४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

कोशीमा स्वास्थ्य मन्त्रालयले थाल्यो ‘नसर्ने रोगहरुको पहिचानका लागि अभियान’

द नेप्लिज संवाददाता
१ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– कोशी सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशमा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी फाल्गुनभरिका लागि उक्त अभियान सुरु गरेको हो । 

मन्त्रालय मातहतका जिल्लालगायतका अस्पताल, स्थानीय तह अन्तर्गतका स्वास्थ्य र निजी अस्पतालहरुसँगको सहकार्यमा मन्त्रालयले प्रदेशभरि नसर्ने रोगहरुको पहिचना अभियान थालेको छ । अभियान शुभारम्भ कार्यक्रम स्वास्थ्यमन्त्री भूपेन्द्र राईले स्वस्थ्य रहनका लागि खानपानका साथै जीवनशैली नै परिवर्तन गर्नुपर्ने अपरिहार्यता रहेको बताएका छन् । ‘पहाडी क्षेत्रमा पछिल्लो समय मात्रै शौच गरेपछि साबुन पानीले हातधुनु पर्ने बुझ्न थालिएको छ,’ उनले भने, ‘हामीले बजारमा तरकारी किन्न जाँदा सलक्क र चिटिक्क परेको मात्रै किन्ने गरेका छौं तर त्यो विषादी प्रयोग गरेको जानकार हुँदाहुँदै पनि सचेतवर्गले किन्ने गरेको देख्छौं । किरा लागेको र मलिन भएको अर्गयानिक, स्थानीय उत्पादनतर्फ हाम्रो ध्यान नै जाँदैन ।’ उनले सचेतवर्ग नै स्वास्थ्यकर खानपान र जीवनशैली नअपनाएको अवस्था रहेको सुनाए । त्यसैले यो अभियान सचेतवर्गबाट नै अघि बढाउनुपर्ने मन्त्री राईको भनाइ थियो । 

मन्त्रालयकी सचिव राधिका थपलियाले यो अभियानअन्तर्गत नसर्ने रोगहरुको रोगी पत्ता लगाएर अल्पकालिन र दीर्घकालिन नीति, योजना तथा कार्यक्रम बनाएर मन्त्रालयले कार्यक्रम अघि बढाउने बताइन् । स्वस्थ्य प्रदेश निर्माणका लागि प्रत्येक प्रदेशवासीले स्वास्थ्यकर खानपान र जीवनशैली अंगाल्नु आवश्यक रहेको बताइन् । 

मन्त्रालयका सुरेश मेहताले प्रदेशमा नसर्ने रोगहरुको रोगीको अवस्थाका साथै अभियानको बारेमा समेटिएको प्रस्तुति दिएका थिए । उनले यो अभियान मृगौला, मधुमेह, उच्च रक्तचाप र तौल अनुसारको उचाइलाई केन्द्रित गरेर सञ्चालन गर्ने लक्ष्य रहेको बताए । प्रदेश मातहतका अस्पताल, पालिकास्तरका स्वास्थ्य संस्था, संघीय सरकार मातहतका स्वास्थ्य संस्थाका साथै निजी स्वास्थ्य संस्थाहरुको संलग्नतामा यो एक महिने अभियान सफल बनाउने योजना रहेको मेहताले बताए । 

कार्यक्रममा कोशी अस्पताल, नोबेल, विराट शिक्षण अस्पताललगायतका स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको समयमै पहिचान र उपचारका लागि फागुन १ बाट एक महिने परीक्षण अभियान थाल्ने बुधबार निर्णय गरेको थियो । निरोधात्मक विधिबाट रोगहरू विरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्रालयले जनाएको छ । 

मन्त्री पौडेलका अनुसार नागरिकको आधारभूत स्वास्थ्य परीक्षणसँगै सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागिहालेमा बेलामै उपचारबाट नागरिकको स्वास्थ्य, नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने प्रयत्न जारी छ ।

देशमा रहेको ३० वर्ष माथि समूहका एक करोड ४० लाख ९० हजार  नागरिकलाई समेट्ने लक्ष्य स्वास्थ्य मन्त्रालयले राखेको छ । यो समूहका नागरिकको स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयले जनाएको छ । फागुनमा पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारीमा मन्त्रालय लागेको छ ।

प्रकाशित : १ फागुन २०८१, बिहीबार 16:46
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved