५ वैशाख २०८२, शुक्रबार 18 Apr 2025, Friday

परिचयपत्र र हतकडी देखाएर लुटपाट गर्ने प्रहरीहरु पक्राउ

जितेन्द्र साह
२० फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारीलाई लुट्ने योजनामा प्रहरीको समेत संलग्नता पुष्टि भएको छ । नेपाल प्रहरीका दुई जना तथा सशस्त्र प्रहरीका एकसहित ६ जना मिलेर सोमबार काठमाडौं महानगरपालिका–३ तिलिङेटारमा रोशन गुरुङको १४ लाख लुटेका हुन् । उनीहरुले प्रहरीको परिचयपत्र तथा हतकडी देखाएर लुटपाट गरेका थिए । 

यसको कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गरे पछि थप खुलासा भएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न नेपाल प्रहरीका सहायक हवल्दार बाँके बैजनाथका खगेन्द्र मल्ल ठकुरी, खोटाङ रावाबेंशी घर भएका जवान हिरा मंग्राती, सशस्त्र प्रहरीका सहायक हवल्दा प्यूठानका राजेन्द्र कुमार केसीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा मोरङको सुन्दरहरैचा–२४ का २४ वर्षीय कपिल बस्नेत, सुनसरीको इटहरी–६ बस्ने दोलखाको रातमाटे गाउँपालिकाका ३१ वर्षीय संजोक तामाङ र विराटनगर बस्ने मोरङको बेलबारीका २० वर्षीय मनिष कुमार राय रहेको नेपाल प्रहरीले जनाएको छ । 

गुरुङले क्रिप्टो कारोबार गर्ने गरेको सूचनाका आधारमा उनीहरुले तीन प्रहरीलाई समेत साथमा राखेर मुद्दामा फसाइदिने भन्दै पैसा लिएर छाडिदिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका प्रहरीसहितको टोलीसँग १२ लाख १० हजार बरामद भएको छ । प्राप्त जानकारी अनुसार काठमाडौँको टोखा–८ बस्ने धादिङको खनियावास–४ का २६ वर्षीय रोशन गुरुङलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको परिचयपत्र र हतकडी देखाएर आफ्नो साथमा रहेको चौध लाख रुपैयाँ लुटिएको उनले प्रहरीसमक्ष बताएका थिए । अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीका तीन अधिकारीसहित ६ जना संलग्न देखिन आएको उक्त परिसरबाट प्राप्त विवरणमा उल्लेख छ । प्रारम्भिक अनुसन्धानमा गुरुङले एक अर्ब सतासी करोड सात लाख तेह्र हजार एक सय ६२ रुपैयाँ कारोबार गरेको खुलेको छ । कारोबारी गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले भनेको छ ।
 

प्रकाशित : २० फागुन २०८१, मङ्गलबार 21:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved