६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

२९ महिना पछि पक्राउ परे ‘सार्पसुटर’ गुड्डु पटेल

जितेन्द्र साह
१८ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर– काठमाडौँ मनोहरा नगरपालिकास्थित गोठाटारमा २०७९ को ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गरिएको थियो । यो हत्यामा संलग्न भएको आरोपमा तत्कालै २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुस्मिता (सुमी) स्याङताङलाई प्रहरीले पक्राउ गरेको थियो ।

तर यो अपराध कथा यही टुंगिएको थिएन । मोहम्मदको हत्यामा मुख्य आरोपीहरु फरार रहेकाले प्रहरी अनुसन्धानको खाता खुलै थियो । पक्राउहरुले यो घटनाको हर्ताकर्ता भारतीय आपराधिक गिरोहका सदस्यहरु भएको प्रहरी बयानमा भनिसकेका थिए । संघीय राजधानीमा भारतीय आपराधिक समूह आएर गरेको हत्यामा देशकै सुरक्षा व्यवस्था र प्रहरीको क्षमतामाथि  प्रश्न उठेको थियो । 

यो अपराधभित्रको पाटो खोतल्दै जाँदा मोहम्मदलाई गोली प्रहार गर्ने भारतीय आपराधिक गिरोहसँग सम्बद्ध गुड्डु पटेल भएको खुलेको थियो । गत वैशाखमा पर्सा प्रहरीले मोहम्मद हत्याका मुख्य योजनाकार बब्लु पासवानलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । बब्लुकै बयानपछि हत्याका मुख्य सुटर पटेल रहेको पुष्टि भएको थियो ।

त्यसपछि  खोजी गरिरहेको प्रहरीले पटेल नेपालमै लुकिरहेको सूचना पाएको थियो । भारतमा समेत अपराधका अनेकन घटनामा संलग्न रहेका पटेल उता पनि सर्वाधिक खोजी भइरहेका अपराधीको सूचीमा थिए । सुरक्षित हुने ठानेर उनी नेपाल भूमिमै  बसिरहेका थिए । सुरुमा तराईका जिल्लाहरूमा बसेका थिए । बब्लु पक्राउ परे पछि तराईमा तीब्र खोजी भए पछि उनी काठमाडौं आएको प्रहरीले जनाएको छ ।

केही दिनदेखि काठमाडौँको टोखा क्षेत्रमा भएको सुराकीबाट सूचना पाए पछि नेपाल प्रहरीले आइतबार उनलाई लखेट्दै गोली हानेर भए पनि पक्राउ गर्न सफल भएको छ । टोखाबाट झोर जाने बाटोमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिन ४ राउण्ड गोली प्रहार गरेको थियो । 

सुरुमा दुई राउण्ड हवाई फायर गरेको र भाग्न थाले पछि थप दुई राउण्ड गोली चलाउनु परेको एक प्रहरी अधिकृतले बताए । ‘सार्पसुटर’ पटेललाई घुँडामुनि गोली हानी नियन्त्रणमा लिइएको थियो । पटेललाई थप उपचारका लागि आइतबार राति ट्रमा सेन्टर लगिएको छ ।
 
गोली लागेर ढले पछि लगतै पटेललाई प्रहरीले उपचारको लागि सुरुमा त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो । यो घटनाका योजनाकार बब्लु पासवान भने भारतीय अंडरवल्र्ड डन बब्लु श्रीवास्तवसँग मिलेर काम गर्छन् ।

नेपालमा नक्कली भारु कारोबार गर्नेहरूलाई भारतीय जासुसी संस्था रअ (रिसर्च एण्ड एनालाइसिस विङ) ले श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूलाई राम्रै जानकारी छ । हत्या गरिएका सर्लाहीको हरिवन–२ का लाल मोहम्मद पनि भारतीय नक्कली नोटको कारोबारमा रअको निगरानी थिए । श्रीवास्तव अहिले जेलमा भए पनि उनको गिरोह भने सक्रिय छ ।

मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय प्रहरीले उनीबारे चासो राख्दै हस्तान्तरण गरिदिन नेपाल प्रहरीका अधिकृतहरुलाई धेरै पटक अनुरोध गरेको थियो । मोहम्मदले आफू मारिनु एक साता अगाडि मात्र ज्यान जाने खतरा रहेकोे भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए । तर, स्थानीय प्रहरीले उनको आग्रहलाई हल्कामा लिएको थियो । पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद पछिल्लो समय गोठाटारमा गार्मेट उद्योग चलाइरहेका थिए ।

रअले भने मोहम्मद मुख्यतः नक्कली भारु कारोबारी भएको र गार्मेन्ट उद्योग उसको देखावटी कारोबार भएको भन्दै आएको थियो । गोठाटारमा लाल मोहम्मदको निगरानी गराएर बब्लु पासवानले सुटर पठाएको दुई वर्ष अघि अनुसन्धमा खुलेको थियो । प्रहरीको अनुसन्धान अनुसार बौद्ध गुम्बा नजिकैको एक होटलमा बसेर भारतीय महिला ममता तिवारी ‘मेरिन’ र मकवानपुरको बकैया गाउँपालिकाकी सुस्मिता स्याङ्तानले मोहम्मदको गतिविधि निगरानी गर्ने जिम्मेबारी पाएका थिए । ९ वर्ष लागुऔषध मुद्दामा जेल बसेर छुटेकी तिवारी पहिलेदेखि पासवानको सम्पर्कमा थिइन् ।

ममता र सुस्मितालाई डेढ महिना मोहम्मदको निगरानी गर्न लगाइएको प्रहरीको अनुसन्धानमा पता लागेका थियो । पासवानले सुपारी लिएर मोहम्मदको हत्या गर्न टोली परिचालन गरेको थियो । मोहम्मदको निगरानी गराएपछि भारतबाट पासवानले नै हतियार पठाएको अनुसन्धानबाट देखिएको थियो । मुख्य हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै त्यति बेला प्रहरीको चर्को आलोचना भएको थियो । 
 

प्रकाशित : १८ फागुन २०८१, आइतबार 23:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved