ढाका (एजेन्सी) — बंगलादेशको अन्तरिम सरकारले गत वर्षको सरकारविरोधी जनविद्रोहमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको नेतृत्वको अवामी लिग पार्टीका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ।
अन्तरिम सरकारका कानूनी सल्लाहकार आसिफ नजरुलले शनिबार राति पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले आतंकवाद विरोधी ऐन अन्तर्गत उक्त पार्टीका अनलाइन तथा अन्य सबै गतिविधिमा तत्काल प्रभावले प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
गत वर्ष जुलाई–अगस्तमा भएको व्यापक विरोध प्रदर्शनका क्रममा सयौँ विद्यार्थी र सर्वसाधारणको मृत्यु भएको थियो। यिनै घटनासँग सम्बन्धित मुद्दा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा विचाराधीन रहेका कारण प्रतिबन्ध जारी राखिने नजरुलले स्पष्ट पारे। उनका अनुसार यो निर्णय राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, आन्दोलनमा संलग्न कार्यकर्ता तथा न्यायाधिकरणका वादी–साक्षीको सुरक्षालाई मध्यनजर गर्दै गरिएको हो।
विशेष मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नजरुलले हसिनाविरोधी आन्दोलनका क्रममा भएका हत्याकाण्डमा संलग्न कुनै पनि राजनीतिक दलमाथि कानुनी कारबाही गर्न सकिने गरी कानून संशोधन गरिएको जानकारी समेत दिए। संशोधित ऐनको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने पनि उनले बताए।
पूर्वप्रधानमन्त्री हसिनालाई गत वर्ष अपदस्थ गरिएपछि उनको पार्टीका वरिष्ठ नेताहरूविरुद्ध समेत हत्या र दमनका कैयौँ मुद्दा लगाइएको छ। हसिना २०८१ को साउन २० (५ अगस्त २०२४) देखि भारतमा निर्वासनमा छिन्। प्रदर्शनकारीले उनको निवासमा आक्रमण गरेपछि उनी शरण लिन भारत पुगेकी थिइन्।संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त विद्रोहका क्रममा मात्र तीन हप्तामा करिब १ हजार ४ सय जनाले ज्यान गुमाएका थिए।
शनिबार रातिको मन्त्रिपरिषद् निर्णय विद्यार्थीहरूको नवगठित संगठन राष्ट्रिय नागरिक पार्टी (एनसीपी) र अन्य हजारौँ प्रदर्शनकारीले अवामी लिगमाथि प्रतिबन्धको मागसहित सरकारलाई दिएको अल्टिमेटमपछि आएको हो। छात्रहरूको नेतृत्वमा भएको यही विद्रोहले हसिनाको १५ वर्ष लामो शासनको अन्त्य गरेको थियो। त्यसयता अर्थशास्त्री युनुसले अन्तरिम शासनको नेतृत्व सम्हालेका छन्।
#बंगलादेश#अवामी लिग पार्टी
विश्व/प्रवास
भारत र पाकिस्तानबीच युद्धविरामको सहमति
द नेप्लिज संवाददातायुद्धविरामपछि पनि श्रीनगरमा विस्फोटका आवाज
भारत–पाकिस्तानबीच फेरि तनाव : दुवै पक्षबाट युद्धविराम घोषणापछि उल्लंघनको आरोप
द नेप्लिज संवाददाताआतंकको गढमा पराक्रम : भारतको ‘अपरेसन सिन्दूर’ निर्णायक, सयभन्दा बढी आतंककारी मारिए
द नेप्लिज संवाददाताहमासले अमेरिकी–इजरायली बन्धक रिहा गर्ने तयारी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares