विराटनगर- विश्वभरि छरिएर रहेका मारवाडी समुदायका महिलाले मनाउने होली पछिको रंगीन संस्कृति, भक्ति र परम्पराको उत्सव गनगौर आजबाट सुरु भएको छ ।
होली पर्वको उल्लासपूर्ण समापनको भोलिपल्टदेखि यो समुदायले एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व—गनगौरको धार्मिक अनुष्ठानमा जुट्छन् । विशेष गरी राजस्थानी तथा मारवाडी समुदायका महिलाहरूका लागि यो पर्व अत्यन्त भक्ति र परम्परासँग जोडिएको छ। विवाहित महिलाहरूले पतिको दीर्घायुका लागि र अविवाहित युवतीहरूले योग्य वर प्राप्तिको कामना गर्दै यो पर्व श्रद्धा पूर्वक मनाउँछन्।
गनगौर शब्द ‘गण’ (भगवान शिव) र ‘गौर’ (पार्वती) बाट बनेको हो। यो पर्व मुख्य रूपमा देवी पार्वतीको आराधनासँग सम्बन्धित छ, जसलाई सौभाग्य, समृद्धि, र वैवाहिक सुखको प्रतीक मानिन्छ।
गनगौर पर्व विशेष गरी होलीको भोलिपल्टदेखि सुरु हुन्छ र १६ दिनसम्म मनाइन्छ । यस अवधिमा महिलाहरूले कठोर व्रत बस्छन् । भगवान शिव–पार्वतीको पूजा गर्छन् । परम्परागत भजन गाएर गनगौर माता (पार्वती) लाई प्रसन्न पार्ने प्रयास गर्छन् ।
महिलाहरूले विशेष रूपमा शिव–पार्वतीका मूर्ति स्थापना गरी दैनिक रूपमा फूल, दुबो, मेहन्दी, चन्दन आदि चढाएर पूजा गर्दछन्। विवाहित महिलाहरूले पतिका राम्रो स्वास्थ्य तथा समृद्धिका लागि व्रत बस्छन् । अविवाहित किशोरीहरू भने भावी पतिको राम्रो गुणको कामना गर्दै व्रत राख्छन् ।
गनगौर पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले हातमा सुन्दर मेहन्दी लगाउँछन्। साथै विवाहित महिलाहरू सोलह श्रृंगार (मांगसिन्धूर, चूडा, बिन्दी, नथ आदि) गरेर श्रृंगारित हुन्छन्।
गनगौर पर्वको विशेष आकर्षण भनेकै मारवाडी लोकगीत र नृत्य हो । ‘गोर गोर गनगौर, पूजे से पायो पियारो’ जस्ता भजनहरू गाएर महिलाहरूले आफ्नो धार्मिक उत्साह प्रकट गर्दछन्।
गनगौर पर्वमा विशेष रूपमा ‘गुंझिया’, ‘दल-बाटी-चूरमा’, ‘फेनी’ जस्ता परिकारहरू बनाइन्छन् । पर्वको अन्तिम दिन, गनगौर देवीका प्रतिमाहरूलाई शोभायात्रा निकालेर नदी वा पोखरीमा विसर्जन गरिन्छ। यो विसर्जन यात्रा निकै भव्य र सांस्कृतिक झल्को दिने खालको हुन्छ।
नेपालमा विशेष गरी विराटनगर, वीरगञ्ज, काठमाडौं, नेपालगञ्ज जस्ता ठाउँहरूमा रहेका मारवाडी समुदायले गनगौर पर्व धुमधामका साथ मनाउँछन् । विभिन्न शहरहरूमा रहेका मारवाडी समुदायले देवी पार्वतीको भक्ति, रंगीन पोशाक, परम्परागत लोकनृत्य र उत्साहका साथ यो पर्व मनाउँछन्।
गनगौर पर्व केवल धार्मिक आस्थासँग मात्र सीमित छैन, यसले समुदायमा एकता, सौहार्दता र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने भूमिका खेल्ने गरेको व्यवसायी सञ्जय अग्रवाल बताउँछन् । ' यस पर्वका माध्यमबाट परम्परागत संस्कार, पहिचान तथा पारिवारिक मूल्यहरू नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने काम हुन्छ,' उनी भन्छन् ।
उद्योगी, राजनीतिज्ञ एवं समाजसेवी अरुण राठीका अनुसार गनगौर पर्व मारवाडी समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक एकताको एक अनुपम उदाहरण हो । विशेष गरी महिलाहरूका लागि यो पर्व श्रद्धा, समर्पण र प्रेमको प्रतीक मानिन्छ । उनी भन्छन्, 'होलीपछिको यी १६ दिन, गनगौर पर्वको रौनकले मारवाडी समुदायलाई भक्तिभाव, आनन्द र परम्पराको सुगन्धले भरिपूर्ण बनाउँछ।'
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares