६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

ढाका कपडालाई कोशी प्रदेशको पहिचान बनाउन ‘ढाका महोत्सव’ हुँदै

द नेप्लिज संवाददाता
२२ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– ढाका कपडालाई कोशी प्रदेशको पहिचान बनाउन उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम विकास समितिले विराटनगरस्थित जैन भवनमा ‘ढाका महोत्सव २०८१’ आयोजना गर्ने भएको छ । समितिले चैत्र ७ गतेदेखि ९ गतेसम्म तीन दिने ढाका महोत्सव गर्न लागेको हो । 

महिला उद्यम विकास समितिकी सभापति सरु केसीले कोशी प्रदेशमा उत्पादित ढाका कपडाको आफ्नो छुट्टै मौलिकता रहेकोले यसलाई प्रदेशको पहिचान बनाउँदै ढाकाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएकी हुन् । ‘अहिले महिलाहरुले घर घरमा तानमा बुनेर जीवन गुजाराका लागि ढाका कपडाको उत्पादन गर्दै आएका छन्,’ उनले भनिन्, ‘ढाकाको व्यवसायिक उत्पादन गरी महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै यसलाई प्रदेशको पहिचान बनाउन सकिए प्रदेशको नै गौरव बढ्ने देखिन्छ ।’ 

ढाकालाई कोशी प्रदेशको पोशाक बनाउँदा यसले अलगै पहिचानसमेत स्थापित गर्न मद्दत पुग्ने महोत्सव आयोजक समितिकी संयोजक केसीको भनाइ छ । ‘ढाका कपडाको व्यवसायिक उत्पादन गर्न सकिए यसले रोजगार प्रवद्र्धनका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गर्ने संभावना छ,’ उनले भनिन्, ‘ढाका कपडाको बारेमा सहरदेखि ग्रामिण स्तरसम्म जानकार बनाउँदै यसलाई भारतको खादी कपडाले जसरी राष्ट्रिय पहिचान बोकेको छ त्यसरी नै नेपालको पनि पहिचान बनाउने लक्ष्य छ ।’ 

अत्यन्तै धेरै संभावना रहेको ढाका कपडा अहिलेसम्म ओझेल्मा पर्दै आएकोले महोत्सवमार्फत अघि ल्याउने प्रयास गरेको संयोजक केसीको भनाइ छ । ‘ढाका कपडा पहाडका जिल्लाका महिलाहरुले परम्परागत तरिकाले उत्पादन गर्दै आएको छ,’ उनले भनिन्, ‘यसलाई आधुनिक प्रविधिको उपयोग गर्दै व्यवसायिक उत्पादनमा लग्नु अपरिहार्य छ ।’ ढाका कपडा लुगा लगाउँदा पनि अति सहज हुने भएकाले यसको बजार असिमित रहेको उनको भनाइ थियो । 

महोत्सवमा ढाका उत्पादकको समस्या बुझ्ने र त्यसको समाधानसमेत खोज्ने लक्ष्य रहेको संयोजक केसीको भनाइ छ । ‘ढाकाको उत्पादक, वितरक र उपभोक्ताबीच अन्तरक्रिया, छलफल गरी समस्याको पहिचान र त्यसको समाधान महोत्सवले खोज्छ,’ उनले भनिन्, ‘ढाको परम्परागत तान बुन्ने प्रतियोगिता गराएर महिलाले ढाका उत्पादनका लागि गरेको दुःख प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था गरेका छौं । महोत्सवमा अटोमेटिक तान ल्याएर समेत प्रदर्शन गर्ने व्यवस्थामा जुटेका छौं ।’ 

तीन दिनसम्म चल्ने महोत्सवमा ढाकाको संस्कृतिदेखि आधुनिकीकरणसँग जोड्न फेशन शोको समेत आयोजना गरिएको उनले जानकारी गराइन् । महोत्सवमा कोशी प्रदेशका तीन सय जना ढाका कपडा उत्पादक ल्याउने लक्ष्य रहेको उनले बताइन् । महोत्सव हेर्न काठमाडौं लगायत देशभरिका उत्पादक, वितरक र उपभोक्ताहरुलाई समेत आमन्त्रण गरिएकोले प्रत्यक्ष रुपमा ३० हजार बढीले अवलोकन गर्ने लक्ष्य रहेको संयोजक केसीको भनाइ छ । ढाका कपडाको राजधानी तेह्रथुम रहेको छ । तेह्रथुमका महिलाहरुले घर घरमा तानमा ढाका कपडा बुन्दै आएका छन् । ढाका कपडाबाट महिलाको साडी, चोलो, टोपी, कोट, पर्स, खादा, ब्यागलगायतका सामग्री उत्पादन हुँदै आएको छ ।  

प्रकाशित : २२ फागुन २०८१, बिहीबार 21:09
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved