विराटनगर– पोखराको एक सुनचाँदी पसलभित्र चोरीका गरगहना झुण्ड्याइएका थिए। ग्राहकलाई आकर्षित गर्ने झिलिमिली बत्तीमुनि ती गरगहनामा एउटा चिरपरिचित अनुहारको छायाँ देखियो — सुवास विक। उसले ती गरगहना बेच्न ल्याएको प्रहरीलाई थाहा थियो। किनभने उसैको हात पोखरामा १२ स्थान र तनहुँमा ३ स्थान गरी कम्तीमा १५ वटा घरमा अँध्यारो रात चुपचाप पस्यो।
तर यो कुनै एक्लो चोरको कथा होइन। यो हो — एकै परिवारको चोरी अभियान, जसमा मामा, भान्जा, दाजुभाइ, फुपूका छोरासम्म सामेल थिए। प्रहरीकै शब्दमा — ‘परिवार चोरी पार्टी (पचोपा)’।
कसरी खुल्यो गिरोह ?
जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न ५ जनालाई सार्वजनिक गर्यो। उनीहरू हुन् —
तनहुँ शुक्लागण्डकी–१० का २६ वर्षीय सुवास विक,
सोही ठाउँका २३ वर्षीय विमल विक,
शुक्लागण्डकी–११ का २२ वर्षीय गणेश सुनार,
स्याङ्जा काल्खु घर भई पोखरा–२ बस्ने ३३ वर्षीय सुरेश विक,
र पोखरा–१० मा रहेको ’स्याङ्जा कोल्माकोट सुनचाँदी पसल’का सञ्चालक ५३ वर्षीय दुर्गाबहादुर थापा।
पक्राउ परेका सुवास र दुर्गाबहादुर नाताले मामा–भान्जा हुन्। सुवासले चोरी गरिएका गरगहना मामा दुर्गाबहादुरको पसलमै लगेर बेच्ने गर्थे। विमल विक सुवासका ठूलाबुवाका छोरा, गणेश र सुरेश फुपूका छोराहरू — यसरी परिवारकै एउटा ‘आपरेसन टिम’ बनेको थियो।
सुनचाँदी पसलमै बिक्री !
प्रहरीका अनुसार सुवासले चोरेका गरगहना रामबजारस्थित मामा दुर्गाबहादुरको सुनचाँदी पसलमा बुझाउँथे। त्यही पसलमा ती गरगहना सामान्य रूपमा बिक्री हुने गर्थे। पसलले चोरीका सामग्री ‘रिसाइकल’ गर्ने कार्यस्थलको रूप लिएको प्रहरीको दाबी छ।
के–के बरामद भयो ?
जिल्ला प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पक्राउ परेकाहरूको साथबाट १२ तोला ८ लाल सुनका औंठी, पोते, माला, मंगलसूत्र, छड्के तिलहरीलगायत गरगहना बरामद भएको छ। यस्तै २४ तोला बराबरको चाँदीका औंठी, सिक्री, बाला, पाउजु, चुरीलगायत गरगहना र चोरीमा प्रयोग हुने उपकरणहरू फेला परेका छन्।
हालसम्म ६९ लाख ३ हजार २ सय ६० रुपैयाँ बराबरको चोरीको उजुरी प्रहरीमा दर्ता भइसकेको छ। थप उजुरी आउने क्रम जारी छ।
पहिले पनि कैदी, फेरि चोरी
सुवास विक नयाँ चोर होइन। २०७४ मा कास्की जिल्ला अदालतले उनलाई चोरीकै अभियोगमा ५ वर्ष कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। उनले २०७९ जेठमा कैद भुक्तान गरेपछि छुटे। त्यसपछि ३ महिना कतार बसेर फर्किए। फर्किएपछि उसले फेरि परिवारलाई नै संलग्न गराउँदै चोरी धन्दा पुनः सुरु गर्यो।
त्यसपछि उसले मामा, भाइ, फुपूका छोरासँग मिलेर ‘फुल टिम’ बनाए — कसैले योजना बनाउने, कसैले निगरानी गर्ने, कसैले चोरी गर्ने, कसैले बेच्ने।
मोटरसाइकल पनि चोरीकै
ग २२ प ४९८९ नम्बरको मोटरसाइकल, जसलाई सुवास चोरीमा प्रयोग गर्थे, त्यो पनि चोरीकै थियो। त्यो मोटरसाइकल सुवासलाई उनका दाइ नरबहादुर विकले दिएका थिए — जो हाल हातहतियार मुद्दामा कारागारमा छन्। यस्तै, ग २१ प ६७५३ नम्बरको स्कुटरसमेत प्रहरीले बरामद गरेको छ।
‘सीसीटिभी नभएको ठाउँमा मात्र चोरी’
प्रहरी अनुसन्धानबाट थाहा भएको छ — यो गिरोहले विशेष गरी सीसीटिभी नभएका घर र क्षेत्रलाई लक्षित गर्दै चोरी गथ्र्यो। उनीहरूले प्रारम्भिक बयानमा पोखरामा ९ स्थान र तनहुँमा ३ स्थान गरी १२ वटा चोरी घटनामा संलग्न भएको स्वीकार गरेका छन्।
दुर्गाबहादुरका पुराना काण्डहरू
चोरी गरगहना बेच्ने पसलका सञ्चालक दुर्गाबहादुरमाथि यसअघि पनि २०५७ र २०६४ मा सार्वजनिक अपराध तथा २०८० मा स्याङ्जाको वालिङ प्रहरीद्वारा चोरी तथा डाँका मुद्दामा अनुसन्धान भएको प्रहरीले जनाएको छ।
अब के हुन्छ ?
पक्राउ परेकामाथि कास्की जिल्ला अदालतबाट म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले गिरोहका बाँकी सदस्यबारे अनुसन्धान जारी राखेको जनाएको छ।
नेपालमा चोरी अब व्यक्तिगत अपराध होइन, परिवारगत पेशा बन्न थालेको संकेत यो घटनाले देखाएको छ। जब मामा, भान्जा, भाइ र फुपूका छोरा चोरीमा सहकार्य गर्छन्, त्यो सामान्य अपराध होइन — त्यो सामाजिक रोग हो, जसको उपचार सजाय मात्र होइन, संरचनात्मक सुधार पनि हुनुपर्छ।
#परिवार# चोरी #पार्टी
अर्थ/वाणिज्य
देशभरि सबै क्षेत्रमा व्याप्त निराशालाई आउँदो बजेटले आशामा परिणत गर्छः मन्त्री भण्डारी
द नेप्लिज संवाददाताकोही करोडौँ पाउने, कोही उपचारकै अभावमा मर्ने
द नेप्लिज संवाददाताअमेरिकी डलर १३७ रुपैयाँ नाघ्यो
अघोषित लोडसेडिङले जनता हैरान, सिंहदरबारमै मोबाइलको बत्ती बालेर बैठक
द नेप्लिज संवाददाताराजस्व जोगाउने नाममा गम्भीर सत्ता दुरुपयोग र कानुनी बेवास्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares