३ जेठ २०८२, शनिबार 17 May 2025, Saturday

देशभरि सबै क्षेत्रमा व्याप्त निराशालाई आउँदो बजेटले आशामा परिणत गर्छः मन्त्री भण्डारी

द नेप्लिज संवाददाता
२ जेठ २०८२, शुक्रबार

Advertisement

विराटनगर– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगलगायत देशभरि सबै क्षेत्रमा व्याप्त निराशा आउँदो वर्षको विनियोजन विधेयक अर्थात् बजेटले आशामा परिणत गर्ने बताएका छन् । मोरङ उद्योग व्यापार संघ विराटनगरमो ६८ औँ वार्षिक साधारण सभामा शुक्रबार मन्त्री भण्डारीले उद्योग व्यापार क्षेत्रमा देखिएका समस्या समाधान गर्न र देशको आर्थिक क्षेत्रलाई गतिशील बनाउन उद्योगी व्यवसायीलगायत सर्वपक्षीय छलफलले तयार भएको ४ सय बुंदे सुझावलाई सुत्रबद्ध गर्ने काम भइरहेको र त्यो आउँदो विनियोजन विधेयकमा प्रतिविम्वित हुने जानकारी गराएका हुन् । 

‘सरकारले अर्थतन्त्रलाई गतिशील बनाउन सेज निर्माणका लागि सार्वजनिक निजी साझेदारीमा अघि बढाउने नीति ल्याउने तयारी गरेका छौं,’ उनले भने, ‘मुलुकभरि रुग्न उद्योगहरुलाई अहिलेको आवश्यक्ता अनुसार प्रविधिको उपयोग गरेर कसरी उत्पादन गर्न सकिन्छ भनेर एसियाली विकास बैंकलाई साउन महिनाभित्र अध्ययन पूरा गर्ने जिम्मेवारी दिएर काम अघि बढाएका छौं ।’ कुनैबेला कूल ग्रहास्थ्य उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको उद्योग व्यवसाय क्षेत्र ५ प्रतिशतमा झरेकोबाट नै देशको अर्थतन्त्रको बारेमा अनुमान लगाउन प्रयाप्त रहेको मन्त्री भण्डारीको भनाइ थियो । 

‘उद्योग व्यवसाय क्षेत्रलाई प्रोत्साहित गर्न कानुनी झन्झटहरुलाई दु्रतगतिमा सहजीकरण गर्न अध्यादेशमार्फत पनि ऐन संशोधन गरेर सहज अवस्था निर्माण गर्ने प्रयास गरेका छौं,’ उनले भने, ‘देशमा एकअर्कालाई देखिनसहने दुई दल कांग्रेस–एमालेले सरकार निर्माण गरेर मुलुकमा वर्ष दिनदेखि राजनीतिक स्थायित्व कायम भएकै परिणाम अहिलेका सुधारहरु देखिएकोले हामी सबै आशावादी हुनु आवश्यक छ ।’ मुलुकमा आयात–निर्यातको असन्तुलन अतुलनीय रहेकोले यसको सुधारका लागि अब निजी क्षेत्रको सक्रीय भूमिका आवश्यक भएको मन्त्री भण्डारीले बताएका छन् । 

‘भारतमा सरकारले उद्योग क्षेत्रमा दिएको सुबिधा नेपाल सरकारले दिने अवस्था छैन, त्यसमा ऐन, नियम बाधक रहेकोले संशोधन गर्ने प्रक्रिया जारी छ, केही संशोधन भइसकेको छ भने केही संशोधनको प्रक्रियामा छ,’ उनले भने, ‘एकिकृत व्यापार रणनीति निकै मिहिनेतका साथ तय गर्न सफल भएको र यी रणनीति पूरा नभएसम्म अहिलेका प्रश्नहरुको उत्तर आउने सक्दैन र त्यसैले रणनीति पूरा गर्न अल्पकालिन र दीर्घकालिन योजनाका साथ आउँदो विनियोजन विधेयकले संबोधन गर्छ ।’ उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग र मुद्दा अब राष्ट्रिय आवश्यक्ता भइसकेकोले पूरा गर्ने औजारहरु ऐन, नियम, निर्देशिका, नीति बनाउनेतर्फ द्रुतगतिमा काम अघि बढिरहेकोले उद्योगी व्यवसायीलाई पनि चनाखो भएर फरक तरिकाले उद्योग व्यवसाय लगाउनेतर्फ तयार हुनु आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ छ । 

उनले अहिले संसार व्यापार प्रबद्र्धनमा लागेकोले एक किसिमले अहिले विश्व व्यापार युद्धमा रहेको बताएका छन् । भारत–पाकिस्तानको युद्ध व्यापारको नै विषयलाई लिएर रोकिएको तथ्य सबै उद्योगी व्यवसायीले बुझ्नु अपरिहार्य रहेको मन्त्री भण्डारीको भनाइ थियो । ‘त्यसैले अब उद्योगी व्यवसायीले सधैं गुनासो र माग गर्दै दोषारोपण गरेर हुँदैन,’ उनले भने, ‘उद्योगी व्यवसायीले गरेको उत्पादनको ब्राण्डिङ खोई ? संसारमा प्रतिस्पद्र्धा गर्नलाई ब्राण्डिङ चाहिएन ?, कोशी प्रदेशमा उत्पादित चिया, अलैची, कफी बोरामा भरेर कच्चा पदार्थको रुपमा भारत पुर्याउने र भारतले आफ्नो उत्पादन भएको भन्दै प्याकेजिङ र ब्राण्डिङ गरेर विश्वबजारमा लगेर १० गुणा बढी मुनाफा कमाउने गरेको सबैले बुझेका छौँ त । यसको जवाफ के छ ? त्यसैले अब एकअर्कामाथि हिलो छ्यापेर होइन, समन्वय र सहकार्य गरेर देशको अर्थतन्त्रलाई मजबुत बनाउन सबै जिम्मेवार भएर काँधमा काँध मिलाएर अघि बढ्नुको विकल्प छैन ।’ 

मन्त्री भण्डारीले परम्परागत उद्योगले मात्रै देशको अर्थतन्त्र उभो नलाग्ने भएको हुँदा सरकारले सेवाजन्य उद्योग सञ्चालन गरेर आइडीया, अनुभवमुलक उद्योग स्थापना गरेर निर्यात गर्ने कानुन ल्याइसकेको जानकारी गराएका छन् । उनले अब सूचना प्रविधिको क्षेत्रमा अनुभव र आइडीया निर्यातजन्य उद्योगमा लगानी बढाउन आह्वान गरेका हुन् । एक अंकमा ब्याज दर घटेर आइसकेको, कानुनी सुधार भएको, शान्ति, सुरक्षा कायम भएको, देशमा राजनीतिक स्थिरता सुनिश्चित भएको अवस्थामा पनि लगानीको वातावरण भएन भन्ने ? अब कस्तो वातावरण सरकारले बनाइदिनु पर्छ,’ उनले भने, ‘बैंकमा पैसा थुप्रेर बसेको अवस्थामा उद्योगी व्यवसायीको उद्योग व्यवसाय क्षेत्रमा लगानी खोई ? सरकारलाई मात्रै दोष देखाएर हुन्छ ?’

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्योग व्यवसाय क्षेत्रमा रहेको झण्झटिलो कानुनलाई एकिकृत गरेर एकै ठाउँबाट सेवा प्रवाह गर्ने व्यवस्था संघ र प्रदेशमा गर्नुको विकल्प नभएको बताएका छन् । ‘उद्योगी व्यवसायीहरुले उठाउँदै आएको सवाल देशको आवश्यक्तासँग जोडिएको विषय हो, त्यसको संबोधन प्राथमिकताक्रम निर्धारण गरेर पहिले नीतिगत तथा कानुनी सुधारबाट सुरु गर्नुको विकल्प छैन,’ उनले भने, ‘उद्योग क्षेत्रमा दिने विद्युत लगायतका सुविधा कानुन बनाएर ग्यारेण्टी गरी रोजगारी सृजना गर्दै युवा जनशक्ति विदेश पलायन रोक्नु पर्छ ।’ जनप्रतिनिधिले कानुन बनाउने प्रमुख दायित्व प्राप्त गरेकोले देशको अर्थतन्त्र गतिशील बनाउने कानुन निर्माणमा संघ र प्रदेशमा एकजुट भएर लाग्न कसले रोकेको छ ? भन्दै मन्त्री राईले प्रश्न गरेका हुन् । 

कोशी सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राणा मगरले कोशी प्रदेशमा पर्यटन र कृषिको क्षेत्रमा लगानी गर्ने प्रयाप्त सम्भावना रहेको बताएका छन् । ‘औद्योगिक बाली लगाएर उत्पादन बढाउँदै प्रशोधन, प्कोजिङ र ब्राण्डिङ्का लागि उद्योग स्थापनमा जोड दिनुको विकल्प छैन,’ उनले भने, ‘यसले पहाडी क्षेत्रमा भइरहेको पलायन रोकिनुका साथै उब्जनी योग्य डाडा, पाखामा उत्पादन वृधि हुनेछ । तर अब थोरै उत्पादन गर्ने तर महंगो मूल्यको बाली तथा वस्तु उत्पादनमा सबैको ध्यान जानु आवश्यक छ ।’ 

पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले देशमा निजी क्षेत्रको पूँजीलाई राष्ट्र निर्माणमा जोड्नुपर्ने धारणा राखेका हुन् । उनले विदेशमा सरकारले मात्रै नभई निजी क्षेत्रले समेत सार्वजनिक निजी साझेदारीमा विकास निर्माणको काम गरेर देश विकास गरेको अवस्था रहेकोले हामीले पनि निजी क्षेत्रको पून्जी उपयोग गर्नुपर्ने बारणा रखेका थिए । 

मोरङ उद्योग ब्यापार संघका अध्यक्ष अनुपम राठीले उद्योग व्यवसाय क्षेत्रमा रहेको चर्को समस्याको बारेमा मन्त्री भण्डारीलाई ध्यानाकर्षण गराएका थिए । उनले उद्योग स्थापनाका लागि सरकारले कुन किसिमको प्रोत्साहन दिने, विद्युत आपूर्ति सहज कसरी बनाउने, स्वदेशी उत्पादनलाई आन्तरिक र वाह्य रुपमा कसरी प्रतिस्पद्र्धी बनाउने, यातायात सहजताका साथै भाडा न्यूनीकरण, चर्को मूल्यमा जग्गा खरिद गरेर कसरी उद्योग स्थापना गर्ने, चोरी तस्करी कसरी रोक्ने लगायतका समस्या समाधानका लागि मन्त्री भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् ।

मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नविन रिजालले देशको अर्थतन्त्र उकास्ने नीति सरकारले स्पष्ट रुपमा ल्याउन नसके अबको ३० वर्षमा पनि देशमा केही हुन नसक्ने बताएका छन् । ‘अहिले उद्योगमा अघोषित लोडसेडिङ चलिरहेको र उद्योगहरु आधा क्षमतामा पनि उत्पादन गर्न नसकिरहेको अवस्थामा कसरी अर्थतन्त्र सबल बन्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण हुनु अपरिहार्य छ,’ उनले भने, ‘देशमा ५ सय मेगावाट विजुलीले पुग्ने अवस्था छ तर त्यो पनि नभएर उद्योग बन्द राख्नु परेको छ । छिमेकी देश भारतमा डेढ लाख मेगावाट उत्पादन भइरहेको विजुलीबाट २–३ सय मेगावाट ल्याएर विजुलीको समस्या समाधान गर्न किन नसकेको हो ?’ 

कार्यक्रममा उद्योगी तथा परी संघ कोशी अध्यक्ष पवन शारडा, उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुरानालगायतका उद्योगी व्यवसायीहरुले उद्योग, व्यवसायको क्षेत्रमा रहेको समस्याको बारेमा मन्त्री भण्डारीलाई साक्षात्कार गराएा थिए । मोरङ उद्योग व्यापार संघले पथरी उद्योग वाणिज्य संघको भवन निर्माणका लागि १ लाख १ हजार सहयोग हस्तान्तरण गरेको छ । 

प्रकाशित : २ जेठ २०८२, शुक्रबार 16:50
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved