडेर बयान दिएका थिए। तर मञ्जुमाथि प्रहरीले अनुसन्धान नगरी मुद्दा दायर गरेको भन्दै कानुन व्यवसायीहरूले जिल्ला अदालतको थुनछेक बहसमा प्रश्न उठाएका थिए।आफू फसेमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पनि नछाड्ने मञ्जुले सार्वजनिक रुपमै बोले पछि पार्टीको उच्च तहकै दबाबमा यो मुद्दा दबाइएको हो ।

दुलालबाट बरामद मोबाइलमा तत्कालीन गृहमन्त्री खाँण र सचिव टेकनारायण पाठकबीच भएको संवादमा ‘मन्त्रीज्यूको सामान रेडी भएन?’ भन्ने अडियो क्लिप घुस लेनदेनको संकेत भएको सरकारी दाबी छ।

यही प्रकरणमा आरोपितहरू पक्राउ परेपछि बालकृष्ण खाँणले आफ्ना स्वकीय सचिवमार्फत सानु भण्डारीका दाजु राजु भण्डारीलाई १ करोड रुपैयाँ दिएको र त्यसमा ३० लाख शेर्पाले हस्तान्तरण गरेको  प्रहरी अनुसन्धानमा स्पष्ट उल्लेख छ। उक्त घटनासँगै मञ्जु खाँण पनि अनुसन्धानको घेरामा आएकी थिइन्।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार सांसद मञ्जु खाँण समितिकी नियमित सदस्य भएकाले उनी संयोजक बनेको हो। ‘उहाँ पनि अरु सदस्यजस्तै हुनुहुन्छ, त्यसैले संयोजक हुनु अस्वाभाविक होइन,’ पोखरेलले भने, ‘उपसमितिले उठेका प्रश्नहरूको जवाफ दिन सक्छ।’ पोखरेल दम्पति पनि मोरङमा भएको ठूलै सहकारी ठगीमा विवादमा छन् । कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले सुरु गरेको अनुसन्धान भने हालसम्म टुंगोमा पुगेको छैन।
 

#सांसद #मञ्जु #खाँण

प्रकाशित : ५ जेठ २०८२, सोमबार 08:00
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved