४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

आईपीओ अनुमति माग्दै ऊर्जा उद्यमी

द नेप्लिज संवाददाता
१० फागुन २०८१, शनिबार

Advertisement

विराटनगर- निजी क्षेत्रका ऊर्जा उद्यमीले अबको एक दशकमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् ।

रणनीतिक महत्त्वको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्यान्वयलाई सहयोग गर्न र लगानी विस्तारका लागि जलविद्युत् आयोजनाको संस्थापक सेयरमा क्राउड फाइनान्सिङको माध्यमबाट लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरूको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले यो क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन संघीय संसद्को सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ ।

लेखा समितिको ०८० पुस १२ को बैठकले साधारण सेयर बिक्री गर्न ‘रियल नेटवर्थ’ ९० भन्दा बढी हुनुपर्ने भन्ने निर्देशनलाई देखाएर नेपाल धितोपत्र बोर्डले ४२ वटा जलविद्युत् कम्पनीको आईपीओ अनुमति रोकेको इपानले जानकारी दिएको छ ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनामा वित्तीय व्यवस्थापनमा समस्या भएको तथा स्थानीयले कहिले सेयर दिने हो भनेर गरेको प्रश्नको समेत उत्तर दिन नसकेको भन्दै इपानका अध्यक्ष गणेश कार्कीले सहजीकरण गरिदिन लेखा समितिलाई आग्रह गरिएको बताए ‌।

समितिको पूर्ववत् निर्णयलाई सच्याइदिन इपानले आग्रह गरेको छ। अध्यक्ष कार्कीले  विद्यमान कानुनी व्यवस्थाका आधारमा साधारण सेयर बिक्रीका लागि सहजीकरण गरिदिन संसदीय समितिलाई अनुरोध गरिएको बताए । 

इपानमा ६ सय ५० कम्पनी आबद्ध छन् । कूल उत्पादित तीन हजार चार सय ५० मेगावाट विद्युतमध्ये नीजि क्षेत्रबाट मात्रै दुई हजार सात सय ४० मेगावाट बराबरका एक सय ९० आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।

चार हजार ६३ मेगावाट बराबरका एक सय ४१ आयोजना निर्माणाधीन र चार हजार तीन सय ६३ मेगावाट बराबरका एक सय ४१ आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा  छन् ।

सर्वेक्षण कार्य सम्पन्न गरेर  विद्युत् प्राधिकरणमा पीपीएका लागि आवेदन दिएका आयोजना आठ हजार मेगावाट बढी छन् । निर्माण अनुमतिपत्र प्राप्त गर्नका लागि विद्युत् विकास विभागमा आवेदन दिएका आयोजनाको क्षमता १० हजार सात सय मेगावाट बराबर छन् । 

ती आयोजनामा निजी क्षेत्रको तर्फबाट अहिलेसम्म १५ खर्ब रुपैयाँ लगानी भइसकेको छ । आगामी १० वर्षमा ३० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक रहेको इपानको दाबी छ ।

जलविद्युत् आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत सेयरधनीको आयोजना निर्माणमा लिएको ऋण चुक्ता नहुन्जेलसम्म आधारभूत सेयरधनीको एकतिहाइ सेयर लकइन अवधि सकिएपछि पनि बिक्री गर्न नपाउने व्यवस्थाले इक्विटी लगानीको वातावरणमा असर पर्ने इपानले जनाएको छ ।

प्रकाशित : १० फागुन २०८१, शनिबार 10:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved