३ जेठ २०८२, शनिबार 17 May 2025, Saturday

पाकिस्तानलाई समर्थनपछि संकटमा टर्की

द नेप्लिज संवाददाता
३ जेठ २०८२, शनिबार

Advertisement

विराटनगर– भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनावले भारत–टर्की सम्बन्धमा गम्भीर असर पुर्याएको  छ। पाकिस्तानलाई खुला समर्थन जनाएपछि टर्कीमाथि भारतले कूटनीतिक, शैक्षिक र व्यापारिक बहिस्कारका कदम चालेको छ।

एयरपोर्ट कम्पनी सेलेबीमाथि प्रतिबन्ध

भारतले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टर्कीको एयरपोर्ट व्यवस्थापन कम्पनी ’सेलेबी’लाई दिल्ली, मुम्बईजस्ता मुख्य विमानस्थलहरूबाट हटाएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्रालयले कम्पनीको सुरक्षा अनुमति रद्द गरेसँगै यसले औपचारिक रूपमा भारतमा काम गर्न नपाउने भएको बीबीसीले जनाएको छ।सेलेबीले भने आफू टर्कीको कम्पनी नभएको दाबी गर्दै भारत सरकारको निर्णयलाई अन्यायपूर्ण भनेको छ।

शैक्षिक संस्था र यात्रा बहिस्कार

भारतका प्रमुख विश्वविद्यालयहरू जवाहरलाल नेहरू विश्वविद्यालय, जामिया मिलिया इस्लामिया, मौलाना आजाद राष्ट्रिय उर्दू विश्वविद्यालयले पनि टर्कीका शैक्षिक संस्थाहरूसँगको सहकार्य स्थगित गरेका छन्। त्यस्तै भारतले आफ्ना नागरिकहरूलाई टर्की भ्रमण नगर्न खुला आह्वानसमेत गरेको छ।

प्रधानमन्त्री मोदी निकट मन्त्री राजीव चन्द्रशेखरले भने, ‘हामीले मिहिनेतले कमाएको पैसा शत्रुहरूलाई सहयोग गर्ने देशहरूमा खर्च गर्नु हुँदैन,’ भनेर टर्की घुम्न जानेलाई चेतावनी दिएका छन्।

यसको प्रभाव तुरुन्त देखिएको छ। टर्की र अजरबैजानतर्फ जाने भ्रमण बुकिङमा ६० प्रतिशतले गिरावट आएको र रद्द गर्ने दर २५० प्रतिशतले बढेको यात्रा वेबसाइट मेकमाइट्रिपले जनाएको छ।

पाकिस्तानप्रति टर्कीको समर्थनले चिसिएको सम्बन्ध

भारतले कश्मीरको पहलगाममा भएको आक्रमणको प्रतिक्रिया स्वरूप पाकिस्तानमा हवाई कारबाही गरेपछि टर्कीले पाकिस्तानलाई तत्काल समर्थन गरेको थियो। यस्तै अजरबैजानले पनि पाकिस्तानको पक्षमा उभिने घोषणा गरेको थियो।

तर पाकिस्तानले उक्त आक्रमणमा आफ्नो संलग्नता नस्वीकार गरे पनि भारतको कदम र त्यसपछि टर्कीको प्रतिक्रिया भारत सरकारका लागि अस्वीकार्य बन्यो। यही कारण भारत–टर्की सम्बन्ध तीव्र चिसिएको हो।

पर्यटन र व्यापारमा असर, तर प्रभाव सीमित

सन् २०२४ मा ३ लाख ३० हजार भारतीयले टर्की भ्रमण गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा धेरै भए पनि टर्कीमा कुल विदेशी आगन्तुकको एक प्रतिशतभन्दा कम मात्रै थियो। त्यसैले यसले टर्कीको समग्र पर्यटन आम्दानीमा गहिरो असर पार्ने सम्भावना छैन। तर अजरबैजानमा भारतीयको हिस्सा ९ प्रतिशत थियो, जसले त्यहाँ केही प्रभाव पार्न सक्छ।

भारत र टर्कीबीचको तनाव अब शुद्ध कूटनीतिक विवाद मात्र होइन, व्यापार, शिक्षा, र पर्यटनमा समेत फैलिएको बहुआयामिक टकराव हो। यदि तनाव थप चर्कियो भने यसले भारतको पश्चिम एशिया नीति र दक्षिण एशियामा शक्ति सन्तुलनमा दीर्घकालीन प्रभाव पार्न सक्छ।
 

#भारत#टर्की

प्रकाशित : ३ जेठ २०८२, शनिबार 13:39
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved