३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

रूसी सेनामा सामेल दुई चिनियाँ नागरिक युक्रेनको नियन्त्रणमा

द नेप्लिज संवाददाता
२६ चैत २०८१, मङ्गलबार

Advertisement

कीभ (युक्रेन) — युक्रेनी सेनाले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा रूसी सेनाको तर्फबाट युद्ध लडिरहेका दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले सार्वजनिक रूपमा यसबारे जानकारी दिएका हुन् ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार चिनियाँ नागरिकहरू परिचयपत्र, बैंक कार्ड तथा व्यक्तिगत विवरणसहित फेला परेका छन् । उनले भने, ‘हाम्रो सेनाले छ चिनियाँ लडाकुहरूसँग युद्ध गर्यो जसमा दुई जनालाई नियन्त्रणमा लिइएको हो ।’

उनका अनुसार प्रारम्भिक अनुसन्धानले रूसी सेनामा चिनियाँ नागरिकहरूको संलग्नता व्यापक हुन सक्ने देखाएको छ । ‘यी दुई मात्र होइन, यस्ता धेरै चिनियाँ नागरिकहरू कीभ कब्जा गर्न चाहने रुसी सेनामा छन् भन्ने जानकारी प्राप्त भएको छ,’ राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन् । 

युक्रेनका विदेशमन्त्री आन्द्रि सिबिहाले कीभस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई स्पष्टिकरणका लागि बोलाइएको जानकारी दिए । उनले भने, ‘रूसको आक्रामक युद्धमा चिनियाँ नागरिकहरूको संलग्नता र उनीहरूको युक्रेनी सेनाविरुद्धको सहभागिता निन्दनीय छ ।’

सिबिहाले चिनियाँ सैनिकहरूको उपस्थितिले चीनले दिएको ‘शान्तिका लागि प्रतिबद्धता’ भन्ने दाबीलाई शंकाको घेरामा पु¥याएको बताए । साथै चीनजस्तो राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यको जिम्मेवारीमाथि पनि प्रश्न उठाएको उल्लेख गरे ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडिओमा हतकडी लगाइएका एक चिनियाँ बन्दी मन्डारिन भाषामा लडाइँको विवरण दिँदै बोलिरहेका देखिन्छन् । युक्रेनी सुरक्षा निकायले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो घटनालाई युक्रेनले चीनले रूसलाई युद्धका लागि प्रत्यक्ष जनशक्ति उपलब्ध गराएको पहिलो औपचारिक आरोपको रूपमा लिएको छ । यद्यपि मस्को र बेइजिङले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसअघि प्रतिष्ठित फ्रान्सेली पत्रिका ‘ले मोन्डा’ ले चिनियाँ सामाजिक सञ्जाल ‘डोविन’ मा रूसी सेनामा भर्ती भएको दाबी गर्ने ४० वटा चिनियाँ खाताहरू पहिचान गरेको रिपोर्ट सार्वजनिक गरिसकेको छ । युक्रेनी अधिकारीहरूका अनुसार उत्तर कोरियाले पनि हजारौं सैनिक पठाएर रूसलाई सहयोग गरिरहेको छ ।

राष्ट्रपति जेलेन्स्कीले मंगलबारको पत्रकार सम्मेलनमा भने, ‘कुस्र्कको मोर्चामा उत्तर कोरियालीहरू लडे, युक्रेनी भूमिमा अहिले चिनियाँहरू पनि लडिरहेका छन् ।’ रूसले सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेको थियो । हालसम्म मस्कोले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ जसमा मुख्यतः पूर्वी क्षेत्रहरू पर्दछन् ।
 

प्रकाशित : २६ चैत २०८१, मङ्गलबार 23:30
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved